भीमदत्त नगरपालिका
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
भीमदत्त (पुरानो नाम: धुसुडी बजार[5] र महेन्द्रनगर[2]) नेपालको सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको सदरमुकाम[1] तथा एक नगरपालिका हो।[6] नेपालका तत्कालीन राजा महेन्द्रको सम्मानमा सहर र नगरपालिकाको नाम महेन्द्रनगर राखिएको थियो। नेपालमा लोकतन्त्र स्थापनापछि वि.सं. २०६५ कार्तिक २० गते नेपाल सरकारको निर्णय बमोजिम यस नगरपालिकाको नाम महेन्द्रनगरलाई परिवर्तन गरेर क्रान्तिकारी किसान नेता भीमदत्त पन्त[7]को सम्मानमा यसको नाम भीमदत्त नगरपालिका राखिएको थियो।[5][8]
भीमदत्त
धुसुडी बजार महेन्द्रनगर | |
---|---|
निर्देशाङ्क: २८°५५′उ॰ ८०°२०′पू॰ | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम |
जिल्ला | कञ्चनपुर |
सदरमुकाम | वि.सं. २०२३ पौष १८[1] |
नगर पञ्चायत | वि.सं. २०३४ फाल्गुन ९[2] |
समावेश गाउँ पञ्चायत | भुजेला, सिद्धनाथ र आदर्श (पूर्ण) तथा सुडा र ऐरी (धेरैजसो) |
सरकार | |
• नगरप्रमुख | पदम बोगटी (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | निलम जोशी (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १७१.८० किमी२ (६६.३३ वर्ग माइल) |
उन्नतांश | २२९ मिटर (७५१ फिट) |
जनसङ्ख्या | |
• जम्मा | १२२,३२० |
• घनत्व | ७१०/किमी२ (१८००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाकी सङ्केत | १०४०० |
क्षेत्रीय सङ्केत | +९७७-९९ |
वेबसाइट | नगरपालिका वेबसाइट |
यस नगरपालिकाको पूर्वमा बेदकोट नगरपालिका, उत्तरमा डडेल्धुरा जिल्ला, दक्षिणमा शुक्लाफाँट राष्ट्रिय निकुञ्ज र पश्चिममा भारतको उत्तराखण्ड राज्य रहेको छ। यो नगरपालिकाको पुरानो नाम महेन्द्रनगर थियो। यो नगर सुदूरपश्चिम नेपालको एक मुख्य पैठारीकर्ता तथा यातायातको केन्द्र हो। नेपालको पूर्वबाट आएको पूर्व पश्चिम राजमार्ग यसै ठाउँमा आएर अन्त हुने तथा पश्चिमका दुर्गम स्थानहरूका लागि सहज यातायात उपलब्ध भएकाले यो स्थान पश्चिमको एक प्रमुख वाणिज्य केन्द्र पनि हो।[9] जिल्ला सदरमुकाम समेत रहेकोले यस नगरपालिकाभित्र जिल्ला स्तरीय सरकारी कार्यालयहरू रहेका छन्।
नगर पञ्चायत ऐन २०१९ बमोजिम तत्कालीन सरकारले वि.सं. २०३४ साल फाल्गुन ९ गते तत्कालीन भुजेला, सिद्धनाथ र आदर्श गाँउ पञ्चायतका सम्पुर्ण भू-भाग तथा सुडा र ऐरी गाउँ पञ्चायतको आंशिक भू-भाग मिलाएर सो समयमा 'महेन्द्रनगर नगर पञ्चायत' गठन गरेको थियो। यो नगर कञ्चनपुर जिल्लाकै पहिलो नगरपालिका समेत हो। जनसङ्ख्याको आधारमा यो नेपालको २८औँ ठूलो सहर हो। यो नगरपालिकाको ५ किलोमिटर (३.१ माइल) पूर्वमा भारतीय सीमाना रहेको छ भने देशको राजधानी काठमाडौँबाट यो ७०० किलोमिटर (४३० माइल) पश्चिममा रहेको छ।[10]
नेपाल अधिराज्यको तत्कालीन राजा महेन्द्र शाहको नाममा यो नगर क्षेत्रको नाम महेन्द्रनगर राखिएको हो। देशमा आएको राजनीतिक परिवर्तन र गणतन्त्र स्थापनापछि यसको नाम परिवर्तन गरेर भीमदत्त राखिएको हो।[11] नेपालका सहिद तथा क्रान्तिकारी किसान नेता भीमदत्त पन्तको सम्मानमा यसको नाम भीमदत्त नगरपालिका राखिएको थियो।[7]
वि.सं. २०१९ मङ्सिर ५ गते तत्कालिन श्री ५ को सरकारको निर्णय र वि.सं. २०१९ पौष २ गते नेपाल गजेटमा प्रकाशित सूचना अनुसार नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरेपछि कञ्चनपुर जिल्ला बनेपछि सर्वप्रथम यसको सदरमुकाम वर्तमान श्रीपुर गाउँ विकास समितिको बेलौरी बजारमा रहेको थियो।[12] वि.सं. २०२३ कार्तिक २३ गते तत्कालिन श्री ५ को सरकारको निर्णय र वि.सं. २०२३ पौष १८ गते नेपाल गजेटमा प्रकाशित सूचना अनुसार जिल्ला सदरमुकामहरू विवादास्पद देखिएकोले कञ्चनपुरको सदरमुकाम तत्कालिन महेन्द्रनगर सारिएको थियो।[1]
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भीमदत्त नगरपालिकाको कुल जनसङ्ख्या १,२२,३२० रहेको छ भने यहाँ २७,५७० घरधुरी रहेका छन्।[4]
यो नगरपालिका २८°५२' देखि २९°०८' उत्तरी अक्षांश र ८०°०६' देखि ८०°१५.५' पूर्व देशान्तरमा अवस्थित रहेको छ। यो नगर क्षेत्र समुद्र सतहबाट १०० मिटर देखि १००० मिटरसम्मको उचाइमा रहेको छ। यस नगरपालिकाको जम्मा क्षेत्रफल १७१.८० वर्ग किलोमिटर रहेको छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.