अन्तर्राष्ट्रिय योग दिवस
From Wikipedia, the free encyclopedia
आज संसारभरि लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रूपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो जोड्नु । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग सम्बन्धित गर्न सक्छ– शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य इत्यादि । यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगको रूपमा बुझिन्छ । वास्तवमा योगले जीवात्मालाई परमात्मासंग जोड्छ । यस जोड्ने क्रियालाई योग भनिन्छ ।
योगश्चित्तवृत्ति निरोधः ।।योगसूत्र ।।
चित्त वृत्तिको निरोध नै योग हो । यो भनाई हो पतञ्जलिको । योगको उद्देश्य चित्त वृत्तिहरूको निरोध हो । अर्थात् चित्त र वृत्तिलाई ठीक बाटोमा डोर्याउनु नै योग हो ।
यौगिक क्रियाको वैज्ञानिक व्याख्या सर्वप्रथम पतञ्जलिले योग सूत्रमा गरेका हुन् । यस पुस्तकका संसारका सबै भाषाहरूमा अनुवाद भइसकेको छ । व्यास र वाचस्पति मिश्रले यस ग्रन्थको सबभन्दा पहिले व्याख्या गरेका हुन् । त्यस पछि अनेक व्याख्या गरिएको छन् । जैन गुरु हेमचन्द्रले यसलाई जैन धर्मको ध्यानविधिमा प्रयोगमा ल्याएका हुन् । अरु संस्कृतिको कुनै पनि कुरा स्वीकार नगर्ने यहुदी समुदायले समेत योगसूत्रको अनसावद गरेर यसलाई व्यवहारमा ल्याइरहेका छन् ।
यसलाई योग र ध्यानका आधारको रूपमा लिइएको छ । पहिलो योग सूत्रको रचयिता भगवान शिवलाई मानिन्छ । शिवले गरेको ध्यानको मूर्ति सबभन्दा प्राचीन मूर्ति हो । महावीर जैनको पनि ध्यानका मूर्तिहरु पाइन्छन् । भगवान् बुद्धको ध्यान मूर्ति विश्वप्रसिद्ध नै छ । यसै गरी योगशास्त्र भने भगवान् कृष्णको योगदान मानिन्छ र उनलाई योगेश्वर भनिन्छ । उनको उपदेश गीतालाई योगशास्त्र भनिन्छ । योग सूत्रमा बताएका अधिकांश कुरा गीतामा पनि छन् । यस प्रकार अप्रत्यक्ष रूपमा अन्तराष्ट्रिय योग दिवस गीताका उपदेशको सामान्य स्वीकृति पनि हो ।