![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b6/Bhimbetka_rock_paintng1.jpg/640px-Bhimbetka_rock_paintng1.jpg&w=640&q=50)
ढुङ्गे युग
From Wikipedia, the free encyclopedia
विश्व इतिहासमा ढुङ्गे युग वा पाषाण युगले मानव र मानव समाजको विकासको एउटा चरणलाई बुझाउँछ। यस युगका मानिसहरूले औजार बनाउनका लागि मुख्य सामग्री ढुङ्गा थियो। उदाहरणका लागि ढुङ्गाको सहायतले शिकार गर्न, ढुङ्गाको गुफाहरूमा शरण लिन, ढुङ्गाबाट आगो निकाल्न इत्यादि। यसको युयका तीन चरणहरू; पुरापाषाण काल, मध्यपाषाण काल र नवपाषाण काल हन्। ४ लाख वर्षसम्म चलेको यो युग ईसा पूर्व ४,००० देखि ईसा पूर्व २,००० सम्म, धातुद्वारा बनाइने औजारहरूको आगमनसँगै समाप्त भएको थियो।[1] तथापि, ढुङ्गे औजारहरू पाषाण युगको एक मात्र पहिचान गर्ने विशेषता भने होइन। दुर्लभ भएतापनि काठ तथा जीवजन्तूहरूको हाडबाट बनेका औजारहरू प्रयोग गरिएका उदाहरणहरू पनि भेटिएका छन्।यस समयमा सुनबाहेक अन्य कुनै पनि धातुको प्रयोग अज्ञात थियो।[2] पाषाण युग प्रविधिको व्यापक प्रयोग र पूर्वी अफ्रिकाको सभाना क्षेत्रबाट बाँकी विश्वमा मानिसहरूमाझ सुरु भएको थियो। पाषाण युगको अन्त्य कृषिमा नवीनता, जीवजन्तू पाल्ने तथा तामाको खनिज पग्लेर तामा निकाल्ने कार्यसँगसँगै भएको थियो। यस युगमा लेखनको आविष्कार हुन नसक्नु र मानव समाजको लिखित इतिहास संरक्षित नहुनुले गर्दा यस अवधिलाई प्रागैतिहासिक काल पनि भनिन्छ।[3]
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b6/Bhimbetka_rock_paintng1.jpg/640px-Bhimbetka_rock_paintng1.jpg)
ढुङ्गे युगमा बनाइएका कलाकृतिहरू र पत्ता लगाइएका सामग्रीहरूमा आधुनिक मानवहरूले प्रयोग गर्ने उपकरण, होमो जातिका पूर्ववर्ती प्रजातिहरूद्वारा र सम्भवतः पहिलेका आंशिक समकालीन जेनेरा अस्ट्रेलोपिथेकस र पारान्थ्रोपसद्वारा प्रयोग गरिएको उपकरणहरू समावेश छन्। यस अवधिमा पनि प्रयोग गरिएका हाडका औजारहरू पत्ता लागेता पनि पुरातात्विक अभिलेखमा यी उपकरणहरू विरलै संरक्षित छन्। ढुङ्गे युगमा प्रयोगमा रहेका ढुङ्गे औजारका प्रकारहरूले यस युगलाई थप विभाजित गरिएको छ।
ढुङ्गे युग मानव प्राविधिक प्रागितिहासको समयरेखालाई कार्यात्मक अवधिहरूमा विभाजन गर्न पुरातत्वमा प्रायः प्रयोग गरिने त्रीयुग प्रणालीको पहिलो अवधि हो। त्यसपछिका दुई क्रमशः काँस्य युग र लौह युग हुन्। यस युगलाई सामान्यतया तीन फरकफरक अवधिहरूमा विभाजित गरिएको छ जसमध्ये सबैभन्दा सुरुको आदिम पुरापाषाण युग, सूक्ष्म उपकरणहरूको साथ एक सङ्क्रमणकालीन अवधि; मेसोलिथिक युग र अन्तिम चरणलाई नियोलिथिक युगको रूपमा चिनिन्छ। कृषिकर्मले व्यापकता पाएसँगै नवपाषाण युगका मानिसहरू शिकार-सङ्कलनकर्ता समाजहरूबाट टाढा, सहर र गाउँहरूमा बसोबास गर्दै स्थिर जीवनशैलीमा परिवर्तन गर्ने पहिलो व्यक्ति थिए। प्रागितिहास कालक्रममा नवपाषाण युग सामान्यतया कांस्य युग भन्दा पहिलेको ताम्रपाषाण युगसँग सामेल हुन्छ।