चन्द्र शमशेर जङ्गबहादुर राणा
From Wikipedia, the free encyclopedia
चन्द्र शमशेर (वि.सं. १९२० असार २६[१]-वि.सं. १९८६ मङ्सिर ११) राणा शासनका पाचौँ श्री ३ महाराज तथा नेपालका १३औँ प्रधानमन्त्री हुन्। यिनी आफ्ना दाजु देव शमशेरलाई सत्ताबाट च्यूत गरी धनकुटा तिर लखेटेर श्री ३ को पदमा विराजमान भएका थिए। चतुर र केही हदसम्म सुधारक देखिएका यिनी निकै लामो समयसम्म (झण्डै २८ वर्ष) नेपालको प्रधानमन्त्री रहे। उनी पहिलो विश्वयुद्ध ताका यिनी नेपालका प्रधानमन्त्री थिए। यिनले बेलायती सेनाको तर्फबाट लड्न ठुलो सङ्ख्यामा नेपाली सेना पठाएका थिए।
चन्द्र शमशेर जङ्गबहादुर राणा | |
---|---|
![]() | |
१३औँ प्रधानमन्त्री (नेपाल) प्रधानमन्त्री | |
कार्यकाल वि.सं. १९५८ साउन १३ – वि.सं. १९८६ मङ्सिर ११ | |
एकाधिपति | पृथ्वी वीर बिक्रम शाह त्रिभुवन वीर बिक्रम शाह |
पूर्वाधिकारी | देव शमशेर |
उतराधिकारी | भिम शमशेर |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. १९२० असार २५ |
मृत्यु | वि.सं. १९८६ मङ्सिर ११ |
अभिभावक |
|
जन्म
श्री ३ चन्द्रको जन्म बि.सं. १९२० असार २६ गते बुधबारका दिन भएको थियो।[१] उनी आफ्नी माता रानी नन्द कुमारी थापा (गोदार)का चौथो पुत्र हुन्। उनका मावली हजुरबुवा काजी हेमदलसिंह थापा र मामा काजी कर्णेल केशरसिंह थापा हुन्। सात महिना गर्भमा रहेर जन्मेका र पातलो ज्यान भएकाले यिनलाई श्री ३ जंगले फिस्टे भनेर बोलाउने भएकाले उनलाई फिस्टे महाराज भनेर समेत चिनिन्छ। उनी श्री ३ जङ्गबहादुर राणालाई आफ्ना आदर्श र नमुना पुरुष ठान्दथे।
बयालीस सालको पर्व
चन्द्र शमशेरले सुरुमा प्राइममिनिस्टर रणोद्दिप सिंह गोली चलाउने भने पनि रणोद्दिप सिंहको निवास नारायणहिटी दरबारमा पुगेपछि "मेरी श्रीमती गर्बवती छे, म गोली चलाउदिनँ ।" भने। त्यतिबेला मोहन शमशेर गर्भमा थिए। त्यसपछि खड्ग, भिम र डम्बर ले रणोद्दिप सिंह माथि गोली प्रहार गरेका थिए।
कमाण्डर इन चिफ
१९५७ फागुनमा वीर शमशेरको मृत्यु भएपछि देवशमशेर प्राइममिनिस्टर तथा श्री ३ महाराज बने भने जनरल चन्द्र शमशेर कमाण्डर इन चिफ बने।
देव शमशेर विरुद्धको 'कु'

देव शमशेरका सुधारवादी कार्यले गर्दा नेपाल अधिराज्यका सर्वसाधारण नागरिकमा चेतनाको जागरण भइ आफ्नो तथा आफ्ना भाइभतिजाहरूको स्वार्थमा आघात पर्ने अनुभव गरि यिनका उत्तराधिकारी कमान्डर इन चिफ जनरल चन्द्र शमशेर यिनले आरम्भ गराएका यस्ता सुधार कार्यदेखि सतर्क भए। यिनका यस्ता कदम शमशेर परिवारका राणाका निम्ति रूचिकार थिएन। नेपाल अधिराज्यको राज्य प्रशासन श्री ३ महाराज देव शमशेरको नियन्त्रणमा रहिरहेमा अधिराज्यका सर्वसाधारण नागरिकमा चेतनाको जागरण भई आफ्नो तथा आफ्ना भाइ भतिजाहारूका निम्ति ठूलो खतरा आइलाग्ने निश्चय गरि चन्द्र शमशेरले पहिले "खड्ग शमशेर पर्व"मा जसले आफूलाई स्नेहपूर्वक जोगाइदिएका थिए, सरल र शान्त स्वभावका तिनै दाजु प्राइम मिनिस्टर देव शमशेर राणालाई पदच्युत गराई स्वयम् नै प्राइम मिनिस्टर तथा श्री ३ महाराज पनि बन्ने योजनाका तानाबाना बुन्न अग्रसर भए।[२]
