From Wikipedia, the free encyclopedia
पहेँलो पुच्छ्रे कालो सुगा अस्ट्रेलियाको दक्षिण-पूर्वी क्षेत्रमा पाइने एक ठूलो प्रजातिको सुगा हो। यो चराको औसत लम्बाई ५५-६५ सेन्टिमिटर (२२-२६ इन्च) हुन्छ। यो पन्छीको टाउकोको माथिल्लो भागमा छोटो शिखा रहेको हुन्छ। यस प्रजातिको सुगाको प्वाँख तथा भुत्लाहरू प्रायजसो खैरो तथा कालो हुन्छ भने यसको ठुँडो (चुच्चो) पहेँलो हुन्छ। यस प्रजातिको सुगाको भाले जातिको ठुँड कालो र गुलाफी रातो आँखा हुन्छ भने पोथीको प्वाँखको रङ फिका कालो र खैरो आँखा हुन्छ। उड्दा खेरी यसले पुरै पखेटा फिजाएर सुस्त चालमा उड्ने गर्दछ।
पहेँलो पुच्छ्रे कालो सुगा | |
---|---|
अस्ट्रेलियाको न्यु वेल्समा एक वयस्क भाले | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | सुगा |
परिवार: | Cockatoo |
वंश: | Calyptorhynchus जर्ज श, सन् १७९४ |
प्रजाति: | C. funereus |
वैज्ञानिक नाम | |
Calyptorhynchus funereus जर्ज श, सन् १७९४ | |
उपप्रजाति | |
C. (Z.) f. funereus | |
पहेँलो पुच्छ्रे कालो सुगाको बासस्थान दायरा |
पहेँलो पुच्छ्रे कालो सुगा अस्ट्रेलियाको घना जङ्गलमा दक्षिण देखि मध्य पूर्वी र क्विन्सल्यान्ड देखि दक्षिणपूर्वी क्षेत्रमा पाइन्छ। यो प्रजातिको पन्छी अस्ट्रेलियाको आयरा प्रायद्वीपमा पनि भेटिन्छन्। अन्य प्रजातिका सुगा जस्तै पहेँलो पुच्छ्रे कालो सुगाले मुख्यतया बीउहरू खाने गर्दछ। यस सुगाले आफ्नो गुँड हलक्क बढ्ने र अग्लो झुरो बोट हुने एक प्रकारको रुखको टुप्पोमा बनाउँछ भने यस पन्छीको गुँड फराकिलो र खोक्रो हुन्छ। यो प्रजातिका पन्छीहरू मुख्यतया आफ्नो बासस्थान दायराभित्रनै बस्ने गर्छन्। अस्ट्रेलियाको जङ्गलमा हुने अग्लो र झुरो रुखको विनास र बासस्थान दायरामा मानिसहरूको आवतजावत र सिकारीहरूका कारण यस प्रजातिको सुगाको सङ्ख्या भिक्टोरिया र दक्षिण अस्ट्रेलियामा घटेको पाइएको छ। अस्ट्रेलियाका केही स्थानहरू जस्तै; क्यानबरा, सिड्नी, मेलबर्न र एडिलेडमा यस पन्छीलाई मानिसहरूले आफ्नो घरको शोभा बढाउनका लागि पाल्ने गरेका छन्। अस्ट्रेलियाबाहिर पन्छीपालनको हिसाबले यस पन्छीलाई पाल्ने गरिएको छैन। यो पन्छीको सङ्ख्या अस्ट्रेलियामा सन्तोषजनक रहेको हुँदा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यस सुगालाई कम चासोको प्रजातिको रूपमा वर्गीकरण गरेको छ।
