महात्मा गान्धी
भारतमा बेलायती शासनको विरुद्धको स्वतन्त्रता सङ्ग्रामका अग्रणी भारतीय राष्ट्रवादी नेता / From Wikipedia, the free encyclopedia
मोहनदास करमचन्द गान्धी (जन्म: २ अक्टोबर १८६९ - ३० जनवरी १९४८) भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक तथा आध्यात्मिक नेता थिए। उनी विश्वका महापुरूषहरू मध्ये गनिन्छन्। बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रङ्गभेद नीति अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको थियो। अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्रले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ। उनी सत्याग्रहका अग्रणी नेता थिए जसको अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ। उनलाई मानिसहरू महात्मा गान्धीको नामले चिन्दछन् जुन नाम उनलाई विश्वकवि साहित्यकार रवीन्द्रनाथ ठाकुरले दिएका थिए। जसको संस्कृत भाषामा महात्मा अथवा 'महान आत्मा' एक सम्मान सूचक शब्द हो। उनलाई सबैभन्दा पहिले रवीन्द्रनाथ ठाकुरले महात्मा भनि सम्वोधित गरेका थिए। महात्मा गान्धीलाई भारतमा बापू नामले पनि चिनिन्छ गुजराती भाषामा (બાપુ) बापू को अर्थ पिता हुन्छ। उनलाई सरकारी रूपमा भारतको राष्ट्रपिताको सम्मान दिइएको छ र २ अक्टोबरको दिन अथवा उनको जन्म दिनमा भारतमा बिदा दिइन्छ। यो दिन गान्धी जयन्तीको रूपमा मनाइन्छ र विश्वभरी यस दिनलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा मनाइन्छ। सन् १९१५ मा भारत फिर्तीपछि उनले किसानहरू, कृषि मजदुरहरू, सहरी श्रमिकहरूलाई अत्यधिक भूमिका र भेदभाव विरूद्ध आवाज उठाउन एकजुट गरेका थिए। सन् १९२१ मा भारतीय राष्ट्रिय काङ्ग्रेसको बागडोर सम्हालेपछि गान्धीले देशभर गरीबीबाट राहत दिलाउने, महिलाका अधिकारहरूको विस्तार, धार्मिक तथा जातीय एकताको निर्माण, आत्म-निर्भरताको लागि छूवाछूतको अन्त्य आदिको लागि धेरै आन्दोलन चलाएका थिए। गान्धीले बेलायत सरकारद्वारा भारतीयहरू माथि लगाइएको नुन करको विरोधमा सन् १९३० मा नुन सत्याग्रह र त्यसपछि सन् १९४२ मा भारत छोड आन्दोलन सुरुवात गरेर भारतीयहरूको नेतृत्व गरी लोकप्रियता प्राप्त गरेका थिए। उनले दक्षिण अफ्रिका र भारतमा विभिन्न समयमा कयौँ वर्षसम्म कारागारमा बस्नुपरेको थियो। गान्धीले सबै परिस्थितिहरूमा अहिंसा र सत्यको पालन गरे र सबैलाई यसको पालन गर्नको लागि उत्साहित पनि गरेका थिए। उनले साबरमती आश्रमको आत्म-निर्भरता आवासीय समुदायमा आफ्नो जीवनको धेरै समय व्यतित गर्दै परम्परागत भारतीय धोती र सूतीबाट बनेको गम्छा लगाए जसलाई उनी स्वयंले चर्खामा सूती काटेर हातैले बनाएका थिए।
मोहनदास करमचन्द गान्धी | |
---|---|
जन्म | २ अक्टोबर १८६९ पोरबन्दर, काठियावार,भारत[1] (हाल गुजरात, भारत) |
मृत्यु | ३० जनवरी १९४८ (७८ वर्षको आयुमा) नयाँ दिल्ली, भारत |
मृत्युको कारण | हत्या |
निवास | राजघाट, नयाँ दिल्ली, भारत |
राष्ट्रियता | भारतीय |
अन्य नाम | महात्मा गान्धी, बापु, गान्धीजी |
मातृ शिक्षाप्रतिष्ठान | युनिभर्सिटि कलेज लन्डन,[2] |
धर्म | हिन्दु |
जीवनसाथी | कस्तूरबा गान्धी |
सन्तान | हरिलाल मणिलाल रामदास देवदास |
मातापिता | पुतलीबाई गान्धी (आमा) करमचंद गान्धी (बुवा) |
हस्ताक्षर | |