रोमान्स र क्रियोल भाषाहरूमा आधारित सी. जोर्ज बोरीद्वारा निर्मित अन्तर्राष्ट्रिय सहायक भाषा From Wikipedia, the free encyclopedia
लिङ्ग्वा फ्राङ्का नोभा (रोमन लिपि: Lingua Franca Nova, सिरिलिक लिपि: Лингва франка нова, आइपिए: /ˈliŋɡwa ˈfraŋka ˈnɔva/) वा सामान्य रूपमा एलेफेन (रोमन लिपि: elefen, सिरिलिक लिपि: элэфэн) पेन्सिलभेनियामा अवस्थित सिपेन्सबर्ग विश्वविद्यालयका सी. जोर्ज बुरेद्वारा निर्मित र त्यसका वक्ताहरूद्वारा विकसित एक अन्तर्राष्ट्रिय सहायक भाषा हो ।[5][6] यसको शब्दावली इटालेली, कातालान, पोर्तगाली, फ्रेन्च र स्पेनियालगायत अन्य आधुनिक रोमान्स भाषासमूहका भाषाहरूमा आधारित छ ।
लिङ्ग्वा फ्राङ्का नोभा | |
---|---|
lingua franca nova, лингуа франка нова | |
सृजनाकर्ता | सी. जोर्ज बुरे |
मिति | सन् १९६५[1] |
व्यवस्था र उपयोग | अन्तर्राष्ट्रिय सहायक भाषा |
वक्ता | फेसबुकमा ६०३ जना[2] |
उद्देश्य | निर्मित भाषा
|
स्रोत | रोमान्स तथा क्रियोल भाषाहरूमा आधारित |
सरकारी दर्जा | |
नियामक संस्था | आसोसिया पेर लिङ्ग्वा फ्राङ्का नोभा[3] |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | lfn |
भाषाविद् सूची | lfn |
ग्लोटोलग | ling1267 [4] |
लिङ्ग्वा फ्राङ्का नोभामा २२ अक्षरमा आधारित पूर्णतः ध्वन्यात्मक वर्तनी छ, जसलाई रोमन वा सिरिलिक लिपिमा लेख्न सकिन्छ ।
लिङ्ग्वा फ्राङ्का नोभाको व्याकरण रोमान्स तथा क्रियोल भाषाहरूमा आधारित छ । अधिकतम क्रियोल भाषाहरू झैँ लिङ्ग्वा फ्राङ्का नोभाको व्याकरण पनि अत्यन्तै सरलीकृत र सिक्नका लागि सजिलो छ ।[7][8]
सरल, सुसङ्गत र अन्तर्राष्ट्रिय सम्पर्कका निम्ति सहज हुने अन्तर्राष्ट्रिय सहायक भाषाको निर्माण गर्ने उद्देश्यले बुरेले सन् १९६५ मा लिङ्ग्वा फ्राङ्का नोभाको रचना सुरु गरेका थिए ।[1][9][10] उनी इस्वी संवत्का एघारौँदेखि अठारौँ शताब्दीबिच भूमध्य द्रोणीमा युरोपेली नाविक तथा व्यापारीका समूहले प्रयोग गर्ने भूमध्य रेखीय लिङ्ग्वा फ्राङ्का नामक रोमान्स पिजिन तथा पापियामेन्तो र हाइतेली क्रियोल जस्ता क्रियोल भाषाहरूबाट प्रभावित भएका थिए । उनले इटालेली, कातालान, पोर्तगाली, फ्रेन्च र स्पेनियालाई लिङ्ग्वा फ्राङ्का नोभाको आधारका रूपमा प्रयोग गरेका थिए ।
लिङ्ग्वा फ्राङ्का नोभालाई पहिलो पटक सन् १९९८ मा इन्टरनेटमा प्रस्तुत गरिएको थियो ।[1] सन् २००२ मा ब्योर्न म्याडसेनले एउटा याहू ! समूह बनाएका थिए जसमा सहभागी भएका ३०० सदस्यहरूले भाषाको विकासमा उल्लेखनीय योगदान दिएका थिए ।[11]
सन् २००५ मा स्टेफान फिसानले एलेफेनको विकीको निर्माण गरेका थिए ।[12] सन् २००९ मा उक्त विकीलाई विकिआमा र र सन् २०१९ मा विकिपिडियामा सारिएको थियो ।[13][14]
सन् २००७ मा इगोर वासिलजेविक एक फेसबुक समूह बनाएका थिए जसमा वर्तमानमा लगभग ६०० सदस्यहरू छन् ।[2]