पहेँलो पुच्छ्रे कालो सुगालाई सन् १७९४ मा प्रकृतिविद् 'जर्ज शा'ले पहिलोपटक वर्णन गरेका थिए भने सन् १८२६ मा फ्रान्सेली प्रकृतिविद् एन्सल्म गेटन डेस्मर्टले यस सुगालाई नयाँ जातको पन्छीको रूपमा वर्गीकरण गरेका थिए।[2] पहेँलो पुच्छ्रे कालो सुगाको आधिकारिक नाम अन्तर्राष्ट्रिय पन्छी सङ्घद्वारा जारी गरिएको थियो।[3] यस प्रजातिका सुगा भित्र पहेँलो पुच्छ्रे कालो सुगा र तीन पश्चिमी अस्ट्रेलियाली सुगा; सेतो पुच्छ्रे, छोटो ठुँडे र लामो ठुँडे कालो सुगाहरूलाई पछि एकै प्रजातिमा वर्गीकृत गरिएको थियो भने रातो पुच्छ्रे र कालो सुगालाई भने अर्को उपप्रजातिमा वर्गीकरण गरिएको थियो।[4][5] यस दुई उपप्रजातिलाई भने प्वाँखको रङ्गबाट छुट्याउन सकिन्छ।[6] सन् १९७९ मा अस्ट्रेलियाली प्रकृतिविद् डेनिस सउन्डर्सले छोटो ठुँडे र पहेँलो पुच्छ्रे सुगाको प्रजाति बीचको समानता प्रष्ट पारेका थिए।[7][8] उनले सार्वजनिक गरेको प्रतिवेदनमा पश्चिमी पहेँलो पुच्छ्रे कालो सुगा र यस प्रजातिका अन्य सुगाहरू अनुकूल महिना आगमनमा एकै ठाउँ बसोबास गर्ने र विभिन्न प्रजातिका सुगाहरूसँगको प्रजननका कारण छोटो ठुँडे कालो सुगाको उत्पत्ति भएको भनि उल्लेख गरिएको छ।[9][10]
पहेँलो पुच्छ्रे कालो सुगाको औसत लम्बाई ५५–६५ सेन्टिमिटर (२२–२६ इन्च) हुन्छ भने यसको तौल ७५०–९०० ग्राम हुन्छ। यो पन्छीको टाउकोको माथिल्लो भागमा छोटो चलायमान शिखा रहेको हुन्छ। यस प्रजातिकको सुगाको मुख्यतया प्वाँख तथा भुत्लाहरू खैरो तथा कालो हुन्छ भने यसको ठुँड (चुच्चे) पहेँलो हुन्छ। यस प्रजातिको सुगाको भाले जातिको ठुँड कालो र गुलाफी रातो आँखा हुन्छ भने पोथीको प्वाँखको रङ फिका कालो र खैरो आँखा हुन्छ। यस प्रजातिको सुगाको पुच्छर पहेँलो र शरीर कालो हुने भएकाले यसलाई पहेँलो पुच्छ्रे कालो सुगा भनिएको हो। यस प्रजातिमा पर्ने उपप्रजातिका सुगाको भने पुच्छरको लम्बाई ३३ सेमी (१३ इन्च) र औषत पुच्छरको लम्बाई ५ सेमी लामो हुन्छ। यस प्रजातिको वयस्क भाले फेनरस वर्गमा पर्ने सुगाको भने तौल ७३१ ग्राम (१.६१२ पाउण्ड) र वयस्क पोथीको लम्बाई ८०० ग्राम (१.८ पाउण्ड) हुन्छ। दक्षिण भूभागमा पाइने यस सुगाको उपप्रजातिको शरीरको भुत्ला र प्वाँखको रङ गाढा खैरो र कालो हुन्छ भने दक्षिण भूभागमा पाइने पन्छीको भने शरीरको भित्री भाग पहेँलो हुन्छ।[11]
पहेँलो पुच्छ्रे कालो सुगाको वयस्क भाले प्रजातिको ठुँड कालो र मधुरो रङ्गको हुन्छ र यसको आँखा वरिपरि पहेँलो घेरा हुन्छ भने आँखाको रङ कालो हुन्छ। यस सुगाको पोथीको आँखा वरपर खैरो घेरा र आँखाको रङ कालो हुन्छ। पहेँलो पुच्छ्रे कालो सुगाको युवा चराको भने धमिलो कालो प्वाँख र खैरो घेराले आँखा वरपर घेरेको हुन्छ। युवा अवस्थाबाट वयस्क हुँदै जाँदा यस पन्छीको भाले जातको ठुँडको माथिल्लो भाग कालो हुँदै जान्छ। चार वर्ष पछि यस सुगाको ठुँडको तल्लो भाग पनि कालो हुँदै जान्छ। यस प्रजातिको पन्छीको ठुँडको अन्तिम भाग तिखो हुन्छ जसले गर्दा यसले आफ्नो सुरक्षा र मरेका रुखहरू सहजै खन्न सक्छ। युवा अवस्थाबाट वयस्कमा परिणत हुँदा यस सुगाको आँखाको वरपरको भाग खैरोबाट गुलाफी रङ्गमा परिवर्तन हुन्छ। अस्ट्रेलियाी किसान तथा प्रकृतिविद् जोन कोर्ट्नीका अनुसार यस प्रजातिको सुगाको युवा र पोथीको आँखाको रङ तथा घेराहरू उस्तै हुने भएकाले भाले प्रजातिले युवा सुगालाई आक्रमण गर्ने दर घटेको बताएका थिए।[12]
