From Wikipedia, the free encyclopedia
चाणक्य वा कौटिल्य (वा कौटल्य) (लगभग इसा पूर्व ३७०–२८३)[२] तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए। उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए। उनी राजनीति र कूटनीतिका ज्ञाता थिए। उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए। अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ। मुद्राराक्षसको अनुसार चाणक्यको वास्तविक नाम विष्णुगुप्त थियो। विष्णुपुराण, भागवत आदि पुराणहरू तथा कथासरित्सागर आदि संस्कृत ग्रन्थहरूमा त चाणक्यको नाम आएकै छ सँगै बौद्ध ग्रन्थहरूमा समेत चाणक्यको कथा भेटिने गरेको छ। बुद्धघोषद्वारा बनाइएको विनयपिटकको टीका तथा महानाम स्थविर रचित महावंशको टीकामा चाणक्यको वृत्तान्त दिइएको छ। चाणक्य तक्षशिला (वर्तमान समयमा पाकिस्तानको रावलपिण्डी नजिक) का निवासी थिए। वहाँको जीवनका घटनाहरूको विशेष सम्बन्ध मौर्य चन्द्रगुप्तको राज्यप्राप्तिसँग रहेको छ। वहाँ त्यससमयका एक प्रसिद्ध विद्वान थिए। वहाँको जीवन निकै सरल थियो भन्ने गरिन्छ वहाँ राजसी ठाट-बाट भन्दा टाढा एक सानो कुटिमा रहन्थे।
चाणक्य | |
---|---|
जन्म | अ. इसा पूर्व ३७० नखुलेको, सम्भवत पाटलिपुत्र, तक्षशिला वा दक्षिण भारत |
मृत्यु | अ. इसा पूर्व २८३ पाटलिपुत्र |
वासस्थान | पाटलिपुत्र |
अन्य नाम | कौटिल्य, विष्णुगुप्त |
मातृ शिक्षाप्रतिष्ठान | तक्षशिला |
पेशा | महान सम्राट चन्द्रगुप्त मौर्यका शिक्षक तथा सल्लाहकार |
चिनारीको कारण | मौर्य साम्राज्यको स्थापना |
उल्लेखनीय कार्य | अर्थशास्त्र (विद्वानहरूविच द्वन्द), चाणक्य नीति |
धर्म | जैन[१] |
पाटलीपुत्र, मगधमा जन्मेका उनी तक्षशीला गुरुकुलबाट दीक्षित भए र त्यहाँका आचार्य भएका थिए[३]। पछि उनले चन्द्रगुप्तलाई मगधको राजा बनाएर शक्तिशाली बनाए । किम्बदन्ती अनुसार जीवनको उत्तरार्धमा चाणक्य वानप्रस्थ गए र निराहार रहेर मृत्युवरण गरे [४]। जैन लेखक हेमचन्द्रका अनुसार चाणक्यको मृत्यु चन्द्रगुप्तका छोरा बिन्दुसार राजा भएका बेला, तत्कालीन मन्त्री सुबन्धुको षड्यन्त्रबाट गराइएको थियो । चाणक्यलाई मन नपराउने सुबन्धुले बिन्दुसारलाई उनकी आमाको हत्याको जिम्मेवार चाणक्य भएको बताएका थिए । राजाको क्रोधबारे थाहा पाएका बुढा चाणक्यले त्यसपछि प्राण त्याग्ने अठोट गरे र जैन परम्परा अनुसार मृत्युपर्यन्त निराहार रहे । मृत्यु हुनु अघि राजाले सुबन्धुको षड्यन्त्र र आमाको हत्यामा चाणक्यको जिम्मेवारी नरहेको थाहा त पाए, तर मन्त्रीले राजाको आदेश बिपरित चाणक्यको आत्मदाह गराईदिए[५]।चाणक्य ब्राह्मण परिवारका थिए । तर उनले कुन धर्म मान्दथे यस विषयमा विद्वानहरू एक मत छैनन् , चन्द्रगुप्त मौर्यले जीवनको अन्तिम समयमा जैन धर्म अपनाएको भनिए तापनि उसको दरबारमा बौद्ध र हिन्दू दुवै धर्मको प्रतिनिधित्व थियो ।
