इलाम जिल्ला
From Wikipedia, the free encyclopedia
इलाम जिल्ला सुन्नुहोसⓘ मुलुकको पछिल्लो राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर एकमा पर्ने चौध जिल्लामध्ये इलाम एक हो । मुलुकको सुदूरपूर्वमा १७०३ वर्ग किलोमिटर क्षेत्र ओगटेको पहाडी जिल्ला इलामको उत्तरमा पाँचथर, दक्षिणमा झापा, पश्चिममा पाँचथर र मोरङ जिल्लाहरु अनि पूर्वमा भारतको पश्चिम बङ्गाल अन्तर्गत दार्जिलिङ्ग जिल्ला पर्दछ । समुद्री सतहबाट १४० मिटर उचाइको तराईदेखि उत्तरतिर चुरे पहाड, मध्यपहाड हुँदै ३६३६ मिटरको उच्च पहाडसम्म पुग्ने इलामे धर्तीमा उचाइ अनुसारकै विविध प्रकारको हावापानी पाइन्छ । त्यसैले इलाम जैविक विविधतामा पनि धेरै धनी छ । विभिन्न नगदे वालीका लागि चर्चित इलाम जिल्ला नेपालमा चियाको आदि थलो हो । इलाम बजारको पश्चिम उत्तरी भागमा रहेको चिया कमान नेपालको पहिलो संगठीत कृषि उद्योग हो । यहाँ रहेको चिया कारखाना नेपालको जेठो औद्योगिक कारखाना हो जसबाट बि. सं. १९३५ मा नै प्रशोधित चिया बजारमा ल्याइएको थियो । अलैंची, आलु, अम्लिसो, अदुवा, दूध, किबी फल र विभिन्न प्रकारका जडिबुटी उत्पादनका लागि कहलिएको इलाम हरित कृषिको जिल्ला हो । अत्यन्त आकर्षक र मनमोहक प्राकृतिक सुन्दरताले भरिपूर्ण इलाम नेपालकै उत्तम पर्यटकीय गन्तव्यमा पर्दछ । विविध जात जातिको बसोबास रहेको इलाममा प्राचिन मठ मन्दिर र गुम्बाहरु सांस्कृतिक धरोहरका रूपमा रहेका छन् । लेप्चा जातिको बसोबासो नेपालमा इलाम जिल्लामा मात्रै छ । निकै प्रजातिका चरा, विभिन्न किसिमका पुतली र रेड पाण्डाको वासस्थान रहेको इलाममा प्राकृतिक पोखरी पनि उल्लेख्य मात्रामा छन् । इलामको हाँसपोखरी क्षेत्रलाई सुनगाभाको स्वर्ग भनेर चिनिन्छ । इलामकै उत्तरी भागमा उद्गमस्थल रहेका र दक्षिणतिर बग्ने चार माई खोलाका कारण पुराना मानिस अद्यापि इलामलाई चारखोल भन्ने गर्दछन् ।
इलाम जिल्ला | |
---|---|
देश | नेपाल |
प्रदेश | पुर्वाञ्चल |
अवस्थिति | पहाडी |
नगरपालिका | ३ |
सदरमुकाम | इलाम |
क्षेत्रफल | |
• जम्मा | १७०३ किमी२ (६५८ वर्ग माइल) |
उन्नतांश (अधिकतम) | ३६३६ मिटर (११९२९ फिट) |
जनसङ्ख्या (२०६८[1]) | |
• जम्मा | २९०२५४ |
• घनत्व | १७०/किमी२ (४४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०२७ |
मुख्य भाषाहरू | लिम्बु, नेपाली, बान्तवा |
प्रमुख जातिहरू | राई,लिम्बु, बाहुन, क्षेत्री, भोटे,पहरी, लेप्चा,थामी |
वेबसाइट | www.ddcilam.gov.np |
नेपालको वर्तमान प्रशासनिक विभाजन अन्तर्गत पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलका चार जिल्ला मध्यको एक पहाडी जिल्ला इलाम नेपालका पचहत्तर जिल्लामध्ये सबैभन्दा पूर्वमा अवस्थित एक रमणीय जिल्ला हो। हालको इलाम जिल्ला नेपाल एकीकरण हुनु भन्दा अगाडि राई र लिम्बु जातिहरूको किराँत राज्य थियो। त्यसमा पनि प्राचिन समयमा लिम्बु जातिहरूकै बाहुल्यता भएकाले इलाम जिल्लाको नामाकरण लिम्बु भाषाबाट भएको मानिन्छ। महाभारत र शिवालिक पर्वत श्रृंखलाको पूर्व दक्षिण काखमा अवस्थित नेपालको सुदूर पूर्वी पहाडी जिल्ला इलाम बास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ। यहाँको चियाबारी, हरियाली, साना-ठूला नदी-नाला, पोखरी, मठ-मन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरता पर्यटक आकर्षणका तत्त्व हुन। प्राकृतिक बरदानस्वरूप रहेको यहाँको उर्वर भूमि एवं पौरखी कृषकहरूको अथक मेहनतले गर्दा यो जिल्ला आर्थिकरूपले धनी मानिन्छ। साँस्कृतिक, प्राकृतिक तथा आर्थिक पक्षहरूमा समृद्ध रहेको यो जिल्ला "पहाडकी रानी, नगदेबालीको खानी" जस्ता उपनामले चिनिन्छ। इलाम जिल्लालाई विभिन्न 'अ'को जिल्ला भनेर पनि चिनिन्छ। यसै क्रममा यसलाई हाल ८ 'अ'को जिल्ला भनेर चिनिन्छ। जसमा 'अ'को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दुध), अम्लिसो, आलु र अतिथि सत्कार हुन्छ। पूर्व-पश्चिम राजमार्गको चारआलीबाट मेची राजमार्गमा ७८ किलोमिटरको दुरी पार गरेपछि इलाम सदरमुकाम पुगिन्छ। इलाम जिल्लाको क्षेत्रफल १७०३ वर्ग किलोमिटर र जनसङ्ख्या २०६८ को जनगणना अनुसार २९०,२५४ जना रहेको छ। [2]