जनवरी २००८ मा एसआइएल इन्टरनेसनलद्वारा एलेफेनलाई आइएसओ ६३९-३ कोड ("lfn") दिइएको थियो ।[15]
सन् २००८ मा साइमन डेभिसले एलेफेन–अङ्ग्रेजी शब्दकोशमा महत्त्वपूर्ण अद्यतन गर्न थालेका थिए ।[16] सो शब्दकोशलाई अझै पनि एलेफेनको आधिकारिक वेबसाइटमा समयसमयमा अद्यतन गरिन्छ र हालै उक्त शब्दकोशमा २०,००० भन्दा बढी प्रविष्टिहरू छन् ।[17] सन् २०१८ मा एलेफेन शब्दकोशको प्रथम मुद्रण गरिएको थियो ।[18]
सन् २०१२ मा लिङ्ग्वा फ्राङ्का नोभामा पूर्णतः अनुवादित ला आभेन्तुरास दे आलिसिया एन ला पाइस दे मेर्भेलियास (एलेफेन: La aventuras de Alisia en la pais de mervelias) नामक उपन्यासको प्रथम मुद्रण गरिएको थियो, जुन लुइस क्यारलको एलिसेज एड्भेन्चर्स इन वन्डरल्यान्ड (अङ्ग्रेजी: Alice's Adventures in Wonderland) को साइमन डेभिसद्वारा अनुवादित संस्करण हो ।[19][20]
सन् २०१४ मा एलेफेनको आधिकारिक वेबसाइटलाई सार्वजनिक गरिएको थियो जसमा केही भाषाहरूमा एलेफेन सिक्ने निर्देशन, एलेफेनको पूर्ण व्याकरण, एलेफेन साहित्य तथा एलेफेन विकी समावेश गरिएको छ ।
१८ अप्रिल २०१८ मा विकिपिडियाको सामान्य परियोजनास्वरूप एलेफेन विकिपिडिया (एलेफेन: Vicipedia) सार्वजनिक गरिएको थियो ।
५ जनवरी २०२१ मा एलेफेनका निर्माता सी. जोर्ज बुरेको अग्नाशयको क्यान्सरका कारण मृत्यु भयो ।[21]
लिङ्ग्वा फ्राङ्का नोभाको शब्दावली इटालेली, कातालान, पोर्तगाली, फ्रेन्च र स्पेनिया जस्ता पाश्चात्य रोमान्स भाषाहरूमा आधारित छ ।[22]
लिङ्ग्वा फ्राङ्का नोभामा शब्दका व्युत्पत्ति पूर्णतः तर्कसङ्गत त छैन तर व्युत्पत्तिका लागि एलेफेन भाषाविद्हरू ध्वन्यात्मक सौन्दर्य तथा अन्य विषयगत तत्त्वमा पनि ध्यान पुर्याउँछन् । सामान्यतः सबै स्रोत भाषाहरूमा समान शब्दलाई एलेफेनमा ग्रहण गरिन्छ ।
सबै भाषामा हिज्जे र उच्चारणमा भिन्नता हुनु त स्वभाविक नै हो, सामान्यतः एलेफेनमा हिज्जेभन्दा पनि उच्चारणलाई बढी महत्त्व दिइन्छ ।
स्रोत भाषाहरूमा रोमन भाषाबाट आएका तर हिज्जेमा परिवर्तन भएका शब्दहरू छन् भने एलेफेनमा सबैभन्दा पुरानो अर्थात् रोमनसँग सबैभन्दा बढी मिल्ने विकल्पको ग्रहण गरिन्छ । उदाहरणका लागि:
रोमन | इटालेली | स्पेनिया | पोर्तगाली | फ्रेन्च | एलेफेन |
---|---|---|---|---|---|
pleno | pieno | lleno | cheio | plein | plen |
clave | chiave | llave | chave | clef | clave |
flamma | fiamma | llama | chama | flamme | flama |
यद्यपि, रोमन भाषाले एलेफेनको स्वरसन्धानसँग मेल नखाएको अवस्थामा उक्त शब्दको हिज्जेमा केही परिवर्तन ल्याइन्छ:
रोमन | इटालेली | स्पेनिया | पोर्तगाली | फ्रेन्च | एलेफेन |
---|---|---|---|---|---|
lacte | latte | leche | leite | lait | lete |