चाणक्यले आफ्नो अर्थशास्त्र ग्रन्थमा सङ्घहरूमा युवाहरूलाई भिक्षु बनाउनेहरूलाई कडा कारवाही गर्ने कुरा उल्लेख गरेकोले उनी बौद्ध थिएनन् भन्ने स्पष्ट हुन्छ तर कौटिल्यले जसलाई गुरु भनेर सम्मान व्यक्त गरेका छन् तिनीहरू बृहस्पति र शुक्र हुन् । जसमा बृहस्पतिको एक नाम चार्वाक (नास्तिक) पनि हो । त्यसै गरी शुक्र जीवनको अन्तिममा देवताहरूसँग रुष्ट थिए । कसै कसैले कौटिल्य त्यस समयको एक सम्प्रपदाय आजीवक मत अनुयायी थिए भनेका छन् । केपी जायसवालले हिन्दु पोलिटीमा यस मतको समर्थन गरेका छन् ।[६]
कौटिलीय अर्थशास्त्रका रचनाकारलाई कौटिल्य, कौटल्य जस्ता नामले सम्बोधित गरिन्छ । यी दुवैमा कौटिल्य बढी प्रचलित छ । कौटिलीय अर्थशास्त्रका उद्धारक श्यामशास्त्रीले कौटिल्य शब्द उल्लेख गरेका छन् तर महामहोपाध्याय गणपत शास्त्री जसले कौटिलीय अर्थशास्त्रको संंशोधन, पुनर्व्याख्या र श्रीमूल संस्कृत व्याख्या प्रस्तुत गरेका छन् उनले स्पष्ट शब्दमा के उल्लेख गरेका छन् मध्य इकार युक्त शब्द कौटिल्य अशुद्ध हो र अकार युक्त शब्द कौटल्य शब्द शुद्ध हो ।[७] कामन्दकले आचार्यको परिचय यस प्रकार उल्लेख गरेका छन्– विष्णुगुप्त नाम, कुटल गोत्र नाम तथा चणकको पुत्र भएकोले चाणक्य ।[८] आस्पेक्ट्स अफ एन्शेन्ट पुस्तकमा पहिलो पटक कौटिल्य, शुक्र आदिका आर्थिक विचारलई प्रस्तुत गर्ने केभिएस आइयङ्गरले पनि स्पष्ट शब्दमा कौटल्य शब्द शुद्ध भएको कुरा उल्लेख गरेका छन् ।[९][१०] गणपति शास्त्री, राजेश्वर शास्त्री द्राविड[११], आइयङ्गरको मतलाई मर्थन गर्दै नयराज पन्तले पनि कौटल्य शब्दलाई सही ठान्दछन् ।[१२][१३] इतिहासकार दिनेशराज पन्तले पनि यसै मतलाई अनुमोदन गरेका छन् । तर अहिले कौटिल्य शब्द नै बढी प्रचलित भइसकेको छ ।[१४]
चाणक्यले तक्षशिला विश्वविद्यालयमा वेदहरूको गहन अध्ययन गरे । विश्वको सबैभन्दा पुराना विश्वविद्यालय, तक्षशिला र नालन्दा भारतीय उपमहाद्वीपमा थिए, ५०० देखि ४०० वर्ष इसा पूर्व अघि तक्षशिला एक सुस्थापित शिक्षण संस्थान थियो । पाणिनीले संस्कृत व्याकरणको रचना यसै स्थानमा गरेका थिए । चाणक्य पनि त्यस पछि यहाँ नीतिशास्त्रको व्याख्याता भए र उनी व्यवहारिक उदाहरणहरू देखि पढाउथे । युनानी मानिसहरूले तक्षशिलामा लडाई गरेका कारणले त्यहाँ एक राजनीतिक उथल-पुथल मच्चियो र चाणक्यलाई मगधमा आएर बस्नु पर्यो । उनलाई नि:सन्देह एक राजाको निर्माताको रूपमा हेर्ने र मान्ने गरिन्छ । चन्द्रगुप्त मौर्य विशेष रूपले उनको सल्लाह मान्थे । शत्रुहरूको कमजोरीलाई चिनेर उसलाई आफ्नो काममा लाउने विशिष्ट प्रतिभाको भएका चाणक्य सधैँ आफ्नो शत्रुहरू माथि हावी रहे ।