पहेँलो पुच्छ्रे कालो सुगा र यसै परिवारमा पर्ने अन्य कालो सुगाहरू यसको पहेँलो पुच्छरबाट सहजै छुट्टिन्छ भने यसले अन्य कालो सुगाले भन्दा फरक आवाज निकाल्ने गर्दछ। केही कागका प्रजातिहरू उड्दा खेरी यस पन्छी जस्तो देखिन्छ तर कागको पुच्छर छोटो भएका कारण छुटट्याउन सकिन्छ। यस प्रजातिका पहेँलो प्वाँख हुने पन्छीहरू पनि अस्ट्रेलियाको भिक्टोरियामा फेला पारिएको थियो।
पहेँलो पुच्छ्रे कालो सुगा समुन्द्री सतहबाट २,००० मिटर (६,०० फिट) को उचाईमा बसोबास गर्छ। यो पन्छी अस्ट्रेलियाको दक्षिण पूर्वीय क्षेत्र, तास्मानिया टापु, बास जलसिन्धी र कङ्गारू टापुमा पाइन्छन्। तास्मानिया र बास जलसिन्धी टापुमा पहेँलो पुच्छ्रे कालो सुगामा रैथाने पन्छी हो। मुख्य भूमिमा यो पन्छी दक्षिण र मध्य पूर्वी क्विन्सल्यान्डको दक्षिण र मध्य दक्षिण क्विन्सल्यान्ड गिन गिन र गिम्पीको वरपरबाट फेला पर्दछ जहाँ यो विशाल विभाजक हिमश्रृङ्खलाको किनारमा र तटमा पनि भेटिन्छ। यस प्रजातिको सुगा भिक्टोरिया उत्तरी र उत्तरपश्चिम कुनामा र दक्षिण अस्ट्रेलियाको कोरङ र लोफ्टी पर्वतमालामा पनि पाइन्छ। आयरा प्रायद्विपमा यो पन्छीको सङ्ख्या ३० देखि ४० रहेको छ। त्यस क्षेत्रमा यी पन्छीहरू अग्लो र हलक्क बढ्ने रुखमा गुँड बनाएर बस्छन् भने प्रजनन मौसम सकिएपछि यी पन्छी मल्ला क्षेत्रमा जाने गर्छन्। न्यु साउथ वेल्सको दक्षिणी तटमा यी चराहरू हिउँदमा माथिल्लो क्षेत्रबाट तल्लो तटीय क्षेत्रमा सर्छन् भन्ने प्रमाण फेला पारिएको थियो। यी पन्छीहरू सामान्यतया आफ्नो बासस्थान दायराभित्र सहजै भेटिन्छन् यद्यपि यस पन्छीको दायराको सीमामा दुर्लभ रूपमा भेटिन्छन्। यस पन्छीको प्रजनन दायरा ठूला पुराना रूखहरूको क्षेत्रहरूमा पर्दैन। पहेँलो पुच्छ्रे कालो सुगा विषेशगरी विभिन्न स्थानहरूमा बसोबास गर्दछ जसमा यी पन्छीहरू मुख्यतया बगैँचा, घाँसे जङ्गल, अशोक रोपण क्षेत्र र कहिलेकाँही सहरी क्षेत्रहरूमा पाइन्छन् जहाँबाट प्रशस्त खाद्यान्न आपूर्ति हुन्छ। यस प्रजातिका पन्छीहरू उपनगरीय सिड्नीका केही भागहरूमा पनि भेटिन्छन् जहाँ यी पन्छी विशेष गरी गोल्फ कोर्समा वा अशोक रोपण क्षेत्र र पार्कहरूमा पाइन्छन्। यस पन्छीको बासस्थान दायरामा मानव आवतजावत र बन विनाशले गर्दा यसको बासस्थान दायरा घट्दो क्रममा छ। सहरी मेलबर्नमा यो पन्छी दायरा ब्यान्ड पार्कमा पनि कैद गरिएको थियो। सन् २००९ फेब्रुअरीमा अस्ट्रेलियाको मेलबर्न आसपासको जङ्गलमा भिषण आगोलागीमा परि यस पन्छीको बासस्थान केही हदसम्म नष्ट भएको थियो।[13]
