![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/96/Golden_mahseer_%2528Tor_putitora%2529_Babai_River.jpg/640px-Golden_mahseer_%2528Tor_putitora%2529_Babai_River.jpg&w=640&q=50)
सहर (माछा)
From Wikipedia, the free encyclopedia
सहर बग्ने पानीमा बस्न रुचाउने माछाको एक प्रजाति हो, जुन तीव्र गतिमा बगेको पानीको धारमा अत्यधिक रमाउँछ।[2] यो फिरन्ता स्वभावको माछा हो, एकै ठाउँमा बसिरहँदैन। अन्य माछाका तुलनामा ठूलो टाउको हुने भएकाले यसको नाम महाशीर भएको हो तर पश्चिम नेपालमा यो महाशेर भनेरै चिनिन्छ। यसको 'टर पटिटोरा' र 'टरटर' गरी महाशेरका दुई प्रजाति छन्। टर पटिटोरा पहेँलो रङ्गको हुन्छ, जसलाई सुनौलो महाशेर पनि भनिन्छ। टरटर प्रजाति सेतो रङ्गको हुन्छ, जो सहर वा मन्सारका नामले चिनिन्छ। महाकाली, कर्णाली र बबई लगायतका पश्चिम नेपालका ठूला नदीमा सुनौला महाशेर धेरै पाइन्छन्। पूर्वी नेपालमा धेरै पाइनेचाहिँ सेतो कत्ला भएको महाशेर वा सहर माछा हो।
सहर | |
---|---|
![]() | |
बबई नदी, नेपालमा पाइएको सहर माछा | |
![]() | |
Juvenile, about ३५ सेमी (१४ इन्च) long | |
वैज्ञानिक वर्गीकरण ![]() | |
जगत: | जनावर |
सङ्घ: | रज्जुकी |
वर्ग: | किरणफिन भएका माछा |
गण: | सिप्रिनिफम्स |
परिवार: | सिप्रिनिडे |
वंश: | Tor (fish) (एफ ह्यामिल्टन), सन् १८९२) |
प्रजाति: | T. putitora |
वैज्ञानिक नाम | |
Tor putitora (एफ ह्यामिल्टन), सन् १८९२) | |
पर्याय | |
|
नेपालका सबैजसो ठूला नदीको एक मुख्य बासिन्दा हो महाशेर माछा। कर्णाली र महाकाली नदी आसपासका बासिन्दामाझ यसको बेग्लै महत्त्व छ। नेपाल-भारत सीमाको धार्चुलादेखि महेन्द्रनगर सम्मको करबि दुई सय किलोमिटर दूरीको महाकाली नदीमा जहाँतहीँ पाइन्छ यो। त्यसमा पनि पञ्चेश्वर महाशेर पाइने मुख्य स्थान हो। कर्णालीमा चाहिँ सेती र कर्णालीको सङ्गमदेखि तलैसम्म पाइन्छ। यो अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको लोपोन्मुख प्रजातिमा सूचीकृत छ।[3]
महाशेरले बाढीमा अन्डा फालिदिन्छ, जसलाई स्थानीयहरू महाशेरको अन्डा फाल्ने समय भन्छन्। यस्तो समय असार पहिलो सातादेखि सुरु हुन्छ। अङ्ग्रेजी महिनाको सेप्टेम्बर र अक्टोबर महाशेरको प्रजननको मुख्य समय मानिन्छ।[4] बग्दै गएर फुल फुट्दै भुरा निस्किँदै जान्छन्। नेपालको सन्दर्भमा कर्णाली नदीमा भेरी र कर्णाली तथा सेती र कर्णालीको सङ्गम क्षेत्र महाशेरको प्रजनन क्षेत्र हो। त्यहाँका भुरा कर्णाली नदी र भारततर्फको घाघरा नदीसम्म पुग्छन्। खासगरी यो प्रजातिका माछाले पानीको बहाव राम्रो भएका ठूला नदीमा गएर प्रजनन गर्छन्। त्रिशूलीको सहायक तादी नदी महाशेरले अन्डा पार्ने एक विन्दु हो, त्यहाँबाट भुरा त्रिशूली नारायणी नदीमा हुर्किन्छन्। यस्तै, पूर्वी नेपालका सुनकोसी र अरूण नदीको सङ्गम, तमोर र अरुण नदीको सङ्गम तथा अरूण नदीका सहायक नदीहरू सभा र पिलुवा लगायतका नदीनालामा पुगेर प्रजनन गर्छन्।
नेपालमा ८२ किलो तौलसम्मका महाशेरको रेकर्ड छ। अरुण, तमोर, सुनकोसी, सप्तकोसी, सप्तगण्डकी, नारायणी, बबई, कर्णाली, महाकालीलगायतका नदीमा यस जातका माछा पाइन्छन्। यसबाहेक पोखरा आसपासका विभिन्न तालमा समेत भेटिन्छन्।