इलाम जिल्ला
From Wikipedia, the free encyclopedia
इलाम जिल्ला ⓘ मुलुकको पछिल्लो राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर एकमा पर्ने चौध जिल्लामध्ये इलाम एक हो । मुलुकको सुदूरपूर्वमा १७०३ वर्ग किलोमिटर क्षेत्र ओगटेको पहाडी जिल्ला इलामको उत्तरमा पाँचथर, दक्षिणमा झापा, पश्चिममा पाँचथर र मोरङ जिल्लाहरु अनि पूर्वमा भारतको पश्चिम बङ्गाल अन्तर्गत दार्जिलिङ्ग जिल्ला पर्दछ । समुद्री सतहबाट १४० मिटर उचाइको तराईदेखि उत्तरतिर चुरे पहाड, मध्यपहाड हुँदै ३६३६ मिटरको उच्च पहाडसम्म पुग्ने इलामे धर्तीमा उचाइ अनुसारकै विविध प्रकारको हावापानी पाइन्छ । त्यसैले इलाम जैविक विविधतामा पनि धेरै धनी छ । विभिन्न नगदे वालीका लागि चर्चित इलाम जिल्ला नेपालमा चियाको आदि थलो हो । इलाम बजारको पश्चिम उत्तरी भागमा रहेको चिया कमान नेपालको पहिलो संगठीत कृषि उद्योग हो । यहाँ रहेको चिया कारखाना नेपालको जेठो औद्योगिक कारखाना हो जसबाट बि. सं. १९३५ मा नै प्रशोधित चिया बजारमा ल्याइएको थियो । अलैंची, आलु, अम्लिसो, अदुवा, दूध, किबी फल र विभिन्न प्रकारका जडिबुटी उत्पादनका लागि कहलिएको इलाम हरित कृषिको जिल्ला हो । अत्यन्त आकर्षक र मनमोहक प्राकृतिक सुन्दरताले भरिपूर्ण इलाम नेपालकै उत्तम पर्यटकीय गन्तव्यमा पर्दछ । विविध जात जातिको बसोबास रहेको इलाममा प्राचिन मठ मन्दिर र गुम्बाहरु सांस्कृतिक धरोहरका रूपमा रहेका छन् । लेप्चा जातिको बसोबासो नेपालमा इलाम जिल्लामा मात्रै छ । निकै प्रजातिका चरा, विभिन्न किसिमका पुतली र रेड पाण्डाको वासस्थान रहेको इलाममा प्राकृतिक पोखरी पनि उल्लेख्य मात्रामा छन् । इलामको हाँसपोखरी क्षेत्रलाई सुनगाभाको स्वर्ग भनेर चिनिन्छ । इलामकै उत्तरी भागमा उद्गमस्थल रहेका र दक्षिणतिर बग्ने चार माई खोलाका कारण पुराना मानिस अद्यापि इलामलाई चारखोल भन्ने गर्दछन् ।
इलाम जिल्ला | |
---|---|
![]() | |
देश | नेपाल |
प्रदेश | पुर्वाञ्चल |
अवस्थिति | पहाडी |
नगरपालिका | ३ |
सदरमुकाम | इलाम |
क्षेत्रफल | |
• जम्मा | १७०३ किमी२ (६५८ वर्ग माइल) |
उन्नतांश (अधिकतम) | ३६३६ मिटर (११९२९ फिट) |
जनसङ्ख्या (२०६८[१]) | |
• जम्मा | २९०२५४ |
• घनत्व | १७०/किमी२ (४४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०२७ |
मुख्य भाषाहरू | लिम्बु, नेपाली, बान्तवा |
प्रमुख जातिहरू | राई,लिम्बु, बाहुन, क्षेत्री, भोटे,पहरी, लेप्चा,थामी |
वेबसाइट | www.ddcilam.gov.np |