१९५८ मा अनुदार राणाहरूले उदारवादी श्री ३ देव शमशेरलाई 'कु' गरि पदच्युत गरे। यसको नेतृत्व प्रधान सेनापति चन्द्र शमशेरले गरेका थिए।
प्राइम मिनिस्टर तथा श्री ३ महाराज


सिंहदरबार निर्माण
बेलायत भ्रमण
उनी प्रधानमन्त्री भएपछि बेलायतले तिब्बत माथि हमला गर्न योजना बनाए। चन्द्र शमशेरले त्यो कार्यमा पूर्ण सहयोग गरे। हुन त थापाथली सन्धि अनुसार नेपालले त्यस्तो गर्न हुँदैनथ्यो। चन्द्र शमशेरको त्यो कदम पछि उनले बेलायत भ्रमण गर्ने मौका पाए। चन्द्रशमशेरको बेलायत भ्रमण सन् १९०८ मा भएको थियो।
१९६४ चैत २५ मा काठमाडौबाट निस्केका १९६५ बैशाख २७ गते शुक्रबार बेलायत पुगे। करिव १० हप्ताको बेलायत भ्रमण सकेर १९६५ साउन ७ मा बेलायत छोडे। त्यस भ्रमणमा आफ्ना भाइ भतिजा छोराहरूमा जुद्ध शम्शेर, रुद्र शम्शेर, मोहन शम्शेर, बबर शम्शेर, केशर शम्शेर, सिंह शम्शेर, हिरण्यशम्शेर, ज्वाँइ जयपृथ्वी बहादुर सिंह, मामा खलकका डिल्लीशम्शेर थापा, अन्य दलबहादुर बस्न्यात, विष्णुकुमार पाण्डे, चन्द्रजङ्ग थापा, निजी सचिव मरिचमान सिंह, निजी सचिवका सहायक शमशेरमान सिंह, गङ्गाबहादुर बस्न्यात, नरनारायण शाही, शुभगोविन्द प्रसाद, बैद्यमा रत्नदास बैद्य, दरवार हाइस्कुलका हेडमास्टर वटुकृष्ण मैत्रय, पंडित काशिनाथ तथा अन्य १९ जना नोकर चाकर लगेका थिए। बेलायतीहरूको तर्फबाट नेपालका लागि बेलायती रेसिडेन्ट (राजदुत) जे मानर्स स्मिथ, चौथो गोर्खा राइफलका माक्लोइड विलि, पाचौ गोरखा राइफलका मेजर अमरसिंह थापा तथा चौथो र पाँचौ राइफलका अन्य दुई अर्दली पनि गएका थिए।
भ्रमणका क्रममा अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए। उक्त विश्वविद्यालयले चन्द्रशमशेरलाई नागरिक कानुनको मानार्थ विद्यावारिधि उपाधिबाट विभूषित गर्यो।[३]
ए बि सी क्लास राणा
मुख्य लेख : ए बि सी क्लास राणा
पहिलो विश्व युद्ध
पहिलो विश्वयुद्ध ताका यिनी नेपालका प्रधानमन्त्री थिए। पहिलो विश्व युद्धमा चन्द्र शमशेरले अङ्ग्रेज ब्रिटिसको बेलायतको पक्ष लिए । यिनले ब्रिटिस फौजको तर्फबाट लड्न ठुलो सङ्ख्यामा नेपाली सेना पठाएका थिए। त्यस वापत नेपाल बेलायत १९२३ को सन्धि भयो ।