lecto | letto | lecho | leito | lit | leto |
nocte | notte | noche | noite | nuit | note |
लिङ्ग्वा फ्राङ्का नोभाको शब्दावलीमा विभिन्न संस्कृतिबाट आएका नयाँ राष्ट्र, प्रमुख भाषासमूह, जल निकाय तथा भौगोलिक एकाइ जस्ता अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण मानिने शब्दहरू पनि समावेश गर्न सकिन्छ । सामान्यतः शब्दहरूलाई वर्णात्मक रूपमा लिप्यन्तरण गर्नुको साटो ध्वन्यात्मक तरिकाले लिप्यन्तर गरिन्छ । उदाहरणका लागि, स्रोत भाषामा c को उच्चारण s उच्चारण गरिन्छ भने एलेफेनमा सो शब्दको हिज्जेमा पनि s नै लेखिन्छ । उच्चारण अनिश्चित भएका स्थितिहरूमा भने वर्णात्मक लिप्यन्तरलाई प्राथमिकता दिइन्छ । उदाहरणका लागि, सहजै पहिचान गर्न सकिने बनाउन एलेफेनमा "English" शब्दलाई "inglix" को सट्टा "engles" लेखिन्छ ।[23]
एलेफेन सामान्यतः रोमन लिपिमा लेखिन्छ । यसबाहेक यसका लागि सिरिलिक लिपिको पनि प्रयोग गर्न सकिन्छ:
रोमन लिपि | a | b | c | d | e | f | g | h | i | j | l | m | n | o | p | r | s | t | u | v | x | z |
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सिरिलिक लिपि | а | б | к | д | е | ф | г | х | и | ж | л | м | н | о | п | р | с | т | у | в | ш | з |
आइपिए | [a~ɑ] | [b] | [k] | [d] | [e~ɛ] | [f] | [ɡ] | [h] | [i/j] | [ʒ] | [l] | [m] | [n/ŋ] | [o~ɔ] | [p] | [r] | [s] | [t] | [u/w] | [v] | [ʃ] | [z] |
नाम | a | be | ce | de | e | ef | ge | hax | i | je | el | em | en | o | pe | er | es | te | u | ve | ex | ze |
एलेफेनका स्वरवर्णलाई इटालेली वा स्पेनिया तरिकाले उच्चारण गरिन्छ । यद्यपि, उपर्युक्त तालिकामा देखाइए झैँ a, e र o का उच्चारणमा थोरै भेद स्विकारिन्छ ।
ai (ai~ɑi), au (au~ɑu), eu (eu~ɛu) र oi (oi~ɔi) सन्ध्यक्षर हुन् ।
i र u लाई ioga मा झैँ शब्दको सुरुवातमा कुनै स्वरवर्णको अगाडि, joia मा झैँ दुइटा स्वरवर्णको बिचमा, folia मा झैँ दुइटा स्वरवर्णको बिचमा li वा ni को प्रयोग हुँदा र acua मा झैँ स्वरवर्णको अगाडि cu वा gu को प्रयोग हुँदा अर्धस्वर मानिन्छ । n लाई longa वा ance मा झैँ g वा c को अगाडि प्रयोग गर्दा त्यसलाई 'ङ' उच्चारण गरिन्छ । e र o को उच्चारणमा पनि उपर्युक्त तालिकामा टिल्ड चिह्न (~) ले देखाए झैँ सानातिना भिन्नता स्विकारिन्छ ।
एलेफेनमा स्वराघात स्वनिमिक नभएपनि सामान्यतया शब्दको उपान्त अंशमा स्वराघात हुन्छ, जस्तै – casa, abeon, baia । अन्तिम व्यञ्जनवर्णको अगाडि कुनै स्वरवर्णको प्रयोग गरिएको छैन भने पहिलो स्वरवर्णमा स्वराघात हुन्छ, जस्तै – tio । सन्ध्यक्षरमा शब्दको अन्त्य भएको छ भने सो सन्ध्यक्षरमा स्वराघात हुन्छ, जस्तै – cacau । अन्त्यमा प्रयोग भएका स्वरवर्णहरू ae, ao, ea, eo, oa, oe वा ui हुन् भने उक्त स्वरवर्णको जोडीको पहिलो स्वरवर्णमा स्वराघात हुन्छ, जस्तै – idea । शब्दलाई बहुवचन बनाउने -s वा -es प्रत्ययहरूले स्वराघातमा कुनै परिवर्तन हुँदैन ।