पहेँलो पुच्छ्रो कालो सुगाले दिन र रात दुवै समयमा राम्रोसँग देख्न सक्छ साथै यस पन्छीले चर्को रुखो आवाज निकाल्ने गर्दछ। जसले गर्दा यो पन्छी देखिनुभन्दा अगाडि यसको आवाज सुनिन्छ। यस पन्छीले आहाराका लागि लामो यात्रा तय गर्ने गर्छ र यसले आफ्ना जोडीलाई आवाज दिन्छ। सामान्यतया यस पन्छी समूहमा जोडी भएर अथवा बचेरासँग उडेको देखिन्छ। प्रजनन महिना भन्दा पहिला शरद ऋतु र हिउँद ऋतुमा यस पन्छी एकै ठाउँमा लगभग सय भन्दा बढी पहेँलो पुच्छ्रे कालो सुगा जम्मा हुन्छन्। यस पन्छी मानिसहरूसँग त्यति नडराउने भएकाले सहर क्षेत्र र मानिस बस्ती भएको स्थानहरूमा पनि भेटिन्छन्। यी पन्छीहरू मुख्यतया अग्लो रुखमा बस्छन् भने किरा फटयाङ्ग्रा, आहारा र पानीका लागि यी पन्छीहरू जमिनमा आउने गर्दछन्।
यी पन्छीहरूले आफ्नो गुँड बनाउनका लागि अग्लो र हलक्क बड्ने मसलाको रुखलाई छनोट गर्छन् भने उपयुक्त स्थान नभेटुञ्जेलसम्म यिनीहरू रुख चहार्दै हिड्छन्। यस प्रजातिका सुगाहरू मुख्यतया रातको समयमा आराम गर्छन् भने गर्मी दिनमा पनि यी पन्छी गुँडमै बस्छन्। यी पन्छीका समूहहरू अत्यधिक हिउँद आउनुभन्दा अगाडि गुँडमा बास बस्छन्। यो पन्छीले उड्ने क्रममा आफ्नो जोडीलाई डाक्नका लागि 'किउ किउ किउ' आवाज निकाल्छन् जुन आवाज निकै टाढासम्म पनि सुनिन्छ। यस पन्छीले आहारा र झुसिलकिरा जस्ता प्रजातिको खोजीमा जाँदा मसिनो आवाज निकाल्छन्। यस प्रजातिका वयस्क पन्छीहरू आहारा खाने क्रममा सानो आवाज निकाल्छन् भने साना बचेराले आहारा खाँदा चर्को आवाज निकाल्छन्। यस प्रजातिका सुगाले जस्तै आवाज नक्कल अर्को पन्छीले पनि कहिलेकाँही निकाल्ने गर्दछ।[14]
पहेँलो पुच्छ्रे कालो सुगाको प्रजनन महिना अक्षांशमा फरक पर्दछ। सामान्यतया क्विन्सल्यान्ड यस पन्छीले अप्रिलदेखि जुलाई महिनासम्म, न्यु साउथ वेल्समा जनवरीदेखि मेसम्म, भिक्टोरियामा, दक्षिण अस्ट्रेलिया र तासमेनियामा अक्टोबरदेखि फेब्रुअरीसम्म हुने गर्दछ।[15]
यस पन्छीले आफ्नो गुँड एक अग्लो र हलक्क बढ्ने रुखमा बनाउने गर्छन्। यी पन्छीहरूलाई अन्य सिकारी पन्छीले आक्रमण गरी अण्डा खाइदिने हुँदा यसले गुँड बनाउँदा एकमात्र रुख भएको स्थान छनोट गर्छन् तर प्रजनन मौसममा एकै रुखमा पटकपटक प्रयोग गर्छन्। अस्ट्रेलियाको पूर्वी भिक्टोरियामा पाइने यी पन्छीहरूले २२८ वर्ष पुराना रुखहरू गुँड बनाउन प्रयोग गर्ने गरेको सन् १९९४ को एक अध्ययनले देखाएको थियो। यस पन्छीको गुँड १ देखि ३ मिटर (३.३ देखि ६.६ फिट) गहिरो र ०.२५ देखि ०.५ मिटर (९.८ देखि १९.७ इन्च) चौडा हुन्छ भने यसले गुँड बनाउँदा सुकेका झार, रुखका मसिना हाँगाहरूको प्रयोग गर्दछ।