From Wikipedia, the free encyclopedia
कास्की जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलमा अवस्थित पर्यटकीय जिल्ला हो। यो जिल्ला अन्नपूर्ण हिम शृङ्खला तथा माछापुच्छ्रे हिमालको काखमा रहेको छ। कास्की जिल्लाको सदरमुकाम पोखरा हो। राजधानी काठमाडौँ देखि करिब २०० किलोमिटर पश्चिममा रहेको यो जिल्ला प्राकृतिक रूपले अत्यन्त मनोरम स्थान हो।[3]
कास्की | |
---|---|
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | कास्की जिल्ला |
सदरमुकाम | पोखरा |
क्षेत्रफल | |
• जम्मा | २,०१७ किमी२ (७७९ वर्ग माइल) |
उच्चतम उचाई | ८,०९१ मिटर (२६५४५ फिट) |
न्यूनतम उचाई | ४५० मिटर (१४८० फिट) |
जनसङ्ख्या | |
• जम्मा | ४९२,०९८ |
• घनत्व | २४४/किमी२ (६३०/वर्ग माइल) |
जातीयता | |
• मुख्य जातीयता | ब्राह्मण, क्षेत्री, मगर, गुरुङ्ग, नेवार,कामी |
भाषा | |
• मुख्य भाषाहरू | नेपाली, मगर, गुरुङ भाषा |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६१ |
गाउँपालिका संख्या | ४ |
महानगरपालिका | पोखरा |
वेबसाइट | www |
यस जिल्लाको सम्पूर्ण भू–भागलाई सप्तगण्डकी प्रवाह प्रणाली अन्तर्गत सेती गण्डकी,मोदी, मादी र तिनका सहायक नदी र खोलाले प्रवाहित गरेका छन् । यो जिल्ला मध्य–पहाडी पर्यावरणीय प्रदेशमा परेता पनि जिल्ला भित्रको थुप्रै भू–भाग उच्च हिमाली क्षेत्रमा पाईन्छ । यो जिल्लाको आकार वृत्ताकार छ भने फैलाबट करिब ७० किलोमिटरको हवाइ दूरीमा पूर्व–पश्चिम एवं उत्तर–दक्षिण फैलिएको छ। समुद्र सतहदेखि मादी नदीको किनारमा करिब ४५० मिटर, सेती नदीको कोत्रे स्थित गल्छी करिब ५५० मिटर र मोदी नदीको विरेठाँटी नजिकलगभग ९५० मिटर उचाइमा यस जिल्लाको होंचो भाग अवस्थित छ। उत्तरको अग्लो अन्नपूर्ण शृङ्खला संधै हिउँले ढाकी रहन्छ र ११ वटा विभिन्न हिमशिखरहरू ७,००० मिटरभन्दा बढी उचाइका छन। यीमध्ये अन्नपूर्ण प्रथम (८,०९१) मिटर यसै जिल्लाको उत्तर–पश्चिम सिमानामा पर्छ भने अति मनमोहक कुमारी चुचुरा भर्जिन पिक माछापुच्छ्रे हिमाल(६,९९३ मिटर) जिल्लाको उत्तरी मध्य–भागमा पर्दछ।[3]
यस जिल्लाले देशको कुल भू–भागको २०१७ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ। स्याङ्गजा, तनहुँ, लमजुङ्ग, मनाङ्ग, म्याग्दी र पर्वत गरी ६ वटा जिल्लासँग सिमाना जोडिएको यस जिल्लाको भौगोलिक अवस्थिति २८० ०६ उत्तरी अक्षांशदेखि २८० ३६ उत्तरी अक्षांशसम्म र ८३० ४० पूर्व देशान्तरदेखि ८४० १२ पूर्वी देशान्तरसम्म फैलिएको छ[4]। कास्की क्षेत्रफल र जनसङ्ख्याको हिसाबले ७५ जिल्लाहरूमध्ये क्रमशः सत्ताइसऔ र तेइसऔ स्थानमा पर्छ|[3] उत्तर तर्फको मनमोहक हिमाच्छादित शृङ्खला, सेती नदीको गहिरो गल्छी, उपत्यका र ताल–तलैया यस जिल्लाका आभूषण हुन्। माछापु्च्छ्रे र फेवातालको प्रतिविम्ब जिल्ला पर्यटन व्यवसायका रथी हुन्।