/h/ स्वनिमलाई कहिलेकाहीँ उच्चारण नगर्न पनि सकिन्छ ।
k (ka), q (qua), w (wa) र y (ya) लाई सामान्य एलेफेन शब्दहरूमा प्रयोग नगरिएपनि व्यक्तिवाचक नाम र गैर-एलेफेन शब्दका मौलिकता जोगाउन ती अक्षरहरूको प्रयोग गर्न सकिन्छ । ती अक्षरका उच्चारणमा भिन्नतालाई स्वीकार गरिन्छ ।
एलेफेनमा कर्ता – क्रिया – कर्म शब्दयोजनाको प्रयोग गरिन्छ । विशेषक, सम्बन्ध कारक र सापेक्ष उपवाक्य सामान्यतः तिनीहरूले प्रभाव पर्ने वा विशेषता जनाउने शब्दवर्गको पछाडि लाग्छन् ।
-s र -es को प्रयोगले बहुवचन बन्ने स्थितिबाहेक नाम अविकारी हुन्छ । वाक्यमा नामको भूमिकाको निर्धारण शब्दयोजना र सम्बन्ध कारकको अधीन हुन्छ । एलेफेनमा a (मा, तर्फ), de (को, बाट, सम्बन्धी), en (भित्र) र con (सँग) लगायत २२ वटा सम्बन्ध कारक छन् ।
नामको अगाडि सामान्यतया प्रविशेषण (la वा un) अथवा esta (यो), acel (त्यो), alga (केही), cada (प्रत्येक), multe (धेरै) र poca (थोरै) जस्ता निर्धारकका प्रयोग गरिन्छ । सम्बन्धवाचक निर्धारक, परिमाणबोधक विशेषण तथा bon (राम्रो) र mal (नराम्रो) जस्ता विशेषणहरूलाई पनि नामको अगाडि नै प्रयोग गरिन्छ । सङ्ख्याबोधक विशेषण भने प्रायः नामको पछाडि आउँछ । धेरैजसो सर्वनामहरू निर्धारकसँग मेल खान्छन् वा निर्धारकहरूबाट नै व्युत्पत्ति भएका हुन्छन् ।
पुरुषवाचक सर्वनाम अविकारी हुन्छन्:
पुरुष | एकवचन | बहुवचन |
---|---|---|
प्रथम | me | nos |
द्वितीय | tu | vos |
तृतीय | el / lo / on | los |
तृतीय पुरुषवाचक सर्वनामहरूमध्ये मानिस तथा उच्च वर्गका जनावरका लागि el, सामान्य रूपमा मानिसका लागि on र अरू सबैका लागि lo को प्रयोग गरिन्छ ।
प्रथम र द्वितीय पुरुषवाचक सर्वनामका लागि निजवाचक सर्वनाममा कुनै फरक छैन । अधिकारवाचक निर्धारकका लागि भने mea, nosa, tua र vosa को प्रयोग गरिन्छ । अधिकारवाचक निर्धारकको अगाडि la को प्रयोग गरी त्यसलाई अधिकारवाचक सर्वनामको रूपमा प्रयोग गर्न सकिन्छ ।
se तृतीय पुरुषमा, एकवचन र बहुवचन, दुवै स्थितिमा प्रयोग गरिने निजवाचक सर्वनाम हो । तृतीय पुरुषमा अधिकारवाचक निर्धारक दुवै वचनमा sua हो र अधिकारवाचक सर्वनाम चाहिँ la sua ।
एलेफेनमा क्रियापद पनि अविकारी नै हुन्छन् । एकल रूपमा प्रयोग गर्दा क्रियापदले वर्तमानकालीन धातुको प्रतिनिधित्व गर्छ । अन्य काल र अर्थ बुझाउनका लागि विभिन्न पूर्ववर्ती कृदन्तको प्रयोग गरिन्छ:
काल / अर्थ | कृदन्त | उदाहरण | अनुवाद |
---|---|---|---|
वर्तमानकाल | - | me vade | म जान्छु |
भूतकाल | ia | me ia vade | म गएँ |
भविष्यत्काल | va | me va vade | म जानेछु |