वि.सं. १९१४ मा श्री ३ जङ्ग बहदुरले भारतीय विद्रोह दमन गरे बापत बि.सं. १९१७ मा नयाँ मुलुक फिर्ता पाए। पहिलो विश्वयुद्धमा पनि बाँकी तराई र गुमेको नेपाल फिर्ता पाउने आशा थियो तर चन्द्र शमशेरले वार्षिक दश लाख नगद आफ्नो खल्तीमा हाल्न ललचाएका हुँदा भारतका गभर्नर जनरलको सिफारिस कार्बाही हुन पाएन।[४]
नेपाल बेलायत १९२३ को सन्धि
मुख्य लेख : नेपाल बेलायत १९२३ को सन्धि
नेपाल बेलायत १९२३ को सन्धिलाई महाराज चन्द्र शमशेरको २५ वर्षे कुटनैतिकको यात्राको एक मुख्य उपलब्धि मानिन्छ। यो सन्धिबाट बेलायतले नेपाललाई पहिलो पटक सार्वभौमसत्ता सम्पन्न मुलुकको रूपमा मान्यता दिएको थियो र नेपालले आफ्नो स्वार्थ अनुरुप विदेश नीति अङ्गिकार गर्न पाउन स्वतन्त्रता पाएको थियो।[५]
कार्यहरू

- खड्ग निशान अड्डा
- त्रिचन्द्र कलेज
- त्रिचन्द्र सैनिक अस्पतालको स्थापना
- टोखा क्षयरोग अस्पतालको निर्माण
- सिंहदरबार बैद्यखाना
- अड्डामा जो हाकिम भयो उसैका नातेदार, चाकडीदारहरू उक्त अड्डामा भर्ना हुन्थे। सो प्रवृत्तिको अन्त्य गर्न चन्द्र शमशेरले सरकारी अड्डामा नियुक्त हुन चाहनेले परीक्षामा उतीर्ण हुनुपर्ने नियम बनाई कर्मचारी तयार पार्ने स्रेस्ता पाठशाला खोले। स्रेस्ता पाठशालाको पाठ्यक्रम समयानुसार अलिअलि फरक पर्दै पनि गयो।[६]
- फर्पिङ जलविद्युत् परियोजनाको निर्माण
- जनगणनाको सुरुवात
- गोरखा भाषा प्रकानी समितिको निर्माण ( हालको साझा प्रकाशन )
- चन्द्र नहर
- चुरिया सुरुङ
- वि.सं. १९८३ मा नेपालमा पहिलो रञ्जुमार्ग रोपवे धुर्सिङ देखि मातातीर्थ सम्म चन्द्रकै शासनकालमा सम्पन्न भएको थियो।
- वि.सं. १९८४ मा नेपालमा पहिलो रेलवे बिछ्याई रेलसेवा सञ्चालन गर्ने उद्देश्यले नेपाल गभर्मेन्ट रेलवे स्थापना गराए। त्यो रेलले तराईको यातायातमा आंशिक मद्दत पुर्याएको थियो।[७]
सन् १९२७ मा नेपाल गभरमेन्ट रेलवे।
सति प्रथा अन्त्य
लोग्ने मरेपछि चिता सँगै श्रीमतीले पनि प्राण त्याग गर्नुपर्ने प्रथालाई सती प्रथा भनिन्छ। यो प्रथा प्राचीन कालदेखि नै नेपाल र भारतमा प्रचलित थियो। यो प्रथा रोक्ने प्रयासहरूमा राजा मानदेवकी आमा सती नजानु तथा मुलुकी ऐन १९१० को सुधार‚ वीर शमशेरको सरकारको अनुमतीमा मात्र सती जान पाइने नियमलाई लिन सकिन्छ भने सती प्रथाको विधिवत अन्त्य वि.सं. १९७७ अषाढ (सन् १९२० जुलाई २८) मा चन्द्रशमसेर द्वारा भयो।[८]
वि.सं. १९१० को मुलुकी ऐनको सुधारः-
१६ वर्ष मुनिकी बिधवा‚ दासी एवं नोकर महिला र १२ वर्ष भन्दा कम उमेरका छोराछोरी हुने महिलालाई सती जानु नपर्ने। सदियौं देखि नारी माथि लादिएको सती प्रथाको अन्त्य १९७७ मा चन्द्र सम्सेर राणाले गरे। चन्द्र शम्शेरले असार २५, १९७७ (८ जुलाई १९२०) मा यो क्रुर अमानविय कु-प्रथाको औपचारिक रूपमा अन्त्य गरेका थिए। श्री ५ त्रिभुवन वीर विक्रम शाहदेवको राज्यकालमा श्री चन्द्र शम्शेरले वि.सं. १९७७ आषाढ २५ गतेदेखि लागु हुने गरि सती प्रथा बन्द गरिदिएपछि कानूनी रुपमै यो प्रथा नेपालमा बन्द भयो।