नेपालको वर्तमान प्रशासनिक विभाजन अन्तर्गत पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलका चार जिल्ला मध्यको एक पहाडी जिल्ला इलाम नेपालका पचहत्तर जिल्लामध्ये सबैभन्दा पूर्वमा अवस्थित एक रमणीय जिल्ला हो। हालको इलाम जिल्ला नेपाल एकीकरण हुनु भन्दा अगाडि राई र लिम्बु जातिहरूको किराँत राज्य थियो। त्यसमा पनि प्राचिन समयमा लिम्बु जातिहरूकै बाहुल्यता भएकाले इलाम जिल्लाको नामाकरण लिम्बु भाषाबाट भएको मानिन्छ। महाभारत र शिवालिक पर्वत श्रृंखलाको पूर्व दक्षिण काखमा अवस्थित नेपालको सुदूर पूर्वी पहाडी जिल्ला इलाम बास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ। यहाँको चियाबारी, हरियाली, साना-ठूला नदी-नाला, पोखरी, मठ-मन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरता पर्यटक आकर्षणका तत्त्व हुन। प्राकृतिक बरदानस्वरूप रहेको यहाँको उर्वर भूमि एवं पौरखी कृषकहरूको अथक मेहनतले गर्दा यो जिल्ला आर्थिकरूपले धनी मानिन्छ। साँस्कृतिक, प्राकृतिक तथा आर्थिक पक्षहरूमा समृद्ध रहेको यो जिल्ला "पहाडकी रानी, नगदेबालीको खानी" जस्ता उपनामले चिनिन्छ। इलाम जिल्लालाई विभिन्न 'अ'को जिल्ला भनेर पनि चिनिन्छ। यसै क्रममा यसलाई हाल ८ 'अ'को जिल्ला भनेर चिनिन्छ। जसमा 'अ'को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दुध), अम्लिसो, आलु र अतिथि सत्कार हुन्छ। पूर्व-पश्चिम राजमार्गको चारआलीबाट मेची राजमार्गमा ७८ किलोमिटरको दुरी पार गरेपछि इलाम सदरमुकाम पुगिन्छ। इलाम जिल्लाको क्षेत्रफल १७०३ वर्ग किलोमिटर र जनसङ्ख्या २०६८ को जनगणना अनुसार २९०,२५४ जना रहेको छ। [२]


जिल्लाको नामाकरण
हालको इलाम जिल्ला नेपाल एकिकरण हुनु भन्दा अगाडि राई र लिम्बु जातिहरूको किराँत राज्य थियो। त्यसमा पनि प्राचिन समयमा लिम्बु जातिहरूकै बाहुल्यता भएकाले इलाम जिल्लाको नामाकरण लिम्बु भाषाबाट भएको मानिन्छ। लिम्बु भाषामा इलाम शब्द, दुई शब्दको संयोजन भइ भएको मानिन्छ। जसमा "इ"को शाब्दिक अर्थ "घुमाउरो" र "लाम"को शाब्दिक अर्थ "बाटो" अर्थात इलामको अर्थ "घुमाउरो बाटो" हुन जान्छ। यस अर्थलाई पुष्टि गर्ने साँच्चै नै झापा देखि इलाम आउँदा धेरै घुमाउरो बाटो तय गर्नु पर्दछ। यसरी हेर्दा यस जिल्लाको नाम इलाम राखिनु उपयुक्त नै देखिन्छ। तर इलामको पुरानो नाम खलङ्गा भएको केही प्राचीन लेखहरूबाट प्रमाणित हुन्छ तथा जुन "घुमाउरो बाटो"को कुरा गरिन्छ त्यो बाटोको निर्माण विक्रम संवत् २०१५ तिर भएको पाइन्छ सो पूर्व नै ईलाम शब्दको प्रयोग भएको पाइन्छ। यसैले यो भन्दा पनि विश्वस्त प्रमाण यो पाइन्छ कि इलामको विभिन्न ठाउँमा रहेका भट्टराई ब्राह्मणका वंशज आदि गुरु शङ्कराचार्यको समयमा भारतको केरल प्रान्तबाट आएका थिए जसलाई केरलमा भट्टतिरि भनिन्छ भट्टतिरि कै अपभ्रंश भट्टराई भएको पुष्टि भईसकेको छ तथा केरलमा ब्राह्मणहरूका घरलाई ईल्लम (यसलाई पुष्टि गर्न पुराना कागजातहरूमा लेखिएको अंग्रेजी शब्द Illam जहाँ Double LL लेखिएको छ, को वास्तविक उच्चारण पनि ईल्लम नै हुन्छ) भन्ने गरिन्छ। यही ईल्लम शब्द अपभ्रंश भएर ईलाम भएको र कालान्तरमा दीर्घ "ई" लाई लेख्न छोडियो र इलाम लेखिन थालिएको हो भन्ने एक तर्क विद्वानहरुको पाइन्छ।
