गरिबी
From Wikipedia, the free encyclopedia
मानवले आफ्नो दैनिक गुजाराको निम्ति न्यूनतम आवश्यकताहरू जस्तै- गाँस, बास र कपास प्राप्त गर्ने क्षमता समेत राखैदैन भने त्यस्तो अवस्थालाई गरिबी भनिन्छ । सामान्य अर्थमा जीवनयापनका लागि चाहिने आधारभूत आवश्यकताहरूको अभाव भएको अवस्था गरिबी हो । गरिबीले व्यक्ति, परिवार तथा समुदायको आर्थिक, सामाजिक तथा राजनैतिक अवसर तथा पहुँचहरूको वञ्चितीकरणको अवस्था, क्षमताविहिनता तथा असक्षमतालाई समेट्दछ । गरिबीलाई निरपेक्ष तथा सापेक्ष रुपमा वर्गीकरण गर्न सकिन्छ । निरपेक्ष गरिबीले जीवन निर्वाहका लागि आवश्यक न्यूनतम क्षमता नभएको अवस्थालाई चित्रण गर्दछ भने विभिन्न समाज तथा समय सापेक्ष निर्धारण गरिएका जीवनस्तरका आधारहरू पूरा गर्न सक्ने क्षमता विहिनताको अवस्था सापेक्ष गरिबी हो । सापेक्ष गरिबीले तुलनात्मक गरिबीलाई चित्रण गर्दछ ।माथिल्लो तह वा मध्यम तहका मानिसको तुलनामा तल्लो आयस्तर भएका मानिसहरुको आयस्तर वा जीवनस्तर कस्तो र फरक छ भनी सापेक्ष रुपमा हेर्ने गरिन्छ । समग्रमा आर्थिक, सामाजिक,मानवीय, शैक्षिक आदि दृष्टिकोणबाट पछौटेपन, स्रोत साधन तथा अवसर र रोजाइहरूबाट बञ्चिती एवम् पहुँच विहिनिताको अवस्था नै गरिबी हो ।