यस जिल्लामा एक महानगरपालिका, र ३ गाउँपालिका छन। पोखरा गण्डकी प्रदेश र यस जिल्लाको सदरमुकाम हो एबम यो महानगर पालिकाको केन्द्र पनि हो। पर्यटन, वाणिज्य, शिक्षा र स्वास्थ्यसम्बन्धी सेवा र सुविधाले सम्पन्न पोखरा शहर नेपाल अधिराज्यकै एक सुन्दर र सफा नगरको रूपमा पहिचान राख्दछ। प्रतिनिधि सभाका लागि यस जिल्लामा तीन निर्वाचन क्षेत्र छन।)[3][5]
राष्ट्रिय जनगणना २०७८ अनुसार कास्की जिल्लाको कूल जनसङ्ख्या ६,००,०५१ जना मध्ये पुरुष २,९२,७९१ जना र महिला ३,०७,२६० रहेका छन । [1][2]
कास्की जिल्लाको नामाकरणका सम्वन्धमा कश्यप ऋषिको तपोभूमी रहेको यस ठाउँलाई "काश्यपकुट्ट" शब्द दिइएको र तहाँ "कास्यप सिहंता" नामक अमुल्य आर्युवैदिक ग्रन्थ रचना गरेकामा त्यही शब्द खिईदै अपभ्रंस भई कास्यप बाट कास्की बनेको किंवदन्ति एकातर्फ छ भने अर्कोतर्फ प्राकृत खनिज स्रोतको भण्डारलाई "काष" र त्यसबाट "काषकी" हुदै कास्की रहन गएको किंवदन्ति छ। अर्को तर्फ सोह्रौँ शताब्दिमा राजा कुलमण्डन शाहबाट शासित यो राज्य वि. सं. १८४२ जेष्ठमा राजा सिद्ध नारायण शाहको राज्यकालमा नेपाल एकीकरणमा गाभिएको पाइन्छ। जिल्लाको मध्यभागमा रहेको कास्कीडाँडा र कास्कीकोटबाट नै कास्की जिल्लाको नाम रहन गएको कुरा नेपाल एकीकरणको सन्दर्भमा निकै प्रचलित शब्द "त्रिशक्ति" मध्येको एउटा राज्य कास्की भएबाट यो भाग ऐतिहासिक भएको पुष्ट्याईं मिल्दछ। भाषाविदहरूका आधारमा गुरुङ्ग तमु भाषामा "कास" भन्नाले कछाड र "शिव" भन्नाले लगाउने अर्थात "कास शिव" कछाड लगाउनेहरू वस्ने ठाउँ शव्दबाट खिइँदै कास्कीको नामाकरण हुन गएको कुरा गुरुङ्ग भाषाविदहरूको भनाई रहेको पाइन्छ। तर ठोस आधार र तर्कहरूको आधारमा प्रमाणिकरण भने हुन सकेको छैन।[3]
कास्की जिल्लाको अवस्थिति पहाडी प्रदेशमा भएको कारण यसको भू–वनावट पनि ज्यादै जटिल छ। यस जिल्लामा दुई भिन्न पर्यावरणीय प्रदेश (पहाडी र उच्च हिमाली)मा पर्ने हुँदा पनि यसमा विषम भू–बनावट पाइन्छ। विषम भू–बनावटको निर्माण हुनुको कारणमा जिल्लामा पर्ने भौगोलिक संरचनाको विशेष भूमिका रहेको छ। भौगोलिक संरचनाको आधारमा जिल्लालाई पाँच प्रमुख क्षेत्रमा विभाजन गर्न सकिन्छ।[6][3]
समुद्र सतहदेखि ४,००० मिटरभन्दा माथिको भू–बनोट यस क्षेत्रअन्तर्गत पर्दछ र यस क्षेत्रलाई बाह्रैमास हिउँले ढाकेको पाइन्छ।[7]
