![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/b/ba/Cataract_in_human_eye.png/640px-Cataract_in_human_eye.png&w=640&q=50)
मोतिबिन्दु
From Wikipedia, the free encyclopedia
मोतिबिन्दु मानिसको आँखाको लेन्समा दाग लागेर दृष्टी क्षमता घट्ने रोग हो। मोतिबिन्दु बिस्तारै बढ्दै जाने रोग हो र यसले एउटा मात्र वा दुबै आँखामा असर पुर्याउन सक्छ। यो रोग लागेका मानिसहरूमा रङ्गहरू फिक्का देखिने, धमिलो देखिने, बत्ती वा प्रकाशका अन्य स्रोतहरूका वरिपरी गोलो घेरा देखिने, धेरै उज्यालोले समस्या पैदा गर्ने र राति आँखा नदेख्ने जस्ता लक्षणहरू देखा पर्छन्।[1] जसका कारण सवारी साधन चलाउन, पुस्तकहरू पढ्न वा मानिसको अनुहार पहिचान गर्न समस्या हुने गर्दछ।[6] मोतिबिन्दुका कारण हुने कमजोर दृष्टिले गर्दा मानिसमा लड्ने तथा डिप्रेसनमा जाने खतरा बढ्ने गर्दछ।[2] विश्वभर हुने मध्ये आधा जसो अन्धोपन तथा करीब ३३ प्रतिशत आँखाको कमजोरी मोतिबिन्दुका कारणले हुने गर्दछ।[3][7]
मोतिबिन्दु | |
---|---|
![]() | |
आँखाको परीक्षण गर्दा देखिएको मोतिबिन्दु | |
विशिष्टता | आँखाविज्ञान |
लक्षणहरू | रङ्गहरू फिक्का देखिने, धमिलो देखिने, बत्ती वा प्रकाशका अन्य स्रोतहरूका वरिपरी गोलो घेरा देखिने, धेरै उज्यालोले समस्या पैदा गर्ने र राति आँखा नदेख्ने[1] |
जटिलता | लड्ने, डिप्रेसन हुने, अन्धोपन[2][3] |
देखापर्ने समय | बिस्तारै बढ्दै जाने[1] |
कारक | उमेर, दुर्घटना, विकिरण, आँखाको सल्यक्रियापछि [1][4] |
जोखिम | मधुमेह, धुम्रपान, लामो समयसम्म घाममा रहनु, मद्यपान[1] |
पहिचान | आँखाको परीक्षण[1] |
सुरक्षा | चस्मा (सनग्लासेस) लगाउने, धुम्रपानबाट तथा मद्यपानबाट टाढा रहने[1] |
उपचार | चस्मा, सल्यक्रिया[1] |
बारम्बारता | ६ करोड (२०१५)[5] |
मोतिबिन्दु प्रायजसो बढ्दो उमेरसँगै देखा पर्ने समस्या हो तर कहिलेकाहीँ दुर्घटना वा विकिरणको प्रभावमा परेर, जन्मजात रूपमा वा आँखाको अन्य समस्याको लागि गरिएको सल्यक्रियाका कारण पनि यो समस्या देखा पर्ने गर्दछ।[1][4] मधुमेह, धुम्रपान, लामो समयसम्म घामको प्रकाशमा रहनु तथा मद्यपान आदिले यो रोगको जोखिम बढाउने गर्दछन्। यो रोग लागेको बेलामा प्रोटिनका ससाना टुक्रा वा पहेँला-खैरा रङ्गका कणहरू आँखाको लेन्समा जम्मा भएर आँखामा छिरेको प्रकाशलाई आँखाको पछाडिको भागमा रहेको रेटिनासम्म पूर्ण रूपमा प्रसारण हुन दिदैनन्। मोतिबिन्दु रोगको पहिचान गर्न आँखाको परीक्षण गर्नु पर्छ।[1]
मोतिबिन्दुबाट बच्नको लागि घाममा हिँड्दा घामबाट बचाउने चस्मा (सनग्लासेस) लगाउने तथा धुम्रपानबाट टाढा रहने गर्नु पर्छ। यदि भर्खरै लक्षण सुरुवात मात्र भएको छ भने चस्मा लगाएर पनि सुधार हुन सक्छ। यदि यसले सुधार नभएमा धमिलो भएको आँखाको लेन्सलाई सल्यक्रिया गरेर कृतिम लेन्सले फेर्नु एक मात्र प्रभावकारी उपचार हो। मोतिबिन्दुले दैनिक जीवनमा समस्या उब्जाएमा मात्र गुणस्तरीय जीवन प्राप्तिका लागि सल्यक्रिया आवस्यक मानिन्छ।[1][8] मोतिबिन्दुको उपचारका लागि गरिने सल्यक्रिया विश्वभर सबै देशहरूमा सहज रूपमा उपलब्ध छैन। यो रोग ग्रामिण क्षेत्रमा वसोवास गर्ने र लेखपढ गर्न नजान्ने महिलाहरूमा झनै ठूलो समस्याका रूपमा रहेको पाइन्छ।[4][9]
हाल विश्वभर करीब २ लाख मानिसहरू मोतिबिन्दुका कारण अन्धोपनको सिकार भएका छन्।[4] संयुक्त राज्य अमेरिकामा हुने अन्धोपनको करीब ५% र अफ्रिका तथा दक्षिण अमेरिकाका केही भूभागहरूमा लगभग ६०% अन्धोपन मोतिबिन्दुका कारण हुने गरेको पाइन्छ।[9] विकासोन्मुख देशहरूका प्रति एक लाख बालबालिकाहरूमा १० देखि ४० जना तथा विकसित देशहरूमा प्रति एक लाख बालबालिकाहरूमा १ देखि ४ जनामा मोतिबिन्दु लागेको पाइन्छ।[10] मानिसको उमेरसँगै यो रोग लाग्ने सम्भावना पनि बढ्दै जान्छ। अमेरीकामा ८० वर्ष पुगेका मानिसहरू मध्ये आधाभन्दा बढी मानिसहरूलाई मोतिबिन्दु भएको पाइयो।[1]