आन्ध्र प्रदेश
From Wikipedia, the free encyclopedia
आन्ध्र प्रदेश भारतको दक्षिणी तटीय क्षेत्रमा रहेको राज्य हो। यो १,६२,९७० वर्ग किलोमिटर (६२,९२० वर्ग माइल) क्षेत्रफल भएको सातौँ सबैभन्दा ठुलो राज्य हो र ४,९५,७७,१०३ जनसङ्ख्या भएको दशौं सबैभन्दा ठुलो राज्य हो। यसको सीमा छत्तीसगढ, ओडिशा, कर्नाटक, तमिलनाडु, तेलङ्गाना र बङ्गालको खाडीसँग जोडिएको छ। आन्ध्र प्रदेशको तटीय क्षेत्र भारतको दोस्रो सबैभन्दा लामो समुद्र तट हो जुन लगभग ९७४ किलोमिटर (६०५ माइल) मा अवस्थित छ। आन्ध्र राज्य र एकीकृत आन्ध्र प्रदेशको रूपमा अस्तित्वमा आएपछि, राज्यले २ जुन २०१४ मा आफ्नो वर्तमान रूप लियो, जब नयाँ राज्य तेलङ्गाना विभाजनको माध्यमबाट गठन गरिएको थियो। अमरावती राज्यको राजधानी हो र सबैभन्दा ठुलो सहर विशाखपट्नम हो। तेलङ्गानासँग पानी बाँडफाँड र सम्पत्ति विभाजनको विवाद अझै सुल्झिएको छैन। तेलगु, भारतको शास्त्रीय भाषाहरू मध्ये एक हो जुन बहुसङ्ख्यक मानिसहरूद्वारा प्रयोग गरिन्छ, पहिलो आधिकारिक भाषा हो।
आन्ध्र प्रदेश | |
---|---|
आदर्श वाक्य: सत्यमेव जयते (सत्यको सधै जित हुन्छ) | |
राष्ट्रियगान: माँ तेलगु थाल्लिकी (हाम्रो आमा तेलगुको लागि) | |
निर्देशाङ्क: १६.५१°N ८०.५२°E / 16.51; 80.52 | |
देश | भारत |
क्षेत्र | दक्षिण भारत |
स्थापना | १ नोभेम्बर १९५६[1] |
राजधानी | अमरावती |
सबै भन्दा ठुलो सहर | विशाखपट्नम |
जिल्ला | २६ |
विधायिका | द्विसदनीय आन्ध्र प्रदेश विधायिका |
• विधान परिषद् | आन्ध्र प्रदेश विधान परिषद् (|५८ सीटहरू) |
• विधान सभा | आन्ध्र प्रदेश विधान सभा (१७५ सीटहरू) |
राष्ट्रिय संसद | भारतीय संसद |
• राज्य सभा | ११ सीटहरू |
• लोक सभा | २५ सीटहरू |
क्षेत्रफल | |
• जम्मा | १६२९७० किमी२ (६२९२० वर्ग माइल) |
• क्रम | ७औँ |
उन्नतांश | २६९ मिटर (८८३ फिट) |
उच्चतम उचाई (अर्मा कोन्डा) | १६८० मिटर (५५१० फिट) |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | ४९५७७१०३ |
• क्रम | १०औँ |
• घनत्व | ३०४/किमी२ (७९०/वर्ग माइल) |
• सहरी | १४६०१०३७२ |
• ग्रामीण | ३४९६६७३० |
वासिन्दा(हरू) | अन्ध्रुलु, तेलगुवारु |
भाषा | |
• आधिकारिक | तेलगु |
• अतिरिक्त अधिकारी | उर्दु[2] |
• आधिकारिक लिपि | तेलगु लिपि |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
वेबसाइट | ap |
ईपूर्व आठौँ शताब्दीमा ऋग्वेदिक ग्रन्थ ऐतरेय ब्राह्मणका अनुसार आन्ध्रहरू यमुना नदीको किनारबाट उत्तर भारत छोडेर दक्षिण भारतमा बसाइँ सरेका थिए। ईपूर्व तेस्रो शताब्दीमा आन्ध्र मौर्य साम्राज्यको अशोकको एक जागीरदार राज्य थियो। उनको मृत्यु पछि, यो शक्तिशाली भयो र यसको साम्राज्यलाई सम्पूर्ण मराठा देश र सतवाहन राजवंशको शासनअन्तर्गत बाहिर विस्तार गर्यो। तत्पश्चात् पल्लव, पूर्वी चालुक्य, ककतीय, विजयनगर साम्राज्य, कुतुब शाही वंश, निजाम वंश, इस्ट इन्डिया कम्पनी र ब्रिटिस राज प्रमुख शासकहरू थिए।
पूर्वी घाट तटीय मैदान र समप्राय मैदानलाई छुट्याउने एक प्रमुख विभाजन रेखा हो। यी प्रायः कृष्णा, गोदावरी र पेन्ना नदीहरूद्वारा निर्मित मुखद्वीप क्षेत्रहरू हुन्। यहाँको ६० प्रतिशत जनसङ्ख्या कृषि तथा यससँग सम्बन्धित क्रियाकलापमा संलग्न छ। धान राज्यको प्रमुख खाद्य बाली र मुख्य खाद्यान्न हो। यस राज्यले कुल माछा उत्पादनमा १०% र भारतमा झींगा उत्पादनमा ७०% भन्दा बढी योगदान गर्दछ। खाद्य उत्पादन, गैर-धातु खनिज, टेक्सटाइल र फार्मास्युटिकल्स जस्ता उद्योग क्षेत्रहरू शीर्ष रोजगार प्रदायकहरू हुन्। अटोमोटिभ क्षेत्रले भारतको अटो निर्यातको १० प्रतिशत हिस्सा ओगटेको छ। यस राज्यमा भारतको चुनढुङ्गा भण्डारको लगभग एक तिहाई भण्डार, ब्याराइट र ग्यालेक्सी ग्रेनाइटको ठुलो भण्डार, र तेल र प्राकृतिक ग्याँसको भण्डार छ।