मोरङ जिल्ला
ऐतिहासिक गौरव बोकेको जिल्ला / From Wikipedia, the free encyclopedia
मोरङ जिल्ला (उच्चारणⓘ; नेपालको पूर्वाञ्चल विकास क्षेत्र, कोशी प्रदेशमा पर्ने औद्योगिक जिल्ला हो। मावराङ्गबाट अपभ्रंस भएर मोरङ यसको नाम भएको मान्यता छ।[3] पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला औद्योगिक तथा जनसङ्ख्याको हिसाबले नेपालकै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ। बहुजाती बहुभाषीले सजिएको नेपालको पूर्वी तराईमा पर्ने यो जिल्ला प्राचिनकालमा बिराट राजा[4] को राजधानीको र मध्यकालमा लिम्बुवानको सबैभन्दा प्रचण्ड राज्यको रूपमा प्रख्यात थियो। मोरङका अन्तिम लिम्बु राजा बुद्धिकर्ण राय खेवाङ हुन्।[5] वि.सं २०१८ सालको प्रशासनिक विभाजन भन्दा अगाडि ३५ जिल्ला हुँदा पनि यो एउटा जिल्लामा अवस्थित थियो जुन हाल मोरङ, सुनसरी तथा झापा जिल्लाहरूमा विभाजित भएको छ। मोरङ जिल्लाको क्षेत्रफल १,८५५ वर्ग किलोमिटर छ। यो पूर्वमा झापा र पूर्वोत्तरमा यो इलामसँग जोडिएको छ भने उत्तरमा धनकुटा, पाँचथर र पश्चिममा सुनसरी तथा दक्षिणमा भारतको बिहारसँग यसको सीमाना रहेको छ। वि.सं. २०६८ मा यस जिल्लाको जनसङ्ख्या ९,६५,३७० थियो। मोरङ जिल्लाको सदरमुकाम प्रमुख औद्योगिक शहर बिराटनगर हो। अनेकौ ससाना खोलाहरूले सिङ्गारिएको यो जिल्ला धार्मिक तथा संस्कृतिक हिसाबले पनि धेरै अग्रस्थानमा रहेको छ। शैक्षिकताको आधारमा पनि यो जिल्ला महत्त्वपूर्ण जिल्ला हो।[6]
मोरङ जिल्ला | |
---|---|
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
अवस्थिति | तराई र केही पहाड अंश |
गाउँपालिका | ८ |
नगरपालिका | ९ |
प्रतिनिधिसभा निर्वाचन क्षेत्र | ६[1] |
प्रदेशसभा निर्वाचन क्षेत्र | १२[1] |
सदरमुकाम | बिराटनगर |
क्षेत्रफल | |
• जम्मा | ११८५५ किमी२ (४५७७ वर्ग माइल) |
जनसङ्ख्या (२०६८[2]) | |
• जम्मा | ९६५३७० |
• घनत्व | ८१/किमी२ (२१०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०२१ |
मुख्य भाषाहरू | नेपाली, लिम्बु, थारू, मैथिली, सतार |
प्रमुख जातिहरू | बाहुन, क्षेत्री, लिम्बु, कोचे, मेचे, सतार, थारू, कायस्थ |
वेबसाइट | www.ddcmorang.gov.np |