पुरानो ढाका
From Wikipedia, the free encyclopedia
पुरानो ढाका बङ्गलादेशको राजधानी ढाकाको ऐतिहासिक पुरानो सहरलाई बुझाउन प्रयोग गरिने शब्द हो। यसको स्थापना सन् १६०८ मा बङ्गालको मुगल प्रान्तको राजधानी जहाङ्गीरावाद वा जहाङ्गीरनगरको रूपमा गरिएको थियो भने यसको नाम मुगल सम्राट जहाङ्गीरको नाममा राखिएको थियो। यो बूढीगङ्गा नदीको किनारमा अवस्थित छ। यो दक्षिण एसियाको सबैभन्दा ठूलो र सबैभन्दा समृद्ध सहरहरू मध्ये एक थियो भने यो विश्वव्यापी रूपमा नरम कपडाको व्यापार केन्द्र थियो। बङ्गालका तत्कालीन नवाब मुर्शिदकुली खानले १८औँ शताब्दीको सुरुवातमा राजधानीलाई ढाकाबाट मुर्शिदावादमा स्थानान्तरण गरेका थिए। ब्रिटिस शासनकालमा कलकत्ताको उदयसँगै ढाकाको पतन हुन सुरु भयो र यसलाई "शानदार भग्नावशेषहरूको सहर" को रूपमा चिनिन थालिएको थियो। यद्यपि अङ्ग्रेजहरूले १९औँ शताब्दीको मध्यदेखि आधुनिक सहरको विकास गर्न थालेका थिए।[2]
ढाका सहरको पुरानो भाग
पुरानो ढाकम | |
---|---|
क्षेत्र | |
निर्देशाङ्क: २३°४२′२५″उ॰ ९०°२४′३४″पू॰ | |
देश | बङ्गलादेश |
जिल्ला | ढाका जिल्ला |
सहर निगम | ढाका दक्षिण सहर निगम |
बस्ती बसेको | लगभग सन् ७०० देखि |
स्थापना | सन् १६०८ |
विस्तार | सन् १९१० देखि |
पुरानो ढाका विभिन्न प्रकारका खाना र सबै धर्मका मानिसहरूको सद्भावपूर्ण जीवनको लागि प्रसिद्ध छ। यहाँ उल्लासपूर्ण रूपमा मनाइने प्रमुख इस्लामी चाडहरूमा ईद-उल-फित्र, ईद-उल-अजहा र आशुरा पर्दछन् भने हिन्दू चाडहरूमा दुर्गा पूजा, काली पूजा, र सरस्वती पूजालाई पनि उत्साहका साथ मनाइन्छ।[3][4] सबै धार्मिक समुदायहरूले धेरै भव्यताका साथ मनाउने चाडहरूमा पौष सङ्क्रान्ति, पोहेला फाल्गुन[5], र हलखाता समावेश छन्।[6] धर्मको हिसाबले पुरानो ढाकामा मुस्लिम जनसमुदायको बाहुल्यता छ भने त्यसपछि यहाँ हिन्दूहरूको बाहुल्यता रहेको छ। इसाई र बौद्ध धर्मावलम्बीहरू पनि यहाँ थोरै सङ्ख्यामा रहेका छन्। पुरानो ढाकाका बासिन्दाहरूलाई ढकाइयाको रूपमा चिनिन्छ।