![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/5/57/Benign_Ovarian_Cyst.jpg/640px-Benign_Ovarian_Cyst.jpg&w=640&q=50)
ओभरियन सिस्ट
डिम्बाशयमा देखापर्ने फोका / From Wikipedia, the free encyclopedia
ओभरियन सिस्ट भन्नाले महिलाहरूको डिम्बाशयमा तरल पदार्थ भरिएको पानी फोका देखापर्ने समस्या हो।[1] यो समस्या भएका प्रायजसो महिलाहरूमा कुनै पनि लक्षणहरू नदेखिन पनि सक्छ। कहिलेकाहीँ यो रोग लागेपछि पेट फुल्ने, तल्लो पेट दुख्ने वा ढाडको तल्लो भाग दुख्ने समस्या देखापर्न सक्छ।[1] धेरै जसो ओभरियन सिस्ट हानि नपुर्याउने खालका हुन्छन्। यदि पानी फोका फुट्यो वा यसले गर्दा डिम्बाशय बटारियो भने गम्भीर पीडा दिनसक्छ। यसले बान्ता हुने वा बेहोस हुने जस्ता समस्या निम्ताउन पनि सक्छ।[1]
ओभरियन सिस्ट | |
---|---|
![]() | |
फोलिकुलर सिस्ट | |
विशिष्टता | स्त्री रोग |
लक्षणहरू | पेट फुल्ने, तल्लो पेट दुख्ने वा ढाडको तल्लो भाग दुख्ने [1] |
जटिलता | सिस्ट (पानी फोका) फुट्ने, डिम्बाशय बटारिने[1] |
प्रकार | फोलिकुलर सिस्ट, कर्पस लेक्टम सिस्ट, इन्डोमेट्रियोसिसका कारणले हुने सिस्ट, डर्मोइड सिस्ट, सिस्टाडेनोमा, ओभरियन क्यान्सर[1] |
पहिचान | अल्ट्रासाउन्ड[1] |
सुरक्षा | हर्मोनल गर्भ निरोधक चक्की[1] |
उपचार | परम्परागत ब्यवस्थापन, पीडा कम गर्ने औषधिहरू, सल्यकृया[1] |
निको हुने प्रकृया | प्राय राम्रो[1] |
बारम्बारता | उमेरका कारण महिनावारी रोकिनुभन्दा पहिलाका करीब ८% महिला[1] |
धेरै जसो ओभरियन सिस्ट डिम्ब निर्माण प्रकृयासँग सम्बन्धित हुन्छन्। यसरी देखा परेका सिस्ट दुई प्रकारका हुन्छन्: फोलिकुलर सिस्ट वा कर्पस लेक्टम सिस्ट। त्यस्तै इन्डोमेट्रियोसिसका कारणले हुने सिस्ट, डर्मोइड सिस्ट तथा सिस्टाडेनोमा सिस्टका अन्य प्रकारहरू हुन्।[1] पोलिसिस्टिक ओभरियन सिन्ड्रोम भएको बेलामा दुबै डिम्बाशयमा मसिना तर धेरै पानी फोकाहरू देखा पर्ने गर्दछ।[1] पेल्भिक इन्फ्लामेटरी डिजिज (तल्लो पेट सुन्निने समस्या) भएर पनि ओभरियन सिस्ट हुने दरेको पाइन्छ। ओभरियन सिस्ट एकदमै कम महिलाहरूमा डिम्बाशयको क्यान्सरको रूपमा पनि देखा परेको पाइन्छ। यो रोगको पहिचानको लागि तल्लो पेटको अल्ट्रासाउन्ड गर्न सकिन्छ। बिस्तृत विवरण प्राप्त गर्नका लागि अन्य परीक्षणहरू पनि गर्ने गरिन्छ।[1]
सिस्टको उपचारका लागि प्रायजसो यसलाई लामो समयसम्म अवलोकन गरिन्छ। यदि सिस्टका कारण धेरै पीडा भएको छ भने पारासिटामोल (एसिटामिनोफेन) वा आइबुप्रोफेन जस्ता पीडा कम गर्ने औषधिहरू प्रयोग गर्न सकिन्छ। लगातार रूपमा सिस्टको समस्या देखा पर्ने महिलाहरूले हर्मोनल गर्भ निरोधक चक्की (पिल्स) प्रयोग गरेर यो रोगबाट छुटकारा पाउन सक्छन्।[1] यद्यपी हालसम्म पिल्स प्रयोग गरेर ओभरियन सिस्ट पूर्ण रूपमा निको भएको कुनै तथ्य फेला परेको छैन।[2] यदि धेरै महिनासम्म पनि पानी फोकाहरू फुटेर गएनन्, आकार पनि बढ्दै गयो, असामान्य देखिए वा पीडादायक भए भने सल्यकृया गरेर हटाउने गरिन्छ।[1]
प्राय सबै वयस्क महिलाहरूको डिम्बाशयमा प्रत्येक महिना साना पानी फोका निर्माण हुने गर्दछन्। उमेरका कारण महिनावारी रोकिनुभन्दा पहिलाका करीब ८% महिलाहरूमा ठूला पानी फोकाहरू देखा पर्ने गर्दछ।[1] त्यस्तै उमेर पुगेर महिनावारी रोकिएका करीब १६% महिलाहरूमा ओभरियन सिस्ट देखिएको पाइन्छ। यो उमेरमा देखिने प्राय ओभरियन सिस्ट डिम्बाशयको क्यान्सरको लक्षण पनि पनि हुन सक्छ।[1][3]