यो क्षेत्र अत्यन्त कमजोर भू–बनोटअन्तर्गत पर्दछ। यसै क्षेत्रमा : भनिने सम्बेदनशील भौगोलिक जोर्निका पेटीले जिल्लाको लगभग १,५०० देखि २,००० मिटरको उचाइ क्षेत्रमा पूर्व–पश्चिम काटेको छ। यो क्षेत्र पहिरो जाने र भूकम्पको केन्द्र विन्दुको लागि अत्यन्त प्रमुख मानिन्छ। त्यसैले ठूला निर्माण कार्यको लागि यस क्षेत्रमा ठूलो सावधानी लिनु पर्ने देखिन्छ।[7]
यो क्षेत्र घनपोखरा समूहको दक्षिणमा अवस्थित छ। यसमा खासगरी कमजोर चट्टानको वाहुल्यता छ। यो क्षेत्रमा अति वर्षा हुने हुँदा पहिरो जाने बढी सम्भावना रहन्छ।[7]
यो क्षेत्र खासगरी पोखरा उपत्यकामा अवस्थित छ। प्राचीन समयमा माछापुच्छ्रेदेखि उत्तर तर्फको ठूला बाँध फुटेर अकस्मात पोखरा उपत्यकामा रोडा र गिटी थुप्रिन गई निर्माण भएको समतल नदीका टार क्षेत्र र गण्डकीका गरा यस समूहमा पर्दछन। यसमा पनि निर्माण समयावधिका आधारमा कुनै निकै पुराना छन र त्यहाँ भुङ्कान (भ्वाङ) पर्ने क्रिया देखिन्छ भने कुनै नयाँ र कठोर सिमेन्टेड (गेडुला ढुङ्गाको जमोट) अवस्थामा छन। भू–गर्भशास्त्रीहरूले यसलाई पनि विभिन्न उप–समूहमा राखी पोखरा उपत्यकाको बस्ती योजनालाई सुझाव दिएका छन।[7]
यसमा जिल्लाको दक्षिणी भागमा वर साझी मटिखान र पश्चिममा उल्लेरी निर्माण समूह पर्दछन। यी क्षेत्रमा सामान्य फिलाईट समूहका चट्टान छन। अन्य पहाडी क्षेत्रको तुलनामा केही स्थित भू–बनोट छ। जिल्लाको भू–संरचना जटिल भएको कारण यसको भू–सतह पनि उत्तिकै जटिल छ। भू–सतहको आकृतिका आधारमा जिल्लाको भू–क्षेत्रलाई तीन प्रमुख किसिममा विभाजन गर्न सकिन्छ।[7]
समुद्र सतहबाट लगभग ३,५०० मिटरदेखि माथिको भू–भागलाई यस समूहमा राख्न सकिन्छ। अधिक उचाइको कारण यसभन्दा माथि लामो समय हिउँद्वारा ढाकिरहन्छ। जिल्लाको सम्पूर्ण भू–भाग अन्नपूर्ण शृङ्खलाको दक्षिण मोहडामा परेको हुँदा स्थायी हिमरेखा ४,५०० मिटरको उचाइभन्दा माथि रहेको छ। स्थायी हिमरेखा माथि अनवरत हिउँका प्रक्रिया रहेतापनि यस क्षेत्रको तल्लो सीमान्त भू–भागमा अस्थायी हिउँका प्रक्रिया केन्द्रित रहन्छन्। यो क्षेत्रमा मात्र केही अधिक उचाइमा पाइने भोजपत्र, धूपी र काँडे झाडी पाइन्छन् भने धेरै जसो समथर भागमा घाँसे चरन क्षेत्र छ। यस क्षेत्रमा गृष्मकाल (असार–असोज)मा भेडीगोठ राख्ने चलन छ।[7]
जिल्लाको ३,५०० मिटरदेखि तल भिरालो पाखा तथा होंचा डाँडाहरू यस क्षेत्रमा पर्दछन्। खासगरी होंचो पहाडी पाखा, तथा नदी–निर्मित टार उपत्यकामा आएर समाहित हुने हुँदा यी भिराला पाखाहरू जटिल र सम्वेदनशील छन्। यी पहाडी पाखामा होंचा र समथर भागमा मानव बस्ती र खेतीपाती केन्द्रित छन् भने अग्ला भागमा चरन तथा जंगल क्षेत्र छन्। यस क्षेत्रमा प्राचीन कालदेखि मानव बस्तीको लागि उपयुक्त हावापनी पाइने हुँदा पुराना बस्तीहरू केन्द्रित छन। मानिस र मानिसका क्रियाकलापको अधिक चाप परिरहेका यी क्षेत्रहरू भू–बनोटको हिसाबमा कमजोर र भिराला भएकाले पनि निकै सम्वेदनशील छन्।[7]