चन्द्रगुप्त मौर्य राजा भएपछि एक विशाल र बलियो साम्राज्य स्थापना भयो जसको राजधानी पाटलिपुत्र थियो । यस राज्यको सीमा पूर्वमा आसामदेखि, पश्चिममा अफगानिस्तानसम्म र उत्तरमा कश्मीरदेखि दक्षिणमा कलिंग (वर्तमान तमिलनाडु) सम्म फैलिएको थियो । यस राज्य विस्तारलाई छोरा बिन्दुसार र इतिहास प्रसिद्ध मौर्य शासक र चन्द्रगुप्तका नाति सम्राट अशोकले निरन्तरता दिएका हुन् । तर अशोकका सन्तानहरूले यस राज्यलाई निरन्तरता दिन सकेनन् । उनीहरू विभाजित भएपछि यो विशाल साम्राज्य पनि विभाजित भयो । यो विशाल साम्राज्य ३२१ इसा पूर्वमा स्थापना भएको थियो । लगातार तीन पुस्ता १८० इसा पूर्वसम्म निष्कण्टक सञ्चालित रहेको यो विशाल साम्राज्य कौटिलीय अर्थशास्त्रका नीतिहरूको जगमा स्थापित भएको थियो ।
चन्द्रगुप्तको बलियो साम्राज्य र सैनिक शक्तिले विश्वविजय गर्न निस्केको एलेक्जेन्डरको शक्तिशाली सेनाको प्रभाव नियन्त्रण गरी राज्य विस्तार रोक्न सफल भएको थियो । एलेक्जेन्डरको उत्तराधिकारी सेल्युकसलाई चन्द्रगुप्तले पराजित नगरेको भए भारतीय महाद्वीपको वर्तमान सांस्कृतिक स्वरुप आजको जस्तो हुदैनथ्यो भन्ने इतिहासकारहरूको भनाई रहेको छ । तीव्र वैदेशिक आक्रमणहरूलाई सजिलै परास्त गर्नुमा उसको सुदृढ राज्यव्यवस्था नै थियो भन्ने कुरामा सबै इतिहासकारहरू एक मत छन् । भारत विजय गर्न नसकेका सेल्युकसले एलेक्जेन्डरका दूतको रूपमा मेगास्थनीजलाई चन्द्रगुप्त मौर्यको दरबार पाटलीपुत्र (वर्तमान पटना) मा राखेको थिए । मेगास्थनीजका वृत्तान्तहरूमा चन्द्रगुप्तका राज्यको वर्णन पाइन्छ । यसका अतिरिक्त एरियन र कोर्टियस जस्ता विद्वान्हरूले पनि प्राचीन प्रजातान्त्रिक व्यवस्थाहरूको वर्णन गरेका छन् ।[१५] मङ्गोलियाको सम्राट चङ्गेज खाले मंगोलियन संस्कृतिलाई युरोपको संस्कृतिसँग जोड्न योगदान गरेका थिए भने चन्द्रगुप्तले गङ्गा-जमुना नदीका मैदानको वैदिक सभ्यतालाई सिन्धु घाटीको सभ्यतासँग जोडेर विशेष सामाजिक सांस्कृतिक योगदान गरेका छन् । यसरी गान्धारसम्म फैलिएको ग्रीक साम्राज्यसँग सम्बन्ध राख्ने पहिलो कूटनीतिज्ञ कौटल्य थिए ।
उनले तीन पुस्तकहरूको रचना गरे- अर्थशास्त्र, नीतिशास्त्र तथा चाणक्य नीति[१६] । अर्थशास्त्र ग्रन्थका रचयितालाई कौटल्य कौटिल्य, विष्णुगुप्त, चाणक्य आदि विभिन्न नामले उल्लेख गरिएको पाइन्छ । तर स्वयं रचनाकारले आफ्नो नाम विष्णुगुप्त बताएका छन् । आचार्यको जीवनीकारहरूका अनुसार, नन्दबाट अपमानित भएका र नन्द वंश समाप्त पार्ने शपथ लिएका आचार्य विष्णुगुप्तले चन्द्रगुप्त मौर्यलाई शिष्य बनाई एउटा सङ्गठन खडा गरे । आफूले यो महान कार्य गरेको उल्लेख उनले यसरी गरेका छन्–
{{Quote|text=येन शास्त्रं च शस्त्रं च नन्द राजगता च भूः।
अमर्षेणेद्धृत्यांन्याशु तेन शास्त्रमिदं कृतम् ।
दृष्ट्वा विप्रतिपत्तिं बहुधा शास्त्रेषु भाष्यकारणाम् ।
