पूर्वी भारत र नेपालमा बोलिने भाषा From Wikipedia, the free encyclopedia
बज्जिका पूर्वी भारत र नेपालमा बोलिने भाषा हो जसलाई एथ्नोलग लगायत केही स्रोतहरूले मैथिली भाषाको भाषिका मान्छन्।[2] बज्जिका भारतको बिहारका उत्तर पश्चिम जिल्लाहरू र नजिकै रहेका नेपालका क्षेत्रहरूमा बोलिन्छ।
बज्जिका मुख्य गरी बिहार प्रान्तको समस्तीपुर, सीतामढी, मुजफ्फरपुर र वैशाली जिल्लाहरूका साथै केही हदसम्म पूर्वी चम्पारण, सारण र शिवहर जिल्लाहरूमा बोलिन्छ। मुजफ्फरपुर र समस्तीपुर जिल्लामा आसन्न दरभङ्गा जिल्लामा पनि बोलिन्छ।[3] नेपालमा बज्जिका बागमती नदीको उत्तर किनार देखि नारायणी नदीको पश्चिम किनार सम्म बोलिन्छ। बज्जिका भाषा बोलिने क्षेत्रहरू तिरहुत प्रमण्डलसँग संयोग भएको पाइन्छ।
सन् २००१ को भारतीय जनगणनामा आधारित भई अन्वेषक अभिषेक कश्यपले सन् २०१३ मा बिहारमा १ करोड १६ लाख निरक्षर वक्ता लगायत २ करोड बज्जिका वक्ता छन् भन्ने अनुमान गरेका थिए।[3] नेपालको राष्ट्रिय जनगणना २०५८ अनुसर २ लाख ३७ हजार ९ सय ४७ वक्ता भएको बज्जिकाको राष्ट्रिय जनगणना २०६८ मा ७ लाख ९३ हजार ४ सय १६ वक्ता थिए।[1] नेपालका रौतहट र सर्लाही जिल्लाहरूमा बज्जिकालाई मातृभाषाको रूपमा बोल्ने गरिन्छ।
बज्जिकालाई मैथिलीको भाषिका मानिएपनि यसका वक्ताहरूले यो छुट्टै भाषा हो भन्ने गर्छन्।[4][5] बज्जिकालाई मैथिलीको भाषिकाको रूपमा हेरिने हो कि होइन भन्न पनि बिहारमा बोलिने मैथिली भाषिकालाई हेर्ने हो कि सम्पूर्ण भाषिका समावेश गरिएको मैथिली भाषालाई हेर्ने भन्ने कुरा उठ्छ। २०औँ शताब्दीको प्रारम्भिक कालतिर बिहारका विद्यालयमा मैथिलीलाई प्रमुख भाषाको रूपमा पढाइने निर्णय गर्दा पनि बज्जिका र अङ्गिका बोल्ने व्यक्तिहरूले यसको विरोध गरी हिन्दीलाई प्रमुख भाषाको रूपमा पढाइनुपर्ने माग गरेका थिए।[6] बज्जिका भाषाको आधिकारिक स्थिति सन् १९५० तिर छलफलको विषय बन्न थालेको थियो।[3] सन् १९६० र सन् १९७० का दशकमा मैथिली वक्ताहरूले उनीहरूका लागि छुट्टै मिथिला प्रान्त बनाउने माग गरेपछि अङ्गिका र बज्जिका भाषीहरूले पनि उनीहरूको भाषालाई आधिकारिक मान्यता दिनुपर्ने माग गरे।[7] यसपश्चात बज्जिकाञ्चलमा भाषिक सक्रियता देखियो र बज्जिकालाई आधिकारिक मान्यता प्रदान गर्न हेतु विभिन्न आन्दोलनको आयोजना गरियो।[3]
मैथिली समर्थकहरूले बज्जिकालाई अझै पनि मैथिलीकै भाषिक मानी बिहार सरकार र बिहार राष्ट्रभाषा परिषदले मैथिली भाषा आन्दोलनलाई कम्जोर बनाउन बज्जिका र अङ्गिकालाई आधिकारिक मान्यता दिएको विश्वास राख्छन्।[6] मैथिली आन्दोलनलाई मुख्यतः मिथिला ब्राह्मण र करण कायस्थ समुदायले समर्थन गरेका छन् भने अन्य जातका समुदायले मैथिलीको सट्टा बज्जिका र अङ्गिका बोल्न रुचाउँछन्।[8] बज्जिका वक्ताहरूले असफल्तापूर्वक बिहारमा बज्जिकालाई आधिकारिक भाषा बनाउने माग गरेका थिए।[9]
सन् २००९ मा सार्वजनिक गरिएको 'लक्ष्मी एलथिन हम्मर अङ्गना' प्रथम बज्जिका चलचित्र थियो। त्यसपछि 'साजन आइहा डोली' सार्वजनिक गरिएको थियो।[10]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.