काठमाडौँ
नेपालको राजधानी र सबैभन्दा ठूलो सहर / From Wikipedia, the free encyclopedia
काठमाडौँ नेपालको सङ्घीय राजधानी र नेपालको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो।[11] यो महानगर बागमती प्रदेश तथा मध्य नेपालको अग्लो पठारको रूपमा रहेको काठमाडौँ उपत्यकामा १,४०० मिटर (४,६०० फिट) को उचाइमा अवस्थित छ। यो भारतको श्रीनगर सहरपछि हिमालय पहाडी क्षेत्रमा अवस्थित दोस्रो ठुलो सहर हो र हिमालय पहाडी क्षेत्रको सबैभन्दा ठुलो महानगरीय क्षेत्र हो। वि.सं. २०६८ को जनगणना अनुसार यो महानगरको कुल जनसङ्ख्या ९,७५,४५३ रहेको छ।[12]
काठमाडौँ
कान्तिपुर, नेपाल मण्डल, येँ | |
---|---|
काठमाडौँ महानगरपालिका | |
आदर्श वाक्य(हरू): साँस्कृतिक सहर, काठमाडौँ महानगर | |
निर्देशाङ्क: २७.७१७२°N ८५.३२४०°E / 27.7172; 85.3240 | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | काठमाडौँ |
स्थापना | अज्ञात |
राजधानी | वि.सं. १८२६ चैत १०[1][2] |
सफाई अड्डा[3] | वि.सं. १९७६ पुस २ (सवाल सनद् बमोजिम भोटाहिटीमा गठन)[4][5] |
म्युनिसिपालिटी | वि.सं. २००३ फागुन २[4][6] |
नगरपालिका | वि.सं. २०१० भदौ १७[7] |
महानगरपालिका | वि.सं. २०५२ मङ्सिर २९[8] |
संस्थापक | मञ्जुश्री (स्वयम्भू पुराण अनुसार)[9] |
वडा सङ्ख्या | ३२ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | काठमाडौँ महानगरपालिका |
• नगरप्रमुख | बालेन शाह (स्वतन्त्र) |
• उपप्रमुख | सुनिता डंगोल (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• राजधानी | ४९.४५ किमी२ (१९.०९ वर्ग माइल) |
• महानगर | ८९९ किमी२ (३४७ वर्ग माइल) |
उन्नतांश | १,४०० मिटर (४६०० फिट) |
जनसङ्ख्या | |
• राजधानी | ९७५४५३ |
• क्रम | पहिलो |
• घनत्व | २००००/किमी२ (५१०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | ४४६०८८ |
क्षेत्रीय सङ्केत | ०१ |
वेबसाइट | काठमाडौँ.गव.एनपी |
प्रागऐतिहासिक इतिहास भएको यो नगर ईशा पूर्व दोस्रो शताब्दीमा स्थापना भएको र विश्वको सबैभन्दा पुरानो निरन्तर बसोबास गर्ने ठाउँहरू मध्येको एक हो।[13][14] यो उपत्यकालाई ऐतिहासिक रूपमा "नेपाल मण्डल" र मध्यकालमा "कान्तिपुर" भनिन्थ्यो।[15] यो उपत्यका प्राचीन कालदेखि नेवार मानिसहरूको मूल घरको रूपमा रहेको छ।[16] हिमालयको फेदमा रहेको सर्वदेशीय सहरी सभ्यता बोकेको यो सहर नेपाल अधिराज्यको राजधानी र नेपालका कुलीन वर्गका दरबार, महल र बगैँचाहरूद्वारा सुसज्जित छ। यो सहरमा सन् १९८५ देखि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको मुख्यालय रहेको छ।
काठमाडौँ धेरै वर्षदेखि नेपालको इतिहास, कला, संस्कृति र अर्थतन्त्रको केन्द्रको रूपमा रहँदै आएको छ।[17] यो महानगर क्षेत्रमा बहु-जातीय मानिसहरूको बसोबास रहेता पनि हिन्दु र बौद्ध धर्मावलम्बीहरू बहुसङ्ख्यक छन्।[18][19] धार्मिक र सांस्कृतिक चाडपर्वहरू काठमाडौँमा बसोबास गर्ने मानिसहरूको जीवनको एक प्रमुख हिस्सा हो।[20] यो नगरको अर्थतन्त्रको महत्वपूर्ण भाग पर्यटन हो। सन् २०१९ मा ट्रिपएडभाइजरद्वारा विश्वको शीर्ष पच्चीस पर्यटकीय गन्तव्यहरूको सूचीमा काठमाडौँ १९औँ स्थानमा थियो।[21] यस सहरलाई नेपाली हिमालयको प्रवेशद्वार मानिन्छ र विश्व सम्पदा क्षेत्रमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ, बौद्धनाथ र पशुपतिनाथ यो सहरको ऐतिहासिकता तथा सुन्दरतालाई शोभामान बनाइरहेको छ।
इतिहासका विभिन्न कालखण्डमा विभिन्न राजवंशले शासन गरेको यो नगर नेपालको एकीकरण कालदेखि नेपालको राजधनीको रूपमा रहेको छ।[22] पृथ्वीनारायण शाहको नेतृत्वमा गोर्खाली सेनाले काठमाडौँ उपत्यका विजय गरेपछि वि.सं. १८२६ चैत १० मा यो नगरलाई राजधानी बनाएका थिए। देशको राजधानी रहेकै कारण यो सहरमा राष्ट्रपति निवास, प्रधानमन्त्रीको कार्यालय (सिंहदरवार), नेपाल सरकारको केन्द्रीय सचिवालय तथा मन्त्रालयहरू, सरकारी तथा निजी टेलिभिजन स्टेसनहरू लगायत उल्लेखनीय सङ्ख्यामा सरकारी तथा निजी रेडियोहरू र समाचार संस्थाहरू रहेका छन्। नेपाली सेनाको केन्द्रीय कार्यालय जङ्गी अड्डा, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय तथा नेपाल प्रहरीको केन्द्रीय कार्यालय पनि यसै नगरमा रहेका छन्।