गौतम ऋषि
From Wikipedia, the free encyclopedia
गौतम अर्थात गोतम ऋषि वैदिक कालका मूल सप्तर्षिमध्येका जेठा ऋषि हुन् । उनका पिताको नाम रहुगुणा थियो । यिनलाई गौतम गोत्रका प्रवर्तक भनेर चिनिन्छ । उच्चारणमा गौतम भनिए पनि उनको वास्तविक नाम गोतम हो भनिन्छ । गोतमको नामबाट गोतम गाण बनेको छ । प्रचलनमा गौतम भनिएकाले सबैतिर गौतम नै उल्लेख भएको पाइन्छ । संस्कृत ग्रन्थ मानभन्तरको सातौँ भागमा उल्लेख तथ्यलाई जर्मन मानवशास्त्री म्याक्स मुलरले आफ्नो खोजमा यसरी उल्लेख गरेका छन् :- [1]
- " महर्षि गौतम वैदिक कालका एक प्रख्यात महर्षि थिए । उनी हिन्दु धर्मका मन्त्रहरूका प्रतिपादक पनि थिए । त्यसैले उनलाई वैदिक कालमा मन्त्रद्रष्टा भनेर चिनिन्थ्यो ।"
गौतम ऋषि | |
---|---|
भारतको पुष्कर स्थित महर्षि गौतम र माता अहिल्या मन्दिर | |
संस्कृत उच्चारण | महर्षिः गौतम |
संबद्ध | ऋषि |
पत्नी | अहिल्या |
वास्तवमा यस तथ्यले प्रमाणित गर्दछ कि महर्षि गौतम महान्, प्रतापी र ऋषिहरूका पनि महर्षि थिए । उनी हिन्दू धर्ममा प्रयोग हुने कतिपय मन्त्रहरूका मुख्य प्रतिपादक पनि थिए । उनले नै त्यस समयमा मन्त्रको प्रवर्तन गरेका थिए । त्यसैले उनलाई वैदिक कालमा मन्त्रका पिता भनेर चिनिन्थ्यो ।[1] मानवशास्त्री मुलरकै खोजअनुसार गौतम महर्षिका बारेमा ऋगवेदमा पनि उल्लेख छ । मुलरले आफ्नो खोजमा लेखेका छन् :-[1] "ऋगवेदमा थुप्रै सूक्तिहरू छन्, जसले महर्षि गौतमको नाम र जीवनको केही पक्षका बारेमा उल्लेख गरेको छ ।" यस तथ्यबाट पनि प्रमाणित हुन्छ कि वास्तवमा महर्षि गौतम अत्यन्त प्रभावशाली र सिद्ध महर्षि थिए । ऋग्वेदका तमाम सूक्तिहरूले उनको महानता र जीवनीको व्याख्या गरेका छन् । देवी भागवतमा पनि महर्षि गौतमका बारेमा थुप्रै कुराहरू उल्लेख गरेको भेटिएको छ । आफ्नो खोजमा मुलरले लेखेका छन् :-[1]
- "देवी भागवतका अनुसार प्राचीन कालको गोदावरी नदीको नाम पनि महर्षि गौतमसँग जोडिएको छ अर्थात् गोदावरी नदीको नाम पनि महर्षि गौतमकै नामबाट जुराएर राखिएको हो ।"
यस तथ्यले बताएअनुसार गोदावरी नदी प्राचीन मिथिला नजिक पर्ने मिथिला उपवन हुँदै बग्दथ्यो । यो नदी र गंगा नदी प्राचीनकालमा करिब सँगसँगै भएर बग्दथे । त्यस समयको अत्यन्त पवित्र नदी मानिने गोदावरी नदीको नाम पनि महर्षि गौतमकै नामबाट राखिएको थियो । ऋग्वेदका अनुसार महर्षि गौतम राहुगाणाका छोरा थिए । राहुगाना अङ्गिराका सन्तति थिए । महर्षि गौतमका तीन छोरा थिए ।[1]
यी छोराहरूमध्ये वामदेव र नोधास जेठी पत्नीपट्टिका थिए भने सतानन्द गौतम की कान्छी पत्नी सुन्दरी अहिल्याबाट जन्मिएका छोरा थिए । तर महर्षि गौतमकी जेठी पत्नीको बारेमा भने खासै उल्लेख गरेको पाइँदैन । महर्षि गौतमका छोराहरूका बारेमा भारतीय इन्साइक्लोपिडियामा भनिएको छ ।:-[1]"महर्षि गौतमका वामदेव, नोधास र सतानन्द नामका तीन छोरा थिए ।" यीनै छोराहरूबाट महर्षि गौतमको वंश अघि बढेको थियो । महर्षि गौतमका छोराहरू वामदेव, नोधास र सतानन्दको जन्म तथा भरण पोषणका बारेमा सामवेदको भाद्रा श्लोकमा पनि इतिवृतान्त रूपमा व्याख्या विश्लेषण गरिएको छ, जसलाई भारतीय इन्साइक्लोपीडियाले उल्लेख गरेको छ । यस हिसाबले त महर्षि गौतम वैद्धिक कालका एक महानतम महर्षि थिए भन्ने जनाउँदछ । किनकी उनको जीवन, पराक्रम र सिद्धिका बारेमा ऋगवेद, सामवेद, देवि भागवत, ब्रह्माण्ड पुराण, महाभारत आदी हिन्दू धर्मका महानतम ग्रन्थहरूमा प्रसस्त र प्रगाढ रूपमा व्याख्या विश्लेषण गरेको पाइन्छ । उनी आफ्नो समयमा सिद्धहस्त महापुरुष थिए । उनले सनातन धर्मलाई संस्थागत गर्न त्यस समयमा उल्लेख्य अग्रणी भूमिका निर्वाह गरेका थिए ।[1]