स्वयमेवविष्णुगुप्तश्चकार सूत्रं च भाष्यं च ।।(जसले असह्य भएर शस्त्र, शास्त्र र नन्दको हातमा परेको भूमि (राज्य व्यवस्था) उद्धार गर्यो, उही चाणक्य विष्णुगुप्तद्वारा विभिन्न शास्त्रहरूका मतभेदहरू अध्ययन गरेर यो शास्त्र रचना गरिएको हो ।)[१७]
चन्द्रगुप्त मौर्य राजा भएपछि एक विशाल र बलियो साम्राज्य स्थापना भयो जसको राजधानी पाटलिपुत्र थियो । यस राज्य विस्तारलाई छोरा बिन्दुसार र नाति सम्राट अशोकले निरन्तरता दिएका हुन् । लगातार तीन पुस्ता (३००–१८० इसा पूर्व) सम्म निष्कण्टक सञ्चालित रहेको यो विशाल साम्राज्य कौटिलीय अर्थशास्त्रका नीतिहरूको जगमा स्थापित भएको थियो भन्नुमा अत्युक्ति हुने छैन । यद्यपि अटोस्टीन जोली, विन्टरविट्ज, कीथ आदि केही विद्वानहरूले यसको प्राचीनतामा शङ्का गर्दै कौटिल्य तथा अर्थशास्त्र दुवै वास्तवि होइनन् र कुनै काल्पनिक रचनाकारले पाँचौ शताब्दीमा रचना गरेको बताउँछन् । तर केपी जायसवाल, रुद्रपत्तनम श्यामशास्त्री, गणपति शास्त्री, फ्लीट, स्मिथ, र अमर्त्य सेन, सोमनाथ शर्मा, नयराज पन्त आदि विचारकहरूले प्रमाणपूर्वक के भनेका छन् भने कौटिल्यको अस्तित्व थियो त्यसैले आलोचकहरूका तर्कहरू महत्त्वहीन छन् । त्यसैले आधुनिक समयमा विद्वान्हरूले कौटिल्यको ऐतिहासिकता असंदिग्ध मान्दछन् ।[१८]
दक्षिण भारतको एक ब्राह्मणले वि.सं. १९५९ मा भट्टस्वामीका टीका सहितको एक हस्तलिखित ग्रन्थ मैसूर राज्यको ओरिएन्टल लाईब्रेरीका अध्यक्ष श्याम शास्त्रीलाई बुझाएको थियो । जसले मैसूरका राजा बोडियारको सहयोगले यसको शुद्धता साथ सम्पादन, अङ्ग्रेजी अनुवाद र प्रकाशन गरे । यस पछि गणपतिशास्त्री, काङ्ले, गैरोला, रङ्गराजनले पुनः सम्पादन, अनुवाद र विश्लेषण गरे । वि.सं. १९८० र १९८६ मा दोस्रो र तेस्रो संस्करण पनि प्रकाशित भयो । महामहोपाध्याय टी गणपतशास्त्रीले कौटिलीय अर्थशास्त्रको ग्रन्थ खोजी गरेर वि.सं. १९८१ मा यसको मूल सहित संस्कृतमा विस्तृत व्याख्या सहित प्रकाशित गरे । प्राचीन संस्कृत टीकाहरूमा राजशेखर शास्त्री द्राविडको वैदिक सिद्धान्त संरक्षिणी, शंकरार्यको जयमंगला, योग्घमाचार्यको नीति निर्णिति, माधवयज्वमिश्रको नयचन्द्रिका, प्रभवमतिको चाणक्य टीका र भट्टस्वामीको प्रतिपाद्पञ्जिका रहेका छन् । वि.सं. २०१६ मा काल्यानोवले रुसी भाषामा यसको अनुवाद गरे । गङ्गाप्रसाद शास्त्रीले वि.सं. १९९७ मा यसको हिन्दी अनुवाद प्रस्तुत गरे । बङ्गाली, गुजराती, तमिल, तेलुगु आदि भाषाहरूमा यसका अनुवादहरू प्रकाशित भए । जर्मन, इटालियन र अन्य युरोपेली भाषामा कौटिलीय अर्थशास्त्रको अनुवाद प्रकाशित भयो । यसरी लगभग दुई हजार वर्ष अघि रचना गरी बीचमा हराएको एक महत्त्वपूर्ण ग्रन्थ सार्वजनिक जानकारीमा आयो । यी अनुवादहरूले प्राचीन हिन्दु संस्कृतिमा अर्थशास्त्र, राजनीतिशास्त्र, कूटनीति, युद्धकला र सैन्य सञ्चालनका क्षेत्रमा गरिएको मौलिक, व्यावहारिक र वस्तुगत चिन्तनबारे विश्वलाई जानकारी भयो । कौटिलीय अर्थशास्त्रको पहिलो पूर्ण नेपाली अनुवाद भने वि.