करवा चौथ
From Wikipedia, the free encyclopedia
करवा चौथ सनातन हिन्दू धर्मावलम्बीहरूको एउटा प्रमुख पर्व हो । यो पर्व खासगरी भारतको पञ्जाब, उत्तर प्रदेश, मध्य प्रदेश र राजस्थान प्रान्तमा र फाटफुट रूपमा नेपालको तराई लगायत विश्वभरि नै मनाउने गरिन्छ । यो पर्व कार्तिक महिनाको कृष्ण पक्षको चतुर्थी तिथि पारेर मनाइन्छ । यो पर्वलाई विशेष गरी सौभाग्यवती (पति जीवित भएकी सधवा) स्त्रीहरूले व्रत सम्पादन गरेर मनाउने गर्दछन् । सामान्यतया कार्तिक महिनाको कृष्णपक्षमा पर्ने चन्द्रोदयका समयमा जुन दिन चौथी तिथि (चन्द्रोदयव्यापिनी चतुर्थी) पर्दछ, त्यसै दिनको विहान ब्रह्म मूहुर्त (करिब बिहानको चार बजे)बाट यो व्रत सुरू हुन्छ र बेलुका चन्द्रमाको दर्शन र पूजा गरेपछि व्रत सम्पन्न हुन्छ । करवाचौथका दिन दिनभरि उपवास राखेर राती चन्द्रमालाई अर्घ्य दिएपछि भोजन गर्ने विधान छ । यस बाहेक, करवाचौथको व्रत र उत्सवका क्रममा धेरै जसो महिलाहरूले आफ्नो घरपरिवारमा परम्परादेखि प्रचलित विधिविधान र प्रथालाई अनुसरण गर्दछन्, यद्यपि बहुसंख्यक महिलाहरूले निराहार रहेर चन्द्रोदयको प्रतीक्षा गर्दछन् र चन्द्रदर्शनपछि मात्र व्रतको समापन गर्दछन् । नेपालमा मनाइने तीजको व्रत जस्तै यस व्रतको सम्पादनबाट पतिको सुस्वास्थ्य, दीर्घायु र अटल सौभाग्यको प्राप्ति हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । १२ वा १६ वर्षसम्म प्रत्येक वर्ष लगातार लिएपछि यस व्रतको उद्यापन (उपसंहार) गर्ने नियम छ । तर कतिपय सधवा स्त्रीहरूले आजीवन यस व्रतको सम्पादन गर्ने गर्दछन् ।
करवा चौथ | |
---|---|
वैकल्पिक नाम | करक चतुर्थी |
अनुयायी | विवाहित हिन्दू पुरुष र महिला, केहि क्षेत्रहरूमा, अविवाहित हिन्दू महिला वा किशोर केटाहरू[lower-alpha 1][2] |
प्रकार | हिन्दू |
मिति | कार्तिक कृष्ण चतुर्थी |