भिराला पाखाहरूको तल्लो भाग तथा नदी र खोलाहरूको किनारका समथर भाग यस क्षेत्रमा पर्दछन। खासगरी पोखरा उपत्यका भराभरीदेखि कोत्रेखोलासम्म र अन्य मर्दी याम्दी, हर्पन विजयपुर, दोभान र स्याङखुदी खोलाहरूको तल्लो भाग ज्यादै विस्तृत छ। त्यस्तै, सुरौदी खोलाको बेसी, मादी नदीको बेसी र मोदी नदीको बेसी जिल्लाका अरु मैदानी भाग हुन। यी क्षेत्रमा प्रायः नदीले थुपारेका बलौटो, पाँगो र तलैया माटो भएको कारण उत्पादनका लागि ज्यादै उपयुक्त छन। तथापि, यी क्षेत्र नदी कटान र बाढीका लागि ज्यादै सम्बेनदशील छन। पहाडका फेदीमा मध्यवर्ती भिराला पाखाबाट आएका पहिराका पदार्थहरूले पुर्ने क्रम ज्यार्दै जटिल छ। मर्दी र इदी खोला, हर्पनखोला, स्याङखुदी र दोभान खोला यसका प्रत्यक्ष उदाहरण हुन। यो भू–भाग पहिला औलो र खहटे(एक प्रकारको क्षयरोग)को ठूलो प्रभावमा रहेको कारण ऐतिहासिक कालमा ज्यादै पातलो बस्ती थियो। तर, हालमा यातायात र शहरी प्रभावको कारण यो क्षेत्रमा जनआवादी ज्यादै घना छ।[5][7]
कास्कीको पूर्वमा लमजुङ, पश्चिममा स्याङ्गजा र पर्वत, उत्तरमा मनाङ र म्याग्दी र दक्षिणमा स्याङ्गजा र तनहुँ गरी ६ जिल्लासँग सिमाना जोडिएको छ।[3]
यस जिल्लालाई ३ गाउँपालिका १ महानगरपालिका तथा ३ वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ। जिल्लाको सदरमुकाम पोखरामा रहेको छ।[3]
भौगोलिक विविधता भएकै कारण यहाँ एकै समयमा ठाउँ अनुसार फरक फरक हावापानी रहेको पाइन्छ। यस जिल्लामा सम शितोष्ण देखि शितोष्ण हावापानी रहेको पाइन्छ। हाल सम्ममा पोखरा स्टेसनमा अधिकतम तापक्रम ३७.४ डि. से. ( ८ अप्रील १९७५) र न्युनतम तामक्रम १.८ डि.से. (१३ जनवरी १९७०)मा रहेको तथा अधिकतम कुल ३५७ मिलि लिटर १८ अगष्ट २००१ पानी परेको रेकर्डबाट देखिन्छ। नेपालमा वढी पानी पर्ने जिल्ला कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्ले क्षेत्र पर्दछ।[3]
सेती मादी
मोदी, मर्दी, काली, विजयपुर, कोत्रे, सर्दी, काहुँ, हर्पन, फुस्रे, इंदी, आदि।
प्रमुख तालको रूपमा फेवाताल १५ वर्ग कि.मी. बेगनास ताल १० वर्ग कि.मी. रुपा ताल १ वर्ग कि.मी. र अन्यमा दिपाङ्ग, मैदी, कमल, न्युरेनी, खास्टे ताल,वुडुवा, गुदे, आदि।
शान्ति कुण्ड
पाताले छाँगो(डेभिज फल)
कास्की जिल्लामा ५३ वटा झोलुङ्गे पुलहरू छन् जस मध्ये ४ वोटा ले लम्जुंग र कास्की जोड्ने काम गर्छन।
यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरू पोखरा, लेखनाथ, गगनगौंडा, सिसुवा र हेम्जा हुन।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.