सं. २०२४ सालमा नेप्रप्र (नेराप्रप्र)बाट प्रकाशित भएको हो । यसमा लगभग ९०० पृष्ठ छन् । यसका अनुवादक केशवराज अर्याल र सम्पादक सोमनाथ शर्मा हुन् । यसको प्रशंसा बालकृष्ण समले पनि गरेका छन् ।[१७] कौटिलीय अर्थशास्त्र १५ खण्डमा विभाजित छ । जसलाई अधिकरण नाम दिइएको छ । अधिकरणहरू अनेक अध्याय र प्रकरणमा विभाजित छन् । यस ग्रन्थको विषय वस्तु संक्षेपमा यस प्रकार छन्:
अधिकरण एक र अधिकरण १५ ग्रन्थको विषय वस्तु परिचय र शोध विधिसँग सम्बन्धित छ । अधिकरण एकका तीन अध्यायहरूमा ग्रन्थको सम्पूर्ण विषय वस्तुको क्रम तथा आन्वीक्षिकी, त्रयी, वार्ता र दण्डनीति विषयको निरुपण गरिएको छ । पन्ध्रौ“ अधिकरणमा अर्थशास्त्रको परिभाषा यस प्रकार गरिएको छ :- मनुष्याणां वृत्तिरर्थः। मनुष्यवती भूमिरित्यर्थः । तस्याः लाभपालनोपायः शास्त्रमर्थशास्त्रमिति ।
अर्थ– मानिसहरूको वृत्ति–जीविकालाई अर्थ भनिन्छ । मानिसहरू भएको भूमि पनि अर्थ हो । यस्तो वृत्तिको आधार भूमिलाई प्राप्त गर्ने र त्यसको पालनका उपायहरू निरुपण गर्ने शास्त्र नै अर्थशास्त्र हो । यस परिभाषाका मुख्य विशेषताहरू यस प्रकार छन् :-
त्यसबेला प्राकृतिक र सामाजिक विज्ञानहरूमा गरिने अनुसन्धान विधिको परिचय यस अधिकरणबाट प्राप्त हुन्छ । सोही क्रममा अर्थशास्त्र ग्रन्थ रचना गर्ने क्रममा प्रयोग गरिएको ३२ युक्तिहरू उदाहरणसहित प्रस्तुत गरिएको छ । जसले यस ग्रन्थलाई शोध ग्रन्थको स्वरुप प्रदान गर्छ ।
प्रथम अधिकरणको अध्याय ४ देखि अध्याय २० सम्मका अध्यायहरूमा राजकाजको दृष्टिले शासकका व्यवहार र कर्तव्य, मन्त्री, पुरोहित, राजकीय पदाधिकारी, राजदूत र गुप्तचर नियुक्ति सम्बन्धी विषयको विवरण दिइएको छ । अधिकरण दुईको सुरुका चारवटा अध्यायमा जनपदहरूको स्थापना, किल्ला निर्माण, राजकीय पदाधिकारीका चालचलनको परीक्षा र अध्याय ६ देखि ३५ सम्मका अध्यायहरूमा राजकीय कोष, सेना, कृषि, उद्योग आदिका प्रमुख अधिकारीहरूको काम र कर्तव्यका बारेमा उल्लेख छ । अध्याय ३६ मा नागरिकको कर्तव्य उल्लेख छ । अधिकरण पा“चका छवटा अध्यायहरूमा सुगठित र अनुशासित आन्तरिक प्रशासन सम्बन्धी विषयहरूको वर्णन छ । यो अधिकरण असजिलो समयमा राजकीय प्रशासन र निर्णय दृष्टिले महत्त्पूर्ण छ । अधिकरण छ र आठमा राज्यका प्रकृतिहरूलाई आदर्श बनाउने विधिहरू वर्णित छन् । अधिकरण सात, नौ, १०, ११, १२, १३, र चौधमा वैदेशिक सम्बन्ध, शत्रु र मित्र राष्ट्रसँगको कूटनैतिक व्यवहारबारे वर्णन छ ।
