मधुमेह
नसर्ने रोग / From Wikipedia, the free encyclopedia
मधुमेहलाई अङ्ग्रेजीमा डायबिटिज, डायबिटिज मिलाइटस वा डायबिडिज मलाइटस (अमेरिकामा) भनिन्छ भने नेपालीमा चिनीरोग भनेर पनि चिनिन्छ। मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई सामूहिक रूपमा अङ्ग्रेजीमा डायबिटिज मिलाइटस भन्ने गरिन्छ।[1] रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन्। उपचार गरेन भने मधुमेहले धेरै जटिलताहरू निम्त्याउन सक्छ। छोटो अवधिका लागि देखिने कडा खालका जटिलताहरू डायबेटिक केटोएसिडोसिस र नन्केटोटिक हाइपरोस्मोलार कोमा हुन् भने[2] लामो अवधिसम्म रहने जटिलताहरूमा मुटु तथा रक्तनलीका रोगहरू (कार्डियोभास्कुलर डिजिजेज), स्ट्रोक, मिर्गौलाको खराबी, खुट्टामा हुने अल्सर तथा आँखामा खराबी आउने जस्ता समस्याहरू पर्दछन्।[3]
मधुमेह पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने समस्या हो। मधुमेहलाई मुख्यतया तीन प्रकारमा बाँडिएको छ:[2]
- टाइप वान डायबिटिज (पहिलो प्रकारको मधुमेह) मानिसको पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने समस्या हो। यसलाई पहिला "इन्सुलिनमा आधारित डायबिटिज मिलाइटस" वा "अपरिपक्व मधुमेह" भनेर चिनिन्थ्यो। के कारणले गर्दा पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने तथ्य हालसम्म पत्ता लागेको छैन।[2]
- टाइप टू डायबिटिज (दोस्रो प्रकारको मधुमेह) इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो। यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन्।[2] रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन सक्छ।[4] यसलाई पहिला "इन्सुलिनमा आधारित नहुने डायबिटिज मिलाइटस" वा "परिपक्व हुन लागेको मधुमेह" भनेर चिनिन्थ्यो। अत्याधिक तौल तथा अपर्याप्त शारीरिक व्यायाम टाइप टू डायबिटिजका प्रमुख कारकहरू हुन्।[2]
- गर्भावस्थामा हुने मधुमेह तेस्रो मुख्य प्रकारको मधुमेह हो। यस्तो मधुमेह गर्भवती महिलामा पहिला कहिल्यै नभएको भए पनि रगतमा चिनीको मात्रा बढेर अचानक देखा पर्ने गर्दछ।[2]
मधुमेहबाट बच्न तथा यसको उपचारको लागि स्वास्थ्यकर भोजन खाने, शारीरिक व्यायाम गर्ने, शरीरको तौल सामान्य राख्ने तथा सुर्तीजन्य पदार्थहरू नखाने गर्नु पर्छ। मधुमेहका रोगीहरूले रक्तचाप नियन्त्रणमा राख्नु तथा खुट्टाहरूको हेरविचार गर्नु आवस्यक हुन्छ। टाइप वान डायबिटिजलाई (पहिलो प्रकारको मधुमेह) इन्सुलिनको सुई लगाएर उपचार गर्नु पर्छ।[2] टाइप टू डायबिटिजको (दोस्रो प्रकारको मधुमेह) उपचार अन्य औषधिहरूको साथमा इन्सुलिन दिएर वा नदिइकन गर्ने गरिन्छ।[5] इन्सुलिन तथा केही मुखबाट खुवाइने औषधिहरूले रगतमा हुने चिनीको मात्रा घटाउन सक्छन्।[6] मोटोपन भएका तथा टाइप टू डायबिटिज (दोस्रो प्रकारको मधुमेह) लागेका व्यक्तिहरूमा तौल घटाउने सर्जरी पनि कहिलेकाहिँ लाभदायक हुने गरेको छ।[7] गर्भावस्थामा हुने मधुमेह साधारणतया बच्चा जन्माइसकेपछि हराएर जाने गर्दछ।[8]
एक अनुमानित तथ्याङ्क अनुसार सन् २०१५ मा विश्वभर ४१ करोड ५० लाख मानिसलाई मधुमेह रोग लागेको थियो।[9] जसमध्ये करीब ९०% लाई टाइप टू डायबेटिज (दोस्रो प्रकारको मधुमेह) लागेको थियो।[10][11] यो सङ्ख्या विश्वभरका वयस्कहरूको जनसङ्ख्याको ८.३% हो।[11] मधुमेह रोग लाग्ने दर महिला र पुरुषमा बराबर हुन्छ।[12] मधुमेहका कारण सन् २०१२ देखि २०१५ सम्म प्रत्येक वर्ष १५ लाखदेखि ५० लाख मानिसको मृत्यु भएको अनुमान गरिएको थियो।[5][9] मधुमेहले मानिसको मृत्यु हुने सम्भावनालाई दोब्बर बनाउँछ।[2] सन् २०३५ सम्ममा विश्वभर मधुमेहका रोगीहरूको सङ्ख्या करीब ५९ करोड २० लाख पुग्ने अनुमान गरिएको छ।[13] सन् २०१४ मा मात्रै विश्वभर करीब ६१ करोड २० लाख अमेरिकी डलर मधुमेहका लागि खर्च गरिएको अनुमान गरिन्छ।[14] अर्को तथ्याङ्क अनुसार सन् २०१२ मा संयुक्त राज्य अमेरिकामा मात्रै करीब २४ करोड ५० लाख अमेरिकी डलर मधुमेहका लागि खर्च गरिएको थियो।[15]