From Wikipedia, the free encyclopedia
रौता पोखरी पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको उदयपुर जिल्लामा रहेको धार्मिक एवं पर्यटकीय स्थल हो। पछिल्लो समयमा पहाडी जिल्लाहरू खोटाङ्ग, ओखलढुङ्गा आदिको लागि अत्यावश्यक सामग्रीको कारोबार गर्ने व्यापारिक केन्द्रको रूपमा समेत यस क्षेत्रको विकास भएको छ।
रौता पोखरी | |
---|---|
रहेको स्थान | रौतामाई गाउँपालिका, उदयपुर जिल्ला |
तालको प्रकार | सफा पानी |
सतहको क्षेत्रफल | १ विगाह |
सतहको उचाई | १७७० मिटर |
जम्ने | जम्दैन |
यो पोखरी करीब ५९०० फिट (१७७० मि.) को उचाईमा रहेको छ भने यसले एक विगाह क्षेत्रफल ओगटेको छ। रौता पोखरी उदयपुर जिल्ला सदरमुकाम गाईघाटबाट २० कि. मी. उत्तरमा पर्दछ। रौता डाँडा उदयपुर जिल्लाको सदरमुकाम गाईघाटबाट प्रत्यक्ष रूपमा देखिन्छ।
सगरमाथा राजमार्गले जोडेका कारण गाईघाटबाट विभिन्न साधन मार्फत रौता पोखरीको आवतजावत गर्न सहज छ। सवारी साधनबाट नै उदयपुर सिमेन्ट उद्योगको खानी क्षेत्र सिँदाली पुगेर मनोरम दृष्यहरु अवलोकन गर्दै केही घण्टाको पैदल यात्रा गरेर पनि यहाँ पुग्न सकिन्छ। अन्य स्थानिय बाटोहरु पनि उपलब्ध छन।
खोटाङ्ग जिल्लाको बाराहा पोखरी, खोटाङ्ग जिल्लाकै क्षिता पोखरी र यस पोखरीलाई "तीन दिदीबहिनी" मानिन्छ। बाराहा पोखरीमा भ्यागुता पाइदैन भने रौता पोखरीमा माछा पाइदैन। धेरै उचाइमा रहे पनि यस पोखरीको पानी कहिल्यै पनि सुक्दैन। पोखरी वरिपरि प्रशस्त रुखहरु रहेका छन। यी रुखबाट झरेका पात पतिङ्गरलाई चराहरूले चुच्चामा च्यापेर आफ्नो गुँडमा लैजाने गर्छन।
प्रकृति निर्मित यस पोखरीका सात निकास (धारा) रहेका छन। त्रियुगा नदीको उद्गम स्थल यहीँ हो। सातमध्ये तीन धारा प्रवाहित भई बनेको नदी हुनाले त्रियुगा भनिएको हो। एक-एक धारा राँकुली र अँधेरी नदी बनेर सप्तकोशीमा समाहित हुन्छन। छैठौँ धारा बरुवा नामले बगेर गाईघाटको पश्चिममा त्रियुगा नदीमा समाहित हुन्छ। सातौँ धाराबाट हुल्मा उत्तरमा प्रवाह हुने हेमगंगा निर्माण हुन्छ जुन धार्मिक कोणबाट अत्यन्त पवित्र तीर्थ गंगा मानिन्छ।[1]
आफ्नो मनोकामना पुरा हुने विश्वासका साथ रौता पोखरीमा स्नान गर्न भक्तजनहरूको भिड लाग्ने गर्छ। धर्मिक रूपले ठूलो श्रद्धा र विश्वास रहेको यो पोखरीको छेउको रौता मन्दिरमा दैनिक कुमारी देवी (भगवती) को पुजा आराधना हुन्छ। रौता मन्दिरमा विभिन्न उदेश्यले भाकल पनि गर्ने चलन छ। यहाँकी देवीलाई पाठी वा जोडी परेवा बली दिने प्रथा परापूर्वकालदेखि चलिआएको छ। कुखुरा, राँगा, बोकाको बली भने बर्जित छ। मन्दिर परिसरमा विवाह, ब्रतवन्ध, भजन, किर्तन, माघे संक्रान्ति मेला, मकर स्नान आदि गरिनु को साथै गीतावालाहरूले कार्तिके विम्मा, बाबाजीहरूले धुनी लगाउने परम्परा छ।
रौता पोखरी उदयपुर जिल्लाको रमणीय पर्यटकीय स्थल हो। यहाँबाट सगरमाथासहित विभिन्न हिमाल तथा हिमश्रृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ। मनोरम हावापानी र भूबनौटले यस क्षेत्रको सौन्दर्यमा सुगन्ध थपिएको छ। उचित प्रबर्धन हुन सके राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटनलाई बढावा दिने ठूलो सम्भावनाको रूपमा यो क्षेत्र रहेको छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.