इलामको नामाकरणका सम्बन्धमा केही किम्वदन्तिहरु छन् । जस्तै, प्राचिन समयमा लिम्बु जातिहरूकै वाहुल्यता रहेको इलामको नामाकरण लिम्बु भाषाबाट हुन गएको हो । लिम्बु भाषामा ‘इ’ र ‘लाम’ दुई शब्दको अर्थ क्रमशः घुमाउरो र बाटो हुन्छ । डँडैडाँडाले भरिएको इलामको एक डाँडोबाट अर्को डाँडो नजिकै देखिए पनि त्यहाँ पुग्न खोला झरेर उकालो घुम्दै पुग्नु पर्ने हुन्छ । दोस्रो, इलामको पूर्वी भेगमा लाप्चाहरूको वसोवासो रहेकाले तिनकै भाषाबाट इलाम भएको हो । रोंग भाषामा ‘इ’ भनेको पुत्का (एक प्रकारको कीट जसले मह बनाउँछ) र ‘लोम’ भनेको बासस्थान हुन्छ । यस क्षेत्रमा मनग्गे पुत्काको मह पाइने भएकाले ‘इलोम’ भन्दा भन्दै इलाम भएको हो । तेस्रो, श्रीमद्भागवतको नवौँ स्कन्धमा वर्णन भए अनुसार इला भन्ने राजाले यस क्षेत्रमा राज्य गरेकाले उनकै नामबाट इलाम नाम रहन गएको हो ।

भौगोलिक अवस्थिति
- अक्षांश उत्तरी २६.४०" देखि उत्तरी २७.८" सम्म
- देशान्तरः पूर्वी ८७.४०" देखि पूर्वी ८७.१०" सम्म
- उचाई:- समुन्द्री सतहबाट ३०० मिटर देखि ३६३७ मिटर सम्म[३]
- सिमाना:- पूर्व भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ्ग जिल्ला, पश्चिम मोरङ र पाँचथर जिल्ला, उत्तर पाँचथर जिल्ला र दक्षिण झापा जिल्ला
- क्षेत्रफल:- १७०३ वर्ग किलोमिटर
- अवस्थिति:- पहाड
- औषत लम्बाई:- पूर्व-पश्चिम ५० किलोमीटर
- अधिकतम लम्बाई:- पूर्व-पश्चिम लम्बाई ५७ किलोमीटर
- औषत चौडाई:- उत्तर-दक्षिण ३८ किलोमीटर
- अधिकतम चौडाई:- उत्तर-दक्षिण ४५.८ किलोमीटर
हावापानी
जसरी नेपालको हावापानीमा बिषमता पाइन्छ ठीक त्यसरी नै इलाम भित्रको हावापानीमा पनि बिविधता पाइन्छ। हावापानी बिषम हुनुमा यहाँको धरातलीय स्वरूप नै हो। जिल्लाको बेंसी क्षेत्रमा उष्ण मध्य पहाडी क्षेत्रमा समशीतोष्ण र उच्च पहाडी क्षेत्रमा शीतोष्ण एवं लेकाली हावापानी पाइन्छ। जिल्लाको उच्च पहाडी क्षेत्रमा तापक्रम न्यूनतम शून्य डीग्री सेल्सियस सम्म र होचो बेसी क्षेत्रमा गृष्ममा अधिकतम ३१ डीग्री सेल्सियस सम्म पुगने गरेको तथ्याङ्क पाइन्छ। प्राय जसो २००० मिटर भन्दा माथिको चुचुराहरूमा यहाँ हिउँ पर्दछ। बङ्गालको खाडीबाट निकट हुने र इलामको अधिकांश पर्वत श्रेणीहरू बंङ्गालको खाडी सँग सम्मुख ढाल बनाइ ठडिएकाले गुष्ममा अत्याधिक वर्षा हुने गर्दछ।