पहिलो अधिकरणको अध्याय २ र ३, दोस्रो अधिकरणका सबै अध्याय, अधिकरण तीनको अध्याय १० देखि १४, अधिकरण चारको अध्याय १ र २ तथा अधिकरण पा“चको अध्याय २ र ३ को विवरणले के स्पष्ट गर्छ भने राजकीय अर्थव्यवस्था विषयमा प्राचीन कालमा उत्कृष्ट लेखन कार्य उपलब्ध थियो । कृषि, पशुपालन, वाणिज्य, राजकीय वित्त, राजकीय र निजी उद्यम व्यवस्था, आर्थिक प्रशासन इत्यादि अनेक आर्थिक क्षेत्रको विस्तृत र वैज्ञानिक विश्लेषण यी अध्यायहरूमा गरिएको छ । अधिकरण दुईमा राज्यका ३६ विभागीय प्रमुखको काम र कर्तव्यको बारेमा उल्लेख छ । यस अधिकरणमा आन्तरिक र वैदेशिक व्यापारका साथै भूमि व्यवस्था, पूँजी लगानी इत्यादिद्वारा राष्ट्रिय आयमा वृद्धि गर्ने विषय उल्लेख छ । कर सङ्कलन गर्ने शौल्किक, कर विभाग प्रमुख तथा करारोपणका नियमको बारेमा सूक्ष्म विवरण दिइएको छ । बढी कोषको आवश्यकता पर्दा लिनु पर्ने राजकीय निर्णयहरूको बारेमा अधिकरण पांचमा बताइएको छ । राजकीय कोष लेखाङ्कनका विधि, फाइलिंग प्रणाली र नियमहरूका बारेमा अक्षपटलाध्यक्ष अध्यायमा विवरण दिइएको छ । अधिकरण तीनमा ज्याला, ब्याज र नाफाका सैद्धान्तिक र कानुनी समाधानहरू प्रस्तुत गरिएको छ । अधिकरण पांचमा राजकीय कर्मचारीहरूको ज्याला निर्धारणका नियमहरू बनाइएको छ ।
सामाजिक कल्याणका लागि कौटिलीय अर्थशास्त्रमा शान्ति सुरक्षालाई सर्वाधिक महत्त्ववपूर्ण बताइएको छ । अधिकरण तीन, चार र पांचमा आन्तरिक सुरक्षाका लागि स्थानीय निकाय, सेना, रक्षक, र गुप्तचर निकायहरूको व्यवस्था गरिएको छ । धर्मस्थीय अधिकरणमा धर्मशास्त्रमा आधारित विधि संहिताको विवरण दिइएको छ । कण्टकशोधन अधिकरणमा नाफामुखी व्यापारी, अशान्ति मच्चाउने अपराधी, प्रजापीडक कर्मचारी आदि समाजलाई कण्टक तत्वहरूलाई दण्डित गरी तह लगाउने नियमहरूको वर्णन छ । यी दुवै अध्यायमा प्रजाको कल्याणका उपायहरू स्पष्ट शब्दमा व्याख्या गरिएको छ । अधिकरण सातमा परराष्ट्र सम्बन्धमा राज्यले पालन गर्नु पर्ने नियम बताइएको छ । अधिकरण आठमा सबै प्रकारका राजकीय संकट र तिनीहरूलाई नियन्त्रण गर्ने उपाय वर्णित छन् । अधिकरण नौ र दसमा युद्ध अभियानको तैयारी र युद्ध सञ्चालन गर्दा पालन गर्नु पर्ने नियम, व्यूह रचना, शत्रुमाथि आक्रमण आदिको विवरण छ । अधिकरण ११ मा सङ्घराज्यहरूमा फूट पार्ने तथा आफ्नो केन्द्रीय राज्यमा मिलाउने विधिहरूको प्रतिपादन गरिएको छ । अधिकरण १२ दुर्बल राज्यले बलिया राज्यसँग गर्नु पर्ने कूटनैतिक व्यवहार र सावधानीको वर्णन छ । अधिकरण १३ मा शत्रुको दुर्ग जितेपछि कब्जा गर्ने र त्यसमा आधिपत्य कायम गर्ने विधिहरूको वर्णन गरिएको छ । अधिकरण १४ मा शत्रु माथि प्रयोग गरिने विष, टुना मुना र मन्त्रहरूको प्रयोग विधि बताइएको छ । जुनसुकै अधिकरण, अध्याय र प्रकरणमा प्रजा कल्याणलाई सर्वाधिक महत्त्व दिइएको छ ।[१९][२०][२१]
अटोस्टीन जोली, विन्टरविट्ज, कीथ आदि युरोपियन विद्वान्हरूले कौटल्य र अर्थशास्त्र दुवै वास्तविक होइनन् र कुनै काल्पनिक रचनाकारले पाँचौ शताब्दीमा रचना गरेको बताउ“छन् । उनीहरूले यसको प्राचीनतामा शंका उठाएका छन् । के.सी. ओझाले एक अर्कै तर्क प्रस्तुत गरेका छन् । उनका अनुसार विष्णुगुप्तले कौटिलीय अर्थशास्त्र ग्रन्थको सम्पादन गरेकोले कौटल्य तथा विष्णुगुप्त एकै व्यक्ति हुन् भन्ने भ्रम उत्पन्न भएको छ र वास्तवममा कौटल्य र विष्णुगुप्त दुइ फरक व्यक्तिहरू हुन् ।