दास प्रथा अन्त्य
जङ्ग बहादुरले वि.सं. १९१० को मुलुकी ऐन मार्फत १६ वर्ष भन्दा कम उमेरकालाई दास दासी राख्न नपाउने‚ बिक्री गर्न नपाउने तथा नयाँ ठाउँमा दास गएमा पुरानो ठाउँमा फिर्ता हुन बाध्य बनाउन नपाउने जस्ता सुधार गरे भने, कानुनी रूपमा वि.सं.१९८२ बैसाख १ गते चन्द्रशमशेरले दासप्रथाको उन्मुलन (घोषणा १९८१ मङ्सिर २४ गते) गरे।
दास प्रथा उन्मुलन गर्दाः
कुल जनसङ्ख्या ५५‚७३‚७८८।
जम्मा दास दासीको सङ्ख्या : ५९‚५७३।
क्षतिपुर्ती तिरेर मुक्त गरिएका दासदासीहरू: ५१‚७८३।
मालिकको सङ्ख्या: १५‚७१९।
मालिकलाई दिएको क्षतिपुर्ती : ३६ लाख ७० हजार।
शैक्षिक योगदान

चन्द्र शमशेरको समयको मध्य काटिरहँदाको अवस्थामा विश्व, खासगरी भारतीय उपमहाद्विपको राजनीतिक वातावरणमा उल्लेख्य भिन्नता आउन थाल्यो। पहिलो विश्वयुद्धमा डेढ लाख बढी नेपाली लाहुरेहरू विश्वका विभिन्न भागमा पुगेर फर्केपछि तिनले गाउँ गाउँमा आफूले ठाउँ ठाउँमा देखे-भोगेको ज्ञानगुन र चमत्कारका कुरा सुनाउन थाले। भारतमा पनि बेलायती विरुद्धको स्वतन्त्रता सङ्ग्राम उल्लेख्य मात्रामा बढेर गयो। यो अवस्थामा नेपाली विद्यार्थीलाई पढाइका लागि भारत पठाउँदा त्यहाँको चेतवाट दीक्षित भएका युवा विद्यार्थीले नेपालको आफ्नो जहानिया शासनमा घातक प्रभाव पार्न सक्ने भएपछि कूटिल प्रधानमन्त्री चन्द्र शमशेरले नेपालमै उच्च शिक्षा हासिल गर्न सकिने व्यवस्था बाँध्ने निश्चित गरे। परिणामतः त्रिचन्द्र क्याम्पसको स्थापना भयो।
पञ्चाङ्ग सुधार
श्री ३ चन्द्रको शासन कालमा वि.स. १९६१ देखि तिथि लेख्ने पुरानो चलन हटाई गते लेख्ने चलन चलेको हो । त्यसै वर्षको फागुन संक्रान्ति कुनै पात्रोमा अगिल्लो दिन र कुनै पात्रोमा पछिल्लो दिन छापिएकोले अड्डाखानामा काम गर्दा असजिलो पर्न गएकोले श्री ३ चन्द्रले पण्डितको सभा गराई अवदेखि यस्तो नहोस् भनी पं. हेमराजशर्मालाई पञ्चाङ्ग संसोधन गराउने अभिभारा सुम्पियो । यसै बर्षदेखि पञ्चाङ्ग संसोधनको काम थालियो। हेमराज अध्यक्ष भए पनि पञ्चाङ्ग सम्बन्धी सम्पूर्ण गणित हर्ने काम भने पंं. भुवननाथ पाण्डेको हातबाट हुन्थ्यो ।[९]
ग्याल्पो काण्ड
मुख्य लेख :ग्याल्पो काण्ड
प्रधानमन्त्री चन्द्रशमशेर को पालामा ग्याल्पो काण्डले पुन: नेपाल भोट युद्ध हुन लागेको थियो तर त्यसको तयारी हुदाहुँदै श्री ३ चन्द्रको स्वर्गवास भयो। पछि अङ्ग्रेजको मध्यस्तता पछि सो युद्धको सम्भावना टर्यो।
चन्द्रकालमा प्रचलित भनाइहरू
- भित्ताको पनि कान हुन्छन्।
- चन्द्रे हाँस्यो त नास्यो

सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.