बासिन्दा
लाप्चे, लिम्बू, राई, तामाङ, गुरुङ, शेर्पा,थामी, पहरी, क्षत्री, ब्राह्मण, नेवार आदि सम्प्रदायका मानिसहरू यस जिल्लामा बसोबास गर्दछन। सन्तपुर (सन्दकपुर) ३०००मी., छिन्तापु, श्रीअन्तु, सिद्धिथुम्का जस्ता रमणीय पहाडहरू यस जिल्लामा रहेका छन, जहाँ सयौं प्रजातिका चराहरू तथा विश्वकै दुर्लभ मानिएका रेड पाण्डा, दुम्सी, सालक लगायतका जनावरहरू पाइन्छ।
धार्मिक तथा पर्यटकीय स्थानहरू
सेती देवी, पञ्चकन्या, सिंहवाहिनी, पाथीभरा, गजुरमुखी, लारूम्बा (माङसेबुङ) आदि धार्मिक तथा कन्याम, करफोक, मंगलबारे आदि पर्यटकीय स्थान इलामले समेटेको छ। सबै भाग पहाडी भेकमा पर्ने यस जिल्लाको प्राकृतिक सौन्दर्यका कारण विस्तारै पर्यटकीय गन्तव्यको रूपमा इलाम चिनिँदैछ। नौ कुना भएको माई पोखरी तथा टोड्के झरना हेर्न पर्यटकहरूको ओइरो लाग्ने गर्दछ। हरियाली युक्त चियाबारी भएको कन्याम डाँडामा वनभोज खानेहरूको ताँती लाग्ने गर्दछ।
व्यापार व्यवसाय
कृषि तथा पशुपालन इलामको मुख्य पेशा भएपनि व्यापारले पनि मुख्य पेशाको स्थान लिएको छ। ईलाम बजार,बिब्ल्याँटे, फिक्कल, पशुपतिनगर, नयाँबजार, मङ्गलबारे, देउराली यहाँका मुख्य व्यापारीक केन्द्रहरू हुन्। इलाम बजार जिल्ला सदरमुकाम हो, जुन राजधानीदेखि करिब ८५० कि.मी.को दूरीमा अवस्थित छ। चिया पत्ती, अलैँची, अदुवा, आलु,अम्लिसो, अकबरे खुर्सानी, ईसकुस, दूध आदि यहाँका मुख्य कृषि उपज हुन्। इलाममा हाल १० भन्दा बढी चिया प्रशोधन कारखानाहरू रहेका छन्। इलामको अर्थोडक्स चिया युरोप र अष्ट्रेलियाली बजारमा निकै लोकप्रिय छ। यसका अतिरिक्त पशुपालन खासगरी गाई पालन पेशा पनि इलाममा फष्टाएको पेशा हो। प्राचिन समयमा यहाँ बेलायती तथा स्थानीय जातका गाईबस्तुहरू पाल्ने गरिन्थ्यो भने अहिले आएर जर्सी, होलेस्टेन जातका गाई पाल्ने प्रचलन रहेको छ। पशुपालनमा बाख्रा तथा उच्च हिमाली भेकमा भेडा पनि पाल्ने गरिन्छ, जुन खासगरी मासु तथा ऊनका लागि खपत हुन्छ। हाँस, कुखुरा, सुँगुर, माछा पालनको चलन पनि बढ्दो रहेको छ। व्यापारमा कृषि उपजको अतिरिक्त लत्ता कपडा एवं दैनिक उपभोगका सामानहरू स्थानीय बजारमा विक्री वितरण हुन्छ। तेस्रो मुलुकबाट उत्पादित विद्यूतीय उपकरण, जुत्ता, फेन्सी कपडा, छाता आदि सामान किन्न सीमास्थित बजारहरू भारतीय ग्राहकहरूले भरिएका हुन्छन्। यहाँको हरियालीयुक्त वातावरण का कारण विस्तारै पर्यटन पनि उद्योगको रूपमा फस्टाउने सङ्केत देखा परेको छ।

विकास तथा पूर्वाधार