तर विभिन्न अनुसन्धानबाट कौटिलीय अर्थशास्त्र एक प्रामाणिक र प्राचीनतम ग्रन्थ हो भन्ने सिद्ध भएको छ । के पी जायसवाल, रुद्रपत्तनम् श्यामशास्त्री, गणपति शास्त्री, फ्लीट, स्मिथ, र अमत्र्य सेन आदि विचारकहरूले आलोचकहरूको मत खण्डन गर्दै निश्चयपूर्वक के भनेका छन् भने कौटल्यको अस्तित्व थियो त्यसैले आलोचकहरूले अघि सारेका तर्कहरू महत्त्वहीन छन् । तर उनीहरूले के कुरा स्वीकार गर्दछन् भने शयौ“ वर्षको अन्तरालमा कौटिलीय अर्थशास्त्रको मूल पुस्तकमा पछिका आचार्यहरूले केही सामग्री थपेका हुन सक्छन् । त्यसै गरी मूल ग्रन्थको केही सामग्री लोप भएको हुनसक्छ । कौटिलीय अर्थशास्त्रका अनेक आलोचकहरू पनि छन् । कादम्बरीका रचयिता बाणभट्ट (वि.सं.७५७) ले नृशंस कार्यलाई उचित बताउने कौटिलीय अर्थशास्त्रलाई उत्कृष्ट भन्ने चिन्तकहरूले ग्रन्थको मूल्याङ्कन गर्न नजानेको बताएका छन् ।[६]
कालिदासका ग्रन्थ, भर्तृहरि नीतिशतक, कामन्दकीय नीतिसार, सुबन्धुको वासवदत्त, विशाखदत्तको मुद्रा राक्षस, विष्णुशर्माको पञ्चतन्त्र, शूद्रकको मृच्छकटिकम्, दण्डीको दशकुमार चरित आदि नाटक र कथाहरूमा कौटिलीय अर्थशास्त्रको प्रशंसा गरिएको छ ।[२२] चीनिया यात्रु फाहियानले विष्णुगुप्त चाणक्यको प्रशंसा गर्दै भनेका छन्, चाणक्यले मुराका पुत्रलाई भारतवर्षको सम्राट बनाउन सफल भए ।
चाणक्य नीतिको प्रचलन नेपालमा मल्ल कालमा भएका प्रमाणहरू पाइन्छन् । चाणक्य नीतिका प्रशस्त हस्तलिखित प्रतिहरू पुरातत्व विभागमा संरक्षित छन् ।राजा हरिसिंहदेवका मन्त्री आचार्य चण्डेश्वरले आफ्नो ग्रन्थ राजनीतिरत्नाकरमा आचार्य चाणक्यलाई समुचित सम्मान दिएका छन् । कौटिलीय अर्थशास्त्र र कामन्दकका आर्थिक विचारलाई राज्य सञ्चालनका लागि सहयोगी हुने बताइएको छ । उनको समय चौधौँ शताब्दी मानिएको छ ।[२३] उपलब्ध तथ्य अनुसार, आधुनिक समयमा कौटिलीय अर्थशास्त्रको यस अनुपम ग्रन्थको बारेमा नेपालमा वि.सं. २००९ पछि मात्र चर्चा हुन थालेको हो ।[२४] कौटिलीय अर्थशास्त्रको पहिलो पूर्ण नेपाली अनुवाद वि.सं. २०२४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भयो । यसमा लगभग ९०० पृष्ठ छन् । यसका अनुवादक केशवराज अर्याल र सम्पादक सोमनाथ शर्मा हुन् ।[२५][२६] कौटिलीय अर्थशास्त्र बारे लेखिएका केही सन्दर्भको सूची निम्नलिखित छ
