लिम्बू जाति
From Wikipedia, the free encyclopedia
लिम्बू (लिम्बू भाषा: ᤕᤠᤰᤌᤢᤱ) नेपालमा बसोबास गर्ने एक मुलवासी किरात समुदाय भित्र पर्ने जाति हो। याक्थुङ र सुब्बा पनि भिनिने लिम्बूहरू पुरानो याक्थुङ लाजे फेदाप (हाल:लिम्बुवान /पल्लो किरात) राज्यको वा पूर्वी नेपालका पहाडी क्षेत्र र अझ काेसी पूर्व र मेची वारी क्षेत्रका रैथाने हुन। शाब्दिक अर्थमा लिम्बूको नजीकको अर्थ 'धनुर्धारी' हुन आउछ। उनीहरूलाई लिम्बू भाषामा याक्थुङ भनिन्छ । उत्तरमा तिब्बत र दक्षिणमा भारत विचको नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ लगायत सिक्किम, पश्चिम बङ्गाल, कालिम्पोङ देखि भुटानसम्म लिम्हबूरूको थाकथलो हो[1][2]। मौलिक लिम्बू भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बूहरू नेपालमा चार लाख सतासी हजारको हाराहारीमा छन् [स्रोत नखुलेको]। २०४८ सालको जनगणना अनुसार कुल जनसङ्ख्याको १.६% लिम्बू जाति ३ जिल्लामा बहुल संख्यामा रहेका छन्। यो जाति भारत, बेलायत, हङकङ, ब्रुनाई, सिंगापुर लगायत विभिन्न ठाउँहरूमा पनि छरिएर स्थायी बसोवास गरिरहेका छन्।
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
---|---|
भारत | 100,000 [स्रोत नखुलेको] |
सिक्किम | 46,100[स्रोत नखुलेको] |
भाषाहरू | |
लिम्बू भाषा (याक्थुम्पान), नेपाली | |
धर्महरू | |
प्रमुख किरात धर्म, मुन्दुम |
लिम्बूहरूको धार्मिक ग्रन्थ मुन्धुम हो भने फेदाङमा, साम्बा , येबा र सेवासाबाहरू पुजारी हुन्। मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीका माध्यमहरू हुन्। त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा तथा सेवासाबाहरू हुने गर्दछन्। लिपि "सिरिजङ्गा लिपि" हो। सिरिजङ्गा थेवेले यो लिपिको आविष्कार गरेका हुन। च्याब्रुङ नाच, धान नाच, हाक्पारे गाउँने लिम्बूको मौलिक परम्परा हो।