उपनिषद्
From Wikipedia, the free encyclopedia
उप–नी–षद् को अर्थ हुन्छ गुरुको चरण नजिकआसनमा बस्नु। उपनिषदहरूलाई श्रुति पनि भनिन्छ किनभने उपनिषदहरूलाई वेदको ज्ञानकाण्ड मानिन्छ। वेदको अन्त मानिएकोले वेदान्त पनि भनिन्छ। जङ्गलको एकान्तमा शिष्यको जिज्ञासा मेटाउन रचना गरिएका ग्रन्थ भएकोले यिनीहरूलाई आरण्यक पनि भनिन्छ। उपनिषदमा जीवनको सबभन्दा गूढ विषय छलफल गरिएकोले उपनिषदलाई रहस्यविद्या पनि भनिन्छ। उपनिषदहरू हिन्दु र बौद्ध अध्यात्म दर्शनका आधार भएकोले अध्यात्म विद्या पनि भनिन्छ।[1][2]
सुफि दर्शनमा उपनिषद्को निकै प्रभाव परेको हुनाले यसलाई हिन्दु तथा इस्लाम धर्मको सेतुको रूपमा पनि मान्न सकिन्छ।
सबैभन्दा लामो बृहदारण्यक उपनिषद्, सबैभन्दा पुरानो छान्दोग्य उपनिषद्, र सबैभन्दा सानो माण्डूक्य उपनिषद् हो। उपनिषद् संस्कृत भाषामा लेखिएको छ र यसमा प्रयोग भएको भाषालाई पछिल्लो वैदिक सँस्कृत भन्ने गरिन्छ।
पुराना उपनिषद्हरू मध्ये ऐतरेय र कौषीतकि ऋग्वेद सँग सम्बन्धित छन् भने केन तथा छान्दोग्य उपनिषद् सामवेद सँग सम्बन्धित छन्। त्यस्तै ईश, तैत्तिरीय र बृहदारण्यक उपनिषद् यजुर्वेद सँग अनि प्रश्न र मुण्डक अथर्ववेद सँग सम्बन्धित छन्। सबैभन्दा पुराना उपनिषद्हरू पद्यको रूपमा लेखिएका छन्।