कौटिल्यबारे उपलब्ध ऐतिहासिक तथ्यले के स्पष्ट हुन्छ भने उनी प्लेटो र एरिस्टोटल जस्तै राजधर्मका प्रणेता, एडम स्मिथ जस्तै आर्थिक दर्शनका प्रतिपादक, तथा मार्क्स जस्तै सामाजिक दर्शनकार पनि हुन् । आचार्य विष्णु गुप्त चाणक्य वा कौटल्यको नाम श्रीमदभागवत, विष्णु पुराण, कामन्दक नीतिसार, पञ्चतन्त्र, कादम्बरी, दशकुमार चरित्र आदि कैयौँ संस्कृत ग्रन्थहरूमा सम्मान साथ उल्लेख गरिएको छ । केवल संस्कृत साहित्यमा मात्र होइन अपितु बौद्ध र जैन ग्रन्थहरूमा पनि आचार्यको उल्लेख पाइन्छ । प्राचीन पुस्तकहरूमा जुन रूपमा आचार्य विष्णुगुप्त चाणक्य वा कौटल्यको स्मृति सुरक्षित राखिएको छ । त्यो यस कुराको प्रमाण हो कि आचार्यको राजनीतिक कार्य र विद्वताको स्मृति विगतमा धेरै समयसम्म कायम रहेको थियो । [२७] उनी तक्षशिला विश्वविद्यालयमा अर्थशास्त्रका प्रमुख आचार्य मात्र होइनन् उनी आर्य संस्कृतिको रक्षा गर्न तथा शस्त्र एवम् शास्त्र दुवैको उद्घार गर्न एक सैनिक र एक सेनापति जस्तै कैयांै पटक जीवन जोखिममा हालेर काम गर्ने एक कार्यकर्ता पनि हुन् । आफूले प्रतिपादन गरेका सिद्घान्तको उनले सफल प्रयोग पनि गरेका थिए त्यसैले कौटिलीय अर्थशास्त्र एक व्यावहारिक विज्ञान एवं संपरीक्षण गरेको शास्त्र पनि हो । [२८] जसको व्यावहारिक सफलताको ऐतिहासिक प्रमाण चन्द्रगुप्त मौर्यदेखि सम्राट अशोकका सन्तानहरू सम्मको लगभग १५० वर्षको सुदृढ अर्थप्रणाली हो ।
कौटिलीय अर्थशास्त्रको आर्थिक दर्शनका योगदानबारे प्रशंसा गर्दै रोजर बोशेले लेखेका छन्– ओक्लाहोमा फांटको एक्लो हिमालय शिखर टक्क उभिए झैं हिन्दु दर्शनको फाँटमा कौटिलीय अर्थशास्त्र एक्लै सगरमाथा झैं सिर ठडाएर उभिएको प्रतीत हुन्छ किनभने यस दर्शनको सामान्य लक्ष्य राजनीति र शक्ति सञ्चय गर्नु होइन, मोक्ष प्राप्त गर्नु हो...।[२९][३०]
राज्य सञ्चालनका लागि धनका महत्त्वको यस्तो उच्चकोटिको व्याख्या एडम स्मिथभन्दा २००० वर्ष अघि नै गरिसक्नु कौटिलीय अर्थशास्त्रको मौलिक, क्रान्तिकारी र दूरदर्शी विचार भन्न सकिन्छ । रोजर बोशेले यस अवधारणाको प्रशंसा गर्दै के भनेका छन् भने जोन लक र एडम स्मिथभन्दा धेरै वर्ष अघि अर्थको महत्त्वलाई यसरी व्यक्त गर्ने कौटिल्य केवल एक जना मात्र विचारक हुन् । यहा स्मरणीय के छ भने पाश्चमहत्त्य अर्थशास्त्रको उद्गम मानिने प्लेटोले धनसम्बन्धी चिन्तनलाई हीन चिन्तन भनेर त्यसलाई कम महत्त्व दिएका छन् ।
कौटिलीय अर्थशास्त्रको आर्थिक र वित्तीय विचारधाराबाट सालेटोर कति प्रभावित छन् भने उनले ग्रन्थकारलाई विश्वको सबभन्दा ठूलो प्रथम वित्तीय विचारक भन्न पुगेका छन् । राजकीय उद्योग सञ्चालन गर्ने जुन दर्शन कौटिलीय अर्थशास्त्रमा धेरै व्यक्त गरिएको छ मार्क्स र हब्सको राजकीय उद्योग सम्बन्धी धारणा त्यही प्रकारको छ भन्ने बोशेको निष्कर्ष छ।[३१] म्याक्सवेबर[३२] का अनुसार कौटिलीय अर्थशास्त्रको सिद्धान्त वस्तुतः मेकियावेली जस्तै सम्पूर्ण र प्रभावशाली छ । यसको दाजोमा बरू मेकियावेलीय सामान्य होला ।[३३]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.