इलामलाई विकसित पहाडी जिल्लाको रूपमा लिइन्छ। यहाँका बासिन्दाहरूले खाद्य बाली भन्दा नगदे बालीको खेती धेरै गरेकाले तीव्र आर्थिक विकास गरेका हुन। विगत बीस वर्षमा यस जिल्लाले राम्रो आर्थिक उन्नति गरेको छ। जिल्ला बासीहरूले आफ्नै श्रमले गाउँ गाउँसम्म मोटरबाटो पुर्याएका छन। जिल्लाको मुख्यबाटो मेची राजमार्गले छोएका केही गाउँमा केन्द्रीय विद्युत् प्रसारण पुगेको भएता पनि अधिकांश स्थानमा मानिसहरूले पेल्ट्रिक सेट तथा सौर्य उर्जाबाट बिजुली निकालेर प्रयोग गरेका छन्।
इलामलाई चिनाउँने व्यक्तित्त्वहरू
- बालागुरु
- स्वामी प्रपन्नाचार्य
- रण बहादुर कार्की
- कोमल निरौला
- तारानाथ शर्मा
- दुर्गानाथ शर्मा
- लक्ष्मीनाथ शर्मा
- महानन्द सापकोटा
- विष्णु नविन
- यम बराल
- गोपाल कर्मचार्य
- विष्णु निष्ठुरी
- कुबेर राई
- काले दमाई
- मंगलदास सापकोटा
- जगदिश समाल
- बलराम समाल
- धिरज राई
- देबिका बन्दना
- गणेस रसिक
- टिकाराम भण्डारी
- गणेश पराजुली
- उषाकिरण अधिकारी
- चेतप्रसाद भट्टराई
- शम्भु राई
- अर्जुन न्यौपाने
- सुवासचन्द्र नेम्बाङ
- झलनाथ खनाल
- सहिद रत्नकुमार बान्तवा
इलामका राजनीतिज्ञहरू
- सहिद रत्नकुमार बान्तवा
- झलनाथ खनाल
- सुवासचन्द्र नेम्बाङ
- केशब थापा
- कुल बहादुर गुरुङ
- लोकनारायण सुवेदी
- बेनुपराज प्रसाई
- पदमलाल विश्वकर्मा
- कान्छा लाओती हर्क
- युबराज पौडेल राजकुमार
- सुर्य बाला राई
- सकुन्तला लेप्चा
- निर्मला प्रसाई
- टिकाराम सुब्बा लेप्चा
- मणिकुमार लिम्बू
- पदम प्रसाद भण्डारी
इलाम जिल्लामा पर्ने व्यापारिक केन्द्रहरू
- आइतबारे हाट लाग्ने दिन आइतबार,
- इलाम बजार हाट लाग्ने दिन आइतबार र बिहीबार
- कुटीडाँडा,
- गजुरमुखी,
- गरूवा,
- गोदक,
- गोर्खेहाट लाग्ने दिन बुधबार,
- गोलाखर्क भञ्ज्याङ,
- चुरेघाँटी,
- चुलाचुली,
- छिरूवा,
- जमुना बजार हाट लाग्ने दिन बुधबार,
- इलाम,जौबारी,
- तीनघरे हाट लाग्ने दिन आइतबार,
- तोरीबारी,
- देउराली बजार,
- धाप,
- नयाँबजार हाट लाग्ने दिन मंगलबार
- नवमी बजार, जीतपुर]],
- नवमी बजार, लुम्दे मा हाट लाग्ने दिन आइतबार,
- नेपालटार,
- पञ्चमी बजार सिद्धिथुम्का, हाट लाग्ने दिन बिहीबार,
- पशुपतिनगर हाट लाग्ने दिन सोमबार,
- पाल्टाँगे,
- पूवाबजार,
- फिक्कल हाट लाग्ने दिन बिहीबार,
- बतासे(इलाम),
- बरफल्याङ,
- बिब्ल्याँटे,
- मंगलबारे हाट लाग्ने दिन मंगलबार,
- मानेभञ्ज्याङहाट लाग्ने दिन शुक्रबार,
- रक्से,
- राँके,
- लसुने, कोल्बुङ,
- शनिश्चरे, जोगमाई हाट लाग्ने दिन शनिबार,
- शुक्रबारे नाम्सालिङ हाट लाग्ने दिन शुक्रबार,
- हर्कटे
- ठुलोबर्दु
- कटुसे बजार लक्ष्मिपुर, हाट लाग्ने दिन शनिबार
सन्दर्भ सामग्रीहरू
थप जानकारीका लागि हेर्नुहोस्
बाहिरी कडीहरू
यो पनि हेर्नुहोस
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.