प्राकृतिक प्रकोप
प्रमुख प्रतिकूल घटना परिणामस्वरूप पृथ्वीमा देखापर्ने प्राकृतिक प्रक्रियाहरू / From Wikipedia, the free encyclopedia
प्राकृतिक प्रकोप एक प्रकारको प्राकृतिक घटना हो जसले मानिसको सामाजिक-आर्थिक पक्षलाई क्षति पुर्याउँदछ। यद्यपि यो एक सामान्य प्राकृतिक घटनाको रूपमा भएतापनि धेरैजसो अवस्थामा यो मानव गतिविधिहरूको प्रभावको कारण प्राकृतिक सन्तुलनको ह्रासको कारणले हुन्छ।[1] सामान्य भाषामा भन्नुपर्दा प्राकृतिक प्रकोप प्राकृतिक नियमको अपवाद हो। प्राकृतिक प्रकोपले विपत्तिपछि समाज वा समुदायमा अत्यधिक हानिकारक प्रभाव छाड्ने गर्दछ। बाढी, पहिरो, खडेरी, भूकम्प, उष्णकटिबन्धीय चक्रवात, आँधीबेहरी चट्याङ, ज्वालामुखी गतिविधि, डढेलो जस्ता प्राकृतिक घटनाहरू यसका केही उदाहरणहरू हुन्।[2] प्राकृतिक प्रकोपले जनधनको क्षति गर्न सक्ने भएकाले यसले सामान्यतया आर्थिक गतिविधिलाई समेत क्षति पुर्याउने गर्दछ। विद्वानहरूले प्राकृतिक प्रकोप भन्ने शब्द अनुपयुक्त रहेको र यसलाई त्याग्नुपर्ने बताउँदै यसको सट्टा, सरल शब्द विपद् प्रयोग गर्न सकिने बताएका छन्। यस्तो प्रकोप, प्राकृतिक वा मानव निर्मित खतराको परिणामले हुनसक्छ जसले कमजोर समुदायलाई बढी प्रभाव पार्ने गर्दछ।[3]
आधुनिक समयमा प्राकृतिक, मानव निर्मित र मानव-द्रुत विपत्तिहरू बीचको विभाजन कोर्न निकै कठीन छ।[4][5][6] वास्तुकला, अग्नि, स्रोत व्यवस्थापन र जलवायु परिवर्तन जस्ता मानव निर्मित गतिविधिहरूले प्राकृतिक प्रकोपहरू निम्त्याउनमा भूमिका खेल्ने गर्दछन्।[4][7][8] प्राकृतिक प्रकोप शब्दलाई सन् १९७६ देखिनै गलत नाम दिइएको थियो।[9][10][10][11]
अपर्याप्त भवन निर्माण मापदण्ड, मानिसहरूको सीमान्तीकरण, असमानता, स्रोतसाधनको अत्यधिक दोहन, चरम सहरी फैलावट र जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपहरू बढ्न सक्छन्।[12] विश्वभर तीव्र रूपमा वृद्धि हुँदै गइरहेको जनसङ्ख्या र यसले सिर्जना गरेको प्रतिकूल वातावरणको बढ्दो एकाग्रताले प्रकोपको आवृत्ति र गम्भीरता दुवै बढाएको छ। उष्णकटिबन्धीय क्षेत्रहरूमा देखिने चरम जलवायु, अस्थिर भू-आकृति, वन विनाश, अनियोजित विकास प्रसार र भवन निर्माणहरूले गर्दा मानिसहरू यस्ता प्रकोपहरूको खतरामा परेका छन्। दीर्घकालीन प्राकृतिक प्रकोपबाट पीडित, कम विकसित र विकासोन्मुख देशहरूमा प्रायः विपत्ति आएको खण्डमा अप्रभावकारी सञ्चार प्रणालीहरू रहने भएकाले विपद् रोकथाम र व्यवस्थापनका उनीहरू पूर्णरूपमा समर्थन हुँदैनन्। यदि कुनै प्रकारको प्राकृतिक विपद् कमजोर जनसमुदायमा नपर्ने हो भने विपद्को स्तरमा वृद्धि नहुने देखिन्छ।[13][14] यदि कमजोर जनसमुदायले विपत् अनुभव गर्नुपर्यो भने त्यसपछिको पुनर्निर्माण गर्न धेरै वर्ष लाग्न सक्ने र त्यो मर्मत अवधिले थप जोखिम निम्त्याउन सक्छ। प्राकृतिक प्रकोपको विनाशकारी परिणामले प्रभावित समुदायहरूको मानसिक स्वास्थ्यमा पनि यसले असर पार्ने गर्दछ।[15]