ससर्त | ta | me ta vade | म जाने थिएँ |
वाक्यको अर्थलाई थप स्पष्ट पार्न ja (पहिले नै) जस्ता क्रियाविशेषण र comensa (सुरु गर्नु) जस्ता क्रियापदको प्रयोग पनि गर्न सकिन्छ । सक्रिय कृदन्तको अन्त्यमा -nte लाग्छ भने निष्क्रिय कृदन्तको अन्त्यमा -da । वाक्यलाई अपूर्ण कालमा परिवर्तन गर्न सक्रिय कृदन्त र कर्मवाच्यमा परिवर्तन गर्न निष्क्रिय कृदन्तलाई es (हुनु) सँग प्रयोग गर्न सकिन्छ ।
एलेफेनमा विशेषण पनि अविकारी नै हुन्छन् र हेर्दा क्रियाविशेषणसँग मेल खान्छन् । विशेषणलाई नामको पछाडि प्रयोग गरिन्छ भने क्रियाविशेषणलाई क्रियापदको पछाडि र विशेषणको अगाडि प्रयोग गरिन्छ । तुलनात्मक विशेषणका लागि plu वा min को प्रयोग गरिन्छ भने अतिशयोक्तिका लागि la plu वा la min को प्रयोग गरिन्छ ।
वाक्यको सुरुवातमा esce को प्रयोग गरेमा सो वाक्य प्रश्न बन्छ । यसका अतिरिक्त cual (कुन, के), ci (को), do (कहाँ), cuando (कहिले) र perce (किन) जस्ता प्रश्नवाचक शब्दहरूको प्रयोग गर्न सकिन्छ ।[24] यी प्रश्नवाचक शब्दहरूलाई सापेक्ष उपवाक्यको परिचयमा पनि प्रयोग गर्न सकिन्छ । यिनीहरूको अतिरिक्त सापेक्ष उपवाक्यको परिचयमा si (यदि), ce (जुन, जो), car (किनभने) र afin (हुनाले) जस्ता शब्दका पनि प्रयोग गरिन्छ ।
एलेफेनका सम्बन्ध कारकअन्तर्गत a (मा, तर्फ), de (को, बाट, सम्बन्धी), ante (अगाडि, अघि) र pos (पछाडि, पछि) पर्छन् ।
एलेफेनका संयोजकअन्तर्गत e (र), o (अथवा) र ma (तर) पर्छन् ।
शब्दरचनाका लागि एलेफेनमा निश्चित प्रक्रियाहरूको प्रयोग गरिन्छ ।
नाम बनाउने तीन प्रत्यय -or, -ador र -eria हुन्, जसले क्रमशः काम गर्ने व्यक्ति, काम गर्न प्रयोग गरिने साधन र काम गर्ने ठाउँको अर्थ बुझाउँछ । यी प्रत्ययलाई जुन पनि नाम, विशेषण वा क्रियापदमा जोड्न सकिन्छ, जस्तै –
एलेफेनमा प्रयोग गरिने अर्को प्रत्यय -i हो जसलाई विशेषण वा केही नाममा जोड्यो भने प्रेरणार्थक अर्थ जनाउँछ । यसलाई साधनको नाममा जोडी प्रयोग गरेको अर्थमा प्रयोग समेत गर्न सकिन्छ, जस्तै –
एलेफेनमा कुनै पनि वस्तुको लघुतावाची अर्थ जनाउन -eta र बृहत् अर्थ जनाउन -on प्रत्ययहरूको प्रयोग गरिन्छ । यद्यपि, यी प्रत्ययलाई "सानो" वा "ठुलो" को पर्यायवाची शब्दको रूपमा प्रयोग गर्न मिल्दैन । उदहारणका लागि –
नामलाई विशेषणमा परिवर्तन गर्न तीनवटा प्रत्ययको प्रयोग गरिन्छ: -al जसले सम्बन्ध जनाउँछ, -in जसले समानता जनाउँछ र -osa जसले पूर्णता जनाउँछ, जस्तै –
एलेफेनमा -able (योग्य, सक्षम), -ism (वाद) र -iste (वादी) जस्ता प्रत्ययहरू पनि प्रयोग गरिन्छ ।
एलेफेनमा शब्दरचनाका लागि उपसर्गको पनि प्रयोग गरिन्छ । non- ले अभाव वा उल्टो अर्थ जनाउँछ, re- ले पुनः सुरुवात गरेको अर्थ जनाउँछ र des- ले पूर्ववत् गरेको अर्थ जनाउँछ, जस्तै –