[16] यस पन्छीले गुँड बनाउने क्रममा दुवै भाले र पोथी सामेल हुन्छ भने यी पन्छीले सुकेका झार पात, रुखका मसिना हाँगाहरू बटुल्ने गर्दछन्। गुँडको भित्री भागमा भने अण्डा राख्नका लागि खाल्डो जस्तो बनाइएको हुन्छ। गुँड बनाउने क्रममा विशेष खालको पात पनि प्रयोग गरिन्छ। यस पन्छीको पोथी जातिले एक अथवा दुई अण्डा पार्ने गर्दछ जुन चम्किलो हुन्छ। यस पोथीको पहिलो अण्डा ४७ देखि ४८ मिलिमिटर लामो र व्यास ३७ मिलिमिटर हुन्छ। पोथीले पहिलो अण्डा पारेपछि अर्को अण्डा एक हप्ताको अन्तरालमा पार्ने गर्दछ जसको लम्बाई र व्यास पहिलो अण्डाभन्दा २ मिलिमिटर सानो हुन्छ। अण्डा पारिसकेपछि पोथीले अण्डा कोरल्न शुरू गर्छ। पोथी ओथारो बस्दा खेरी आहाराको व्यवस्थापन भालेले गर्दै दिनको २ देखि ४ पटकसम्म आहारा ल्याउने गर्दछ भने अण्डाबाट चल्ला निस्किसकेपछि दुवै भाले र पोथीले बचेरालाई आहारा ख्वाउने गर्दछन्। यस प्रजातिको पन्छीले दोस्रो चल्लालाई आहारा नदिने व्यवस्थाको कारणले दोस्रो चल्लाको भयानक रूपमा मृत्यु हुन्छ। पोथी ओथारो बसेको २८ देखि ३१ दिनपछि अण्डाबाट चल्ला निस्किन्छन्। भर्खरै अण्डाबाट निस्किएका चल्लाहरू पहेँलो रङ्गका हुन्छन्। चल्लाहरू जन्मिएको ३ महिनापछि गुँडबाट उड्न थाल्दछन् भने अर्को प्रजनन महिनाको शुरूवात नहुँदासम्म यिनीहरू गुँडमै अर्थात वयस्क भाले पेथीसँगै बस्छन्।
यस परिवारमा पर्ने अन्य प्रजातिका सुगा जस्तै यसको पनि आयु लामो हुन्छ। यस प्रजातिका पन्छीहरूले ४१ देखि ३७ वर्ष सम्मको उमेर पश्चात् प्रजनन गर्न बन्द गर्छन्। यी पन्छीहरू अण्डाबाट निस्किएको ४ देखि ६ वर्ष पछि प्रजनन गर्न तयार हुन्छन्।[17]
पहेँलो पुच्छ्रे कालो सुगाको आहारा बासस्थान दायरा, मौसम र वातावरणमा भर पर्छ। यस प्रजातिको पन्छीले मुख्यतया फलफूलका बीउ तथा फलहरू खाने गर्दछन्।[18] अस्ट्रेलियाको आयरा प्रयाद्वपमा रहेको अशोक वृक्षको जङ्गलमा यी पन्छीहरू आहारा खोज्न जाने गर्दछन्। यी पन्छीहरूको प्रमुख आहारा मरेको रुख भित्र रहेका लामा किराहरू हो भने यसले गोब्रेकिराको पनि सिकार गर्दछ।[19] यो प्रजातिको पन्छीले किराहरूको खोजलाई वर्षको जुन र जुलाई महिनामा तीव्र बनाउँछ जति बेला यी किराहरू प्रशस्त मात्रामा भेटिन्छन्।[20] सिकार गरेका किराहरूलाई यी पन्छीहरूले आफ्नो बचेरा तथा साना चराहरूलाई पनि ख्वाउने गर्दछ। यी पन्छीले रुख तथा जमिनमा स-साना खाल्डोहरू खन्छन् र त्यहाँबाट किरा निकाल्छन्।[21] यस पन्छीले ठुला किराहरूलाई नङ्ग्राले र चुच्चाले टुक्राटुक्रा बनाई खाने गर्दछ। यी पन्छीहरूलाई बेङ्कसियामा पनि फेला पारिएको थियोे। यी पन्छीहरूले मुख्यतया बिहान र बेलुकाको समयमा पोखरी, तलाउ र पानी जम्मा हुने ठाउँमा गई पानी पिउने गर्छन्।[22]
