नेपालका राजनीतिज्ञ एवम् ३६औँ प्रधानमन्त्री, नयाँ शक्ति पार्टी नेपालका संस्थापक From Wikipedia, the free encyclopedia
बाबुराम भट्टराई (जन्म: ४ असार २०११) एक नेपाली राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री हुन्। उनी नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन्।[3]
बाबुराम भट्टराई | |
---|---|
नेपालको ३६औँ प्रधानमन्त्री | |
कार्यकाल २०६८ भदौ १२ – २०६९ चैत १ | |
राष्ट्रपति | रामवरण यादव |
सहायक | विजयकुमार गच्छदार |
पूर्वाधिकारी | झलनाथ खनाल |
उतराधिकारी | खिलराज रेग्मी |
अर्थमन्त्री | |
कार्यकाल २०६५ भदौ २ – २०६६ जेठ ११ | |
राष्ट्रपति | रामवरण यादव |
प्रधानमन्त्री | पुष्पकमल दाहाल |
नेपाल समाजवादी पार्टीको अध्यक्ष | |
पद बहाली २०७९ साउन १२ | |
पूर्वाधिकारी | पद स्थापित |
प्रतिनिधि सभाको सदस्य | |
कार्यकाल २०७४ फागुन २० – २०७९ असोज २ | |
पूर्वाधिकारी | हरिराज अधिकारी |
उतराधिकारी | पुष्पकमल दाहाल |
निर्वाचन क्षेत्र | गोरखा २ |
संविधान सभा सदस्य | |
कार्यकाल २०६५ जेठ १५ – २०६९ जेठ १५ | |
पूर्वाधिकारी | पार्वती थापा श्रेष्ठ |
उतराधिकारी | हरिराज अधिकारी |
निर्वाचन क्षेत्र | गोरखा २ |
कार्यकाल २०७० माघ ७ – २०७२ असोज ९[1] | |
पूर्वाधिकारी | कमला पन्त |
उतराधिकारी | हितराज पाण्डे |
निर्वाचन क्षेत्र | गोरखा १ |
व्यक्तिगत विवरण | |
जन्म | ४ असार २०११[2] खोप्लाङ, गोरखा, नेपाल |
राजनीतिक दल | नेपाल समाजवादी पार्टी |
अन्य राजनीतिक संलग्नता | नेकपा (चौथो महाधिवेशन) संयुक्त जनमोर्चा नेपाल एनेकपा (माओवादी) (वि.सं २०७२ अगाडि) नयाँ शक्ति पार्टी, नेपाल (वि.सं २०७३-२०७६) |
जीवन साथी | |
सन्तान(हरू) | १ |
अभिभावकs |
|
शिक्षा | अमृत साइन्स क्याम्पस चण्डीगढ वास्तुकला विद्यालय (स्नातक) योजना तथा वास्तुकला विद्यालय (स्नातकोत्तर) जवाहरलाल नेहरू विश्वविद्यालय (विद्यावारिधि) |
वेबसाइट | www |
नयाँ शक्ति पार्टी, नेपाल स्थापना गर्नुअघि भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का सदस्य तथा उपाध्यक्ष थिए।[4] पछि उनले प्रजातान्त्रिक समाजवादलाई अङ्गीकार गरेका थिए।[5]
४ असार २०११ मा, गोरखा जिल्लाको खोप्लाङमा जन्मिएका भट्टराईको बुबाको नाम भोजप्रसाद भट्टराई र आमा धर्मकुमारी भट्टराई हो।। उनी बाबुआमाका दोस्रा सन्तान हुन्। उनको एक दिदी, एक भाइ र एक बहिनी छन्। बाल्यकालमा बाबुराम भट्टराईले अनौपचारिक शिक्षा गाउँकै सेवानिवृत्त सैनिक भक्तबहादुर भुजेलबाट हासिल गरेका थिए। उनले अमर ज्योति उच्च माध्यमिक विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरेका थिए।
