From Wikipedia, the free encyclopedia
पृथ्वीपाल सेन पाल्पा राज्यका अन्तिम राजा थिए । उनी महादत्त सेनको पुत्र थिए । महादत्त सेनको देहावसानपछि साल १८५० मा पृथ्वीपाल सेन पाल्पाका राजा भए । पृथ्वीपाल ओजस्वी राजा थिए । उनी प्रतापी, तेजस्वी र प्रकाण्ड व्यक्तित्वका धनी थिए । बचपनदेखि नै अवधका नवाबको विलासी जीवन, कम्पनी सरकारको निरन्तर बढोत्तरी र गोरखाली राज्यविस्तारको अविरल क्रम देखेका उनी अनुभवी र चतुर थिए । किन्तु, सहजै विश्वास गर्ने र तुरुन्तै प्रसन्न हुने आशुतोष स्वभावले गर्दा उनी जीवनमा ठूलो धोका र घातको सिकार भए ।[१]
राजकुमार बहादुर शाहले पश्चिम नेपालको शक्तिशाली पाल्पा राज्यका राजा पृथ्वीपाल सेनकी बहिनीसँग वैवाहिक सम्बन्ध कायम गरी पश्चिम पर्वत देखि गुल्मी, अर्घा, खांची, रूकुम प्युठान, सल्यान, जाजरकोट, दैलेख, दुल्लु, जुम्ला, डोटी, अछाम, बझाङ, हुदै कुमाउ गढवाल हुदै सतलज नदी पारी गोरखाली पुगेका थिए। पाल्पा राज्यको सहयोगमा विस्तार भएको नेपाल एकिकरणको अभियानमा बहादुर शाहको नेतृत्वकाललाई स्वर्णकाल मानिन्छ।
पाल्पाको राजगद्दीमा बसेको एक वर्ष भित्रै विसं १८५९ मा रणबहादुर शाहले गुल्मी राज्य पाल्पाको अधिनबाट खोसेर स्वतन्त्र राज्य घोषित गरी आफ्ना जेठान सिद्धिप्रताप शाहलाई त्यहाँको राजा बनाएका थिए।[२] त्यसपछि सोझा प्रकृतिका राजा पृथ्वीपाल सेनले पटक पटक रणबहादुरको षड्यन्त्र परि धेरै सास्ती पाए।[३]
रणबहादुर शाहले आफ्नी रानी कान्तिवतीको जिद्दी टार्न नसकी डेढ वर्षका छोरा गिर्वाणयुद्ध विक्रम शाहलाई राज्यरोहण गराउने भएपछि त्यसको दिलाउनको लागि शक्तिशाली राज्य पाल्पाका राजा का हातबाट राजतिलक लगाइदिने प्रबन्ध मिलाएका थिए।[४] उक्त शुभकार्यमा काठमाडौँ पुगेका पाल्पाली राजा माथि शङ्का गरेर रणबहादुर शाहले उनलाई नजरबन्द गर्न लगाएका थिए।
बहादुर शाहका समर्थक पृथ्वीपाल सेनलाई बहिनीसँग बिहे गर्ने बाहानामा काठमाडौँ बोलाई पाटन दरबारमा कैद गरियो।[५]
१८६३ साल वैशाख १४ गते राति त्रिभुवन काजीको घरमा कचहरी बसिरहेको समयमा भाइ शेरबहादुर शाहले स्वामी महाराज रणबहादुरलाई काटे । भीमसेन थापाले शत्रुको दमन गर्ने क्रममा १८६३ मा पाल्पाली राजा पृथ्वीपाल सेनको टाउको काटेर हत्या गरियो र साथमा तानसेनबाट आएका १८ जना अंगरक्षक पनि मारिए । त्यसदिन रातभर र अर्को दिन बिहानसम्म अनेकौं निर्दोष भारदारहरूको निर्मम हत्या भइरह्यो । पाटन दरबारमा थुनामा रहेका पाल्पाली राजा र उनका भाइ चौतरिया रणबहादुर सेनलाई बाँधेर घिच्याउँदै भण्डारखालमा ल्याइयो । भीमसेन थापाले पाल्पाली राजालाई रणबहादुर शाहको हत्याको षड्यन्त्रमा संलग्न रहेको झुटो दोषारोपण गरे । राजा अवध्य हुन्छन् भनी पृथ्वीपाललाई मार हान्न कोही तयार भएन । तर, त्यही अलमलका बीच एक जना विराज विष्ट नाम गरेको अर्दली ‘म काट्छु’ भन्दै कस्सिएर आयो । उसले ४७ वर्षीय राजा पृथ्वीपाल र भाइ रणबहादुर सेनलाई काट्यो । भनिन्छ, काट्नुअघि राजालाई अपार यातना दिइएको थियो । पाल्पाली राजा काट्ने अर्दली विराज विष्टलाई भीमसेन थापाले लप्टनको दर्जा दिए ।
राजा पृथ्वीपाल सेन, चौतरिया रणबहादुर सेन र १८ जना पाल्पाली राजाका नातेदार र सैनिकको लास दाम्लाले बाँधेर घिसार्दै विष्णुमतीको किनारमा मिल्क्याइयो । निर्दोष पाल्पाली राजा, राजकुमारहरू र सैनिकहरूको सदगत गर्न पनि दिइएन ।[६]
रणबहादुर शाहको हत्या भएपछि चौतारा विदुर शाह, काजी त्रिभुवन प्रधान, काजी नरसिंह गुरुङ, राजा पृथ्वीपाल सेन तथा यिनका भाइ चौतारा रणबहादुर सेन समेत कडाइका साथ कैदमा परिसकेका थिए।[७] रणबहादुरको हत्यामा उनीहरूको हात थियो कि थिएन र थियो भने कसकसको के कस्तो भुमीका थियो भन्ने कुराको कुनै छनबिन तथा पुर्पक्ष नै नगरी भोलिपल्ट नै राजभवन भित्र कै भण्डारखालको बगैंचामा यिनीहरू सबै काटिए। चौतारा विदुर शाहीका नाबालक छोराहरू सम्मले पनि बोल्ने अवसर पाएनन् र काटिए। काजी त्रिभुवन प्रधान र काजी नरसिंह गुरुङका छोराहरू मात्र होइनन्, नातिहरू पनि विष्णुमती नदीमा पुर्यायी काटिए।
पाल्पाली राजा पृथ्वीपाल सेन र यिनका १८ जना निरपराध पाल्पाली अंगरक्षक पनि भण्डारखाल बगैंचामा काटिए। दाहसंस्कार गर्न समेत नदिई यिनीहरू सबैको शवलाई अमानवीय व्यवहार गर्दै दाम्लोले घिसार्न लगाई विष्णुमती नदीको बगरमा फाल्न लगाएर स्याल तथा गिद्धहरूलाई खुवाइयो।
Seamless Wikipedia browsing. On steroids.