पूर्वी रुकुम जिल्ला
From Wikipedia, the free encyclopedia
पूर्वी रुकुम जिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक हिमाली जिल्ला हो।[1] यो जिल्ला प्रदेशका बाह्र जिल्लाहरू मध्ये एक हो भने यस जिल्लाले धौलागिरि हिमालको पश्चिमी भागमा रहेको ढोरपाटन शिकार आरक्षको साठ्ठी प्रतिशत भन्दा बढी भाग ओगटेको छ।[2] ७,२४६ मिटरको उचाइमा रहेको धौलागिरि द्वितीय पर्वत शृङ्खलाको पश्चिम छेउमा अवस्थित यस जिल्लाको सबैभन्दा अग्लो हिमाल पुथा हिउँचुली (धौलागिरि सातौँ) हो भने पूर्वी रुकुम लुम्बिनी प्रदेश को एक मात्र हिमाली जिल्ला पनि हो।[3] पूर्वी रुकुम जिल्लालाई नेपाल सरकारले नेपालको उत्कृष्ट यात्रा गन्तव्यहरूमा सूचीकृत गरेको छ।
पूर्वी रुकुम जिल्ला | |
---|---|
![]() लुम्बिनी प्रदेशमा पूर्वी रुकुमको अवस्थिति | |
निर्देशाङ्क: २८.३७°N ८२.३७°E / 28.37; 82.37 | |
देश | ![]() |
प्रदेश | लुम्बिनी प्रदेश |
स्थापना | २०७२ |
सदरमुकाम | रुकुमकोट |
सरकार | |
• प्रकार | जिल्ला समन्वय समिति |
• अङ्ग | जिसस, पूर्वी रुकुम |
क्षेत्रफल | |
• जम्मा | ११६१.१३ किमी२ (४४८.३१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५३०१८ |
• घनत्व | ४६/किमी२ (१२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपाली समय) |
वेबसाइट | dccrukumeast |
यो जिल्ला ५२ वटा ताल र ५३ वटा डाँडाका लागि प्रसिद्ध छ। वि.सं. २०५२ देखि वि.सं. २०६२ सम्म पूर्वी रुकुम दश वर्षे माओवादी जनयुद्धको केन्द्र थियो। हिमाली भेग, धौलागिरि हिमशृङ्खला र समृद्ध खाम मगर संस्कृतिको अनुभव प्रदान गर्ने यस जिल्लामा माओवादी विद्रोहीको विगतको मार्ग पछ्याउँदै साहसिक पर्यटनको रुपमा पैदल यात्रा भ्रमणको विकास गरिएको छ।[4]
पूर्वी रुकुम जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोट हो।[5] जिल्ला सदरमुकाम रुकुमकोटबाट गोलखाडा, कोल, पुथा उत्तरगङ्गामा सरुवा गर्ने सरकारको निर्णय रहेको थियो। यद्यपि यो अहिलेसम्म अन्तिम टुङ्गो लागेको छैन। वि.सं. २०७८ वैशाख १९ मा, पुथा र उत्तरगङ्गालाई छुट्टाछुट्टै गाउँपालिका बनाउने प्रस्ताव गाउँ सभाबाट पारित भएको थियो।[6][7] पूर्वमा पूर्वी रुकुम जिल्ला रुकुम जिल्लाकै एक भाग थियो। वि.सं. २०७२ असोज ३ गते, राज्यले प्रशासनिक विभाजनको पुनर्निर्माण गरेपछि तात्कालिन रुकुम जिल्लालाई रुकुम पूर्व र रुकुम पश्चिममा विभाजन गरेको थियो।[8] प्राचीन र मध्यकालीन समयको खाम मगर संस्कृतिको स्वाधिनता र संरक्षणका विभिन्न तहलाई कायम राख्न सफल भए पनि राणा शासनका साथै पञ्चायतकालमा पनि यस क्षेत्रको संरचनामा फेरबदल भएको थियो। वि.सं २०३० साल भन्दा अगाडि, पूर्वी रुकुमको पर्याप्त भाग क्रमशः राणा शासनकालमा पाल्पा जिल्ला र क्रमशः शाह राजाहरूको अधीनमा राज्य पुनर्निर्माणको समयमा बाग्लुङ जिल्लासँग गाभिएको थियो।[9][10]