पहेँलो पुच्छ्रे कालो सुगाले अस्ट्रेलियाका विभिन्न क्षेत्रहरूमा लगाइएका अशोक र मसलाको (एक प्रकारको लामो पात र हलक्क बढ्ने रुख) रुखबाट किराहरू तथा आहारा निकाल्ने भएकोले रुख लगाइएको क्षेत्रमा क्षति पुर्याउने गर्दछ।[23] गम बनाउने प्रयोग गरिने विशेष खालको रुखका साना किराहरू र रेशम किराहरू निकाल्ने क्रममा यसले रुखमा ठूलो मात्रामा क्षति पुर्याउछ। यी पन्छीहरूको सानो रुखबाट पनि रेशम किरा निकाल्ने गर्दछन् जसका कारण साना रुखहरू धेरै वर्षसम्म पनि बढ्न सक्दैनन्। सन् १९४० को दशकमा यस जातका पन्छीहरूको ठूलो समूहले रुख लगाएको क्षेत्रमा भारि मात्रामा क्षति पुर्याएकोले यस प्रजातिका पन्छीहरूलाई अस्ट्रेलियाको न्यु साउथ वेल्समा कैद गर्न शुरू गरिएको थियो। यस पन्छीलाई अस्ट्रेलियाको स्थानीय सरकारले मुख्य पन्छीको दर्जामा राखेको थियो। [24]
पहेँलो पुच्छ्रे कालो सुगा अस्ट्रेलियामा तथा वरपरका क्षेत्रहरूमा प्रशस्त मात्रामा पाइएका कारण यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कम चासोको प्रजातिको रूपमा वर्गीकरण गरेको छ तर वन विनास, मानिसहरूको आवतजावत र सिकारीहरूले यस प्रजातिका पन्छीलाई शिकार गरेको कारण अस्ट्रेलियाको भिक्टोरिया र न्यु साउथ वेल्स क्षेत्रमा यस पन्छीहरूको सङ्ख्या घट्दो क्रममा रहेको छ। यी पन्छीहरू लोफ्टस हिमश्रृङ्खला र आयरा प्रायद्वीपमा कम मात्रामा भेटिएका कारण दक्षिण अस्ट्रेलियामा भने यस पन्छीलाई सङ्कटापन्न पन्छीको सूचीमा वर्गीकरण गरिएको छ। यस प्रजातिको पन्छीको सङ्ख्या वृद्धि गर्नका लागि सन् १९९८ मा एक कार्यक्रम आयोजना गरिएको थियो जसका कारण सन् १९९८ मा केही मात्रामा यस पन्छीको सङ्ख्या वृद्धि भएको थियो।[25][26] अस्ट्रेलियाका केही स्थान जस्तै; क्यानबरा, सिड्नी, मेलबर्न र एडिलेडमा यस पन्छीलाई मानिसहरूले आफ्नो घरको शोभा बढाउनका लागि पाल्ने गरेका छन्। यस पन्छी अस्ट्रेलिया बाहिर सितिमिति देखिएको पाइएको छैन। सन् १९५० को दशक भन्दा पहिला यी पन्छीहरू अस्ट्रेलियामा कम मात्रामा भेटिएका थिए भने तात्कालिक समयमा कयौँ जङ्गल आगन्तुक चराहरू अस्ट्रेलियामा प्रवेश गरका थिए भने त्यस दशक पछि यस पन्छीहरू अस्ट्रेलियामा प्रशस्त मात्राका भेटिन थालेका थिए।[27] यस प्रजातिको पन्छीको सङ्ख्या वृद्धि गर्न हाल थुप्रै मात्रामा पन्छीशाला तथा पन्छी संरक्षण संस्थाहरू खोलिएको छ। अस्ट्रेलियाले सन् १९५९ मा यस पन्छी लगायत अन्य पन्छीको बिक्रीमा रोक लगाएका कारण कालो सुगाको प्रजाति मध्ये यी पन्छीहरू युरोपकको चिडियाखानाहरूमा कम मात्रामा रहेका छन्। सन् २००० मा यस प्रजातिको पन्छी स्पेनको एक ठाउँमा फेला पारिएको थियो। अन्य प्रजातिका सुगाहरू जस्तै पहेँलो पुच्छ्रे कालो सुगालाई पनि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले सुरक्षा दिएको छ भने यसलाई अस्ट्रेलियाका केही स्थानहरूमा सङ्कटमा परेका कारण यसलाई सङ्कटापन्न पन्छीको सूचीमा वर्गीकरण गरिएको छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.