उनी उपेन्द्र देवकोटाका सहपाठी थिए जो वरिष्ठ स्नायुरोग चिकित्सक थिए। उनी अमृत साइन्स क्याम्पसमा पनि अध्ययन गरेका थिए। त्यसपछि कोलम्बो योजना छात्रवृत्ति अन्तर्गत उनले सन् १९७७ मा चण्डीगढबाट वास्तुकलामा स्नातक हासिल गरेका थिए। यसै समयमा उनी अखिल भारतीय नेपाली विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष बनेका थिए। यो सङ्गठन वास्तुकला क्षेत्र भन्दा बाहिर आफ्नो शैक्षिक रुचिहरू निर्माण गर्ने दिशामा उनको पहिलो कदम बन्न पुगेको थियो। भट्टराईले दिल्ली स्थित योजना तथा वास्तुकला विद्यालयबाट स्नातकोत्तर हासिल गरेका थिए। उनको विवाह माओवादी नेतृ हिसिला यमीसँग भएको थियो। उनकी एक छोरी छ, मानुषी छिन्।
उनले वि.सं २०४२ सालमा, मा जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए। उनको शोध वि.सं २०५९ मा "नेपालको अल्पविकास र क्षेत्रीय संरचनाको प्रकृति - एक मार्क्सवादी विश्लेषण" को रूपमा प्रकाशित भएको थियो।
२०५२ फागुन १ गते माओवादीले जनयुद्ध सुरु गरेको थियो, जसले नेपालको राजनीतिक प्रणालीमा ठूलो प्रभाव पारेको थियो। एक दशक लामो गृहयुद्धमा १७,००० भन्दा बढी नेपालीको मृत्यु भएको थियो। यसले नेपाललाई राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण गर्न प्रमुख भूमिका खेलेको थियो। विसं २०६४ को निर्वाचनमा गोरखा १ बाट माओवादी उम्मेदवारका रुपमा नेपालको संविधान सभाको सदस्यमा निर्वाचित भएका भट्टराई निर्वाचनपछि बनेको मन्त्रिपरिषद्मा अर्थमन्त्री बनेका थिए।[6]
भट्टराई ११ भदौ २०६८ मा नेपालको ३६औँ प्रधानमन्त्री बनेका थिए। २०६९ जेठ १५ नेपालको पहिलो संविधान सभाको विघटन पछिको राजनीतिक गतिरोधबाट बाहिर निस्कने उपायको रूपमा, उनको ठाउँमा प्रधान न्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम सरकारको प्रमुखको रूपमा नियुक्त गरिएको थियो भने नेपालमा दोस्रो संविधान सभाको निर्वाचन २०७० मङ्सिर ४ गते सम्पन्न भएको थियो। यसभन्दा अगाडि उनले २०६९ फागुन ३० मा उनले आफ्नो पद र पार्टीका सबै जिम्मेवारीहरूबाट राजीनामा दिएकम थिए। राजिनामा अगाडि उनी माओवादी पार्टीका वरिष्ठ स्थायी समिति सदस्य र उपाध्यक्ष थिए। केही समयअघिसम्म उनी नयाँ शक्ति पार्टी, नेपालका संयोजकको रूपमा रहेका थिए। वि.सं २०७६ मा नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालको एकीकरणबाट बनेको नवगठित समाजवादी पार्टी, नेपालको सङ्घीय परिषद्को अध्यक्ष थिए। पछि समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई जनता समाजवादी पार्टी, नेपाल गठन भएको थियो।[7]
बाबुराम भट्टराईले २०५२ माघ २१ गते नेपाली काङ्ग्रेसको तर्फबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ४० वटा मागको सूची दिएका थिए।