समाचार
From Wikipedia, the free encyclopedia
समाचार भनेको कुनैपनि घटनाको विवरण, विचार तथा तथ्यलाई लिखित, मौखिक, विद्युतीय प्रसारण वा इन्टरनेटको माध्यमले कुनै तेस्रो व्यक्ति वा स्रोतामा सूचनाको सञ्चार गर्नु हो । अङ्ग्रेजी शब्द News ल्याटिन भाषाको Nova र संस्कृत भाषाको सम+आचरण शब्दको अर्थमा समाचार शब्दको प्रयोग भएको पाइन्छ । समाचारमा निष्पक्षतामा जोड दिइन्छ अर्थात सबै प्रति समान आचरण देखाउँदै, आफू निष्पक्ष रहेर समाचार प्रकाशन तथा प्रसारण गरिन्छ । समाचार कुनै घटना, तथ्य वा विचारको तात्कालिक विवरण हो जसमा जनसमुदायको रूची हुन्छ । समसामयिक घटना वा विचारको तत्काल सूचना वा जानकारी नै समाचार हो । कुनै लेख समाचार हुन नयाँपन, समसामयिकता, निकटता, प्रमुखता, मानवीय अभिरूची, मनोरञ्जन जस्ता तत्वहरू हुनु अनिवार्य मानिन्छ । समाचारको महत्त्व, प्रकृति र सान्दर्भिकताले समाचारको बनोटलाई निर्धारण गर्छ । आमुख, तथ्य, उद्दरण, पृष्ठभूमीलाई समाचारका महत्त्वपूर्ण अङ्ग मानिन्छ । समाचार उल्टो पिरामिड, वर्णनात्मक र अवर ग्लास ढाँचामा लेखिन्छ । समाचार प्राप्तहुने ठाउँलाई पत्रकारिताको भाषामा समाचारको स्रोत भनिन्छ । यस्तो स्रोत पत्रकारको प्रमुख सम्पत्ति मानिन्छ ।