एलेफेनमा pos- (पश्चात्), pre- (पूर्व), supra- (उच्च), su- (निच), media- (मध्ये), vis- (उप), inter- (अन्तर) र auto- (स्वतः) जस्ता उपसर्गहरू पनि प्रयोग गरिन्छ ।
क्रियापद र साधनको संयोजनले नामको रचना हुन्छ:
दुइटा नामलाई विरलै जोडिएपनि de वा अन्य सम्बन्ध कारकले सम्बद्ध गराइन्छ:
लिङ्ग्वा फ्राङ्का नोभामा मौलिक तथा अनुवादित साहित्यिक कृति तथा रचनाका कमी छैन । भाषाको आधिकारिक वेबसाइटमा निम्न अनुवादित कृतिहरू पठनका लागि सार्वजनिक रूपमा उपलब्ध छन्:[25]
सन् २०१० मा स्टेफान फिसान र बिट होर्नङद्वारा निर्माण गरिएको लिङ्ग्वा फ्राङ्का नोभाको झन्डालाई लिङ्ग्वा फ्राङ्का नोभा र एलेफेनिस्ट समूहको प्रतीक मानिन्छ ।[26]
एलेफेनको झन्डा तल्लो देब्रे भागदेखि सुरु भई माथिल्लो दाहिने भागसम्म विस्तार हुने निलो, हरियो, पहेँलो, सुन्तले र रातो गरी पाँच रङका पट्टीहरू छन् ।
उक्त झन्डाले सेसेल्सको झन्डासँग मेल खान्छ, जहाँ आधिकारिक भाषाको रूपमा सेसेलोइस क्रियोल बोलिन्छ तर झन्डामा शान्तिको प्रतीकको रूपमा इन्द्रेणीका रङको प्रयोग गरिन्छ । एलेफेनको झन्डा सूर्योदयमा आधारित छ ।
विगतमा एलेफेनको झन्डाका रूपमा अन्य विकल्पहरू पनि उपलब्ध थिए । बुरेद्वारा निर्मित पहिलो झन्डा, जसलाई उनले "पिजोन" ("pijon", अनुवाद: "ढुकुर") र "युरोपिजिन" ("europijin", अनुवाद: "युरोपेली पिजिन") शब्दका सन्दिग्धताको लाभ उठाई "युरोपिजोन" ("europijon") नाम दिएका थिए, पाब्लो पिकासोको चित्रमा आधारित थियो ।
Tota umanas es naseda como persones libre e egal en dinia e diretos. Los ave razona e consiensa e debe trata lunlotra con la spirito de fratia.
सबै व्यक्तिहरू जन्मजात स्वतन्त्र हुन् । ती सबैको समान अधिकार र महत्त्व छ । निजहरूमा विचारशक्ति र सद्विचार भएकाले निजहरूले आपस्तमा भ्रातृत्वको भावनासाथ व्यवहार गर्नुपर्छ ।
Nosa Padre, ci es en la sielo,
ta ce tua nom es santida,
ta ce tua rena veni,
ta ce tua vole aveni, sur la tera como en la sielo.
Dona oji nosa pan dial a nos,
e pardona nosa detas
como nos pardona nosa detores,
e no lasa nos cade en tenta,
ma libri nos de malia.
Amen.हे हाम्रा पिता, जो स्वर्गमा बस्नुहुन्छ,
तपाईँको नाम पवित्र होस्,
तपाईँको राज्य आओस्,
तपाईँको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै नै पृथ्वीमा पूरा होस् ।
हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्,
हाम्रा अपराध क्षमा गर्नुहोस्
जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ,
हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
तर दुष्टबाट छुट्ट्याउनुहोस् ।
आमिन ।— ईश्वरको प्रार्थना[28]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.