[8] 'राष्ट्रियता, लोकतन्त्र र जीविकोपार्जन' सँग सम्बन्धित मागहरूमा 'नेपाली उद्योग, व्यवसाय र वित्तमा विदेशी पूँजीको प्रभुत्व बन्द गर्ने, सन् १९५० को नेपाल–भारत सन्धि लगायत विभेदकारी सन्धिहरू खारेज (यहाँ सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिलाई उल्लेख गर्दै) र सामन्ती व्यवस्थाको नियन्त्रणमा रहेको जमिन जफत गरी भूमिहीन र घरबारविहीनलाई वितरण गरिनुपर्ने जस्ता विषय समेटिएका थिए। माग सम्बोधन नभएसँगै नेकपा (माओवादी)को नेतृत्वमा नेपालमा दस वर्षे जनयुद्ध २०५२ फागुन १ गते घोषणा भएको थियो। नेपालको राजतन्त्रलाई समाप्त र जनगणतन्त्र स्थापना गर्ने उद्देशका साथ यसको सुरुवात भएको थियो। विसं २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग यस युद्ध समाप्त भएको थियो। यस भन्दा अगाडि, २०६३ वैशाख १३ सम्म, प्रचण्डले नेकपा (माओवादी)को सैन्य प्रयासलाई विशेष गरी पहाडी क्षेत्र र पश्चिम नेपालमा नियन्त्रणका क्षेत्रहरू स्थापना गर्न निर्देशन दिएका थिए।
त्यसपछिको राजनीतिक वार्तामा ४० वटा मागलाई घटाएर २४ मा झारिएको थियो।[9]
शान्ति प्रक्रिया पश्चात् पुष्पकमल दाहाल र भट्टराईबीचको सम्बन्ध चिसिएको थियो। पार्टी भित्र शक्ति साझेदारीमा असहमतिको कारण भएको बताइएको छ। प्रचण्डको नेतृत्वमा सत्ता एकीकरण भएकोमा भट्टराई असन्तुष्ट थिए। एक पटक प्रचण्डले भट्टराईलाई पार्टीबाट निष्कासित गरेतापनि पछि उनलाई पुनर्बहाली गरिएको थियो। पछि उनीहरूले कम्तीमा पनि आफ्ना केही मतभेदहरूमा समझदारी बनाएका थिए।
२०६२ मङ्सिर ७ मा प्रचण्ड र सातदलीय गठबन्धनले '१२ बुँदे सहमति' जारी गरेका थिए जसमा नेकपा (माओवादी) र २०४८ सालको संसदीय निर्वाचनमा ठूलो बहुमत प्राप्त गरेका पार्टीहरूबीच सहमतिका क्षेत्रहरू व्यक्त गरिएको थियो। यस दस्तावेजमा राजा ज्ञानेन्द्रको तानाशाही राजतन्त्र नै नेपालको प्रगतिको प्रमुख बाधक रहेको उल्लेख गरिएको थियो। माओवादी मानव अधिकार, प्रेस स्वतन्त्रता र बहुदलीय शासन प्रणालीप्रति प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख थियो। यसले आत्मआलोचना र माओवादी र सात दलको विगतका गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो।[10]
माओवादी जनयुद्ध दौडान थुप्रै युद्धविरामहरू भएका थिए।[11] २०६३ वैशाख १३ मा, प्रचण्डले ९० दिनको घोषित अवधिको साथ युद्धविरामको घोषणा गरेका थिए। ६२/६३ मा, काठमाडौँ र अन्य स्थानमा हप्तौँसम्म चलेको व्यापक विरोध प्रदर्शनपछि राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा स्थापना गरेको व्यक्तिगत अधिनायकत्व त्याग्न र विघटन भएको संसद्को पुनस्र्थापना गर्न बाध्य भएका थिए।
त्यसपछि सात दलीय गठबन्धनले नयाँ सरकार गठन गरेको थियो। संसद् र नयाँ सरकारले युद्धविरामलाई समर्थन गर्दै बाह्रबुँदे सहमतिका आधारमा माओवादीसँग वार्ता सुरु गरेको थियो। दुवै पक्ष नयाँ संविधान लेखन र राजतन्त्रको भाग्य निर्धारण गर्न नयाँ संविधान सभाको निर्वाचन गर्ने कुरामा सहमत भएका थिए। माओवादीले नेपाल गणतान्त्रिक नेपाल बनेसँगै यो प्रक्रियाको अन्त्य होस् भन्ने चाहेको थियो।[12]
भट्टराई नेपालको ३६औँ प्रधानमन्त्रीमा २०६८ भदौ १२मा, निर्वाचित भएका थिए।[13] उनी एकीकृत नेकपा (माओवादी)बाट निर्वाचित भएका थिए। उनी मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक), मधेशी जनअधिकार फोरम (गणतान्त्रिक), तमलोपा, तराई मधेश लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टी सहित साना पार्टीहरूको समर्थनमा निर्वाचित भएका थिए।[14] भट्टराईले २०६८ भदौ १२ देखि २०६९ चैत १ सम्म देशको नेतृत्व गरेका थिए।[15] उनले आफ्नो कार्यकालमा चक्रपथ (रिङ रोड) विस्तार लगायत केही उदाहरणीय कार्यहरू गरेका थिए।[16]
२०७३ असार २८ मा बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा नयाँ शक्ति पार्टी, नेपालको स्थापना को घोषणा गरेका थिए।[17][18] समारोहमा प्रमुख दलका नेताहरुको सहभागिता रहेको थियो। उक्त समारोहमा अशोक शर्मा, करिश्मा मानन्धर लगायत ३३ जना नयाँ सदस्यको घोषणा गरिएको थियो। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग गठबन्धन घोषणा गर्ने समारोहमा सहभागी भए पनि टिकट नपाएपछि दुई सातापछि गठबन्धन बाट बाहिरिएका थिए। उक्ति पार्टी २०७६ वैशाख २३ मा, उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम, नेपालसँग एकीकृत हुँदै समाजवादी पार्टी, नेपाल बनेको थियो।[19]
१४ वैशाख २०७६ मा, भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम, नेपालबीच एकीकरण भएको थियो।[20] नवगठित दलको नाम समाजवादी पार्टी, नेपाल राखिएको थियो। [21] समाजवादी पार्टी पुन: महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएको थियो र नयाँ बनेको दलको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको थियो। [22] विभिन्न मतभेदका कारण दुइ दल पुनः छुट्टा भिन्न भएका थिए जहाँ भट्टराई उपेन्द्र यादव तिर गएका थिए। २०७९ साउन १२ गते भट्टराईले जनता समाजवादी पार्टी, नेपालबाट छुट्टिँदै आफ्नो नेतृत्वमा नेपाल समाजवादी पार्टी गठन गरेका थिए[23] जहाँ सो दलले प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको थियो। [24] ४ मङ्सिर २०७९ मा, भएको निर्वाचनमा भट्टराईले निर्वाचन नलड्ने घोषणा गरेका थिए र उनले जितेको स्थानमा माओवादी अध्यक्ष प्रचण्ड गोरखा २ बाट निर्वाचित भएका थिए।[25]
दल | उम्मेदवार | मत | |
---|---|---|---|
नेकपा (माओवादी) | बाबुराम भट्टराई | २२,८२४ | |
नेपाली काङ्ग्रेस | किरणबाबु श्रेष्ठ | ८,९७१ | |
नेकपा (एमाले) | रामशरण बस्नेत | ४,९४३ | |
नेकपा (माले) | नारायणबाबु आचार्य | १,५५७ | |
अन्य | ८६६ | ||
नतिजा | माओवादी विजयी | ||
स्रोत: नेपाल न्युज[26] |
दल | उम्मेदवार | मत | |
---|---|---|---|
नयाँ शक्ति पार्टी, नेपाल | बाबुराम भट्टराई | ३१,८०७ | |
नेकपा (माओवादी केन्द्र) | नारायणकाजी श्रेष्ठ | २४,९३३ | |
अन्य | ७३९ | ||
अवैध मत | २,६३६ | ||
नतिजा | नयाँ शक्ति विजयी | ||
स्रोत